हामीले पनि सरकारमा दाबी गर्न सक्छौँ : रवि लामिछाने  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

हामीले पनि सरकारमा दाबी गर्न सक्छौँ : रवि लामिछाने 


७ पुस २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारको नेतृत्वका लागि दाबी गर्ने सङ्केत गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पनि प्रतिनिधिसभामा चौथो ठूलो दलको हैसियतले सरकारको नेतृत्वका लागि ठूला दलहरूसँग छलफल चलाइएको बताए। 

बिहीबार प्रतिनिधिसभा सदस्य पदको शपथग्रहण गरेलगत्तै सभापति लामिछानेले सरकार बनाउने कुरा संविधानसम्मत ढङ्गले अघि बढ्ने प्रतिक्रिया दिए। उनले संसद् भवनपरिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त कुराकानी गर्दै सरकार बनाउने कुरामा संसद् अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा आफूहरू सचेत रहने बताए।

‘अब आमनागरिकले मतदान दिएर विश्वास गरेर पठाइसकेपछि जनमतको कदर नगर्ने भन्ने कुरै भएन। हाम्रो नेतृत्वमा सरकार बन्ने वातावरण बन्यो भने त्यसमा पनि छलफल नचलाएको होइन। हामीलाई प्राप्त जनमत सरकार बनाउन पुग्नै छैन । यद्यपि, कसैलाई पनि बहुमत नआएको परिवेशमा चौथो ठूलो दलको रूपमा हामीले पनि नेतृत्व गर्न सक्छौँ कि भन्ने विषयलाई हामीले एकदमै सामान्य छलफलको विषय बनाएका छौँ। बाँकी हेर्दै जाऊँ । किनभने जनमत प्राप्त भएको ठूलो राजनीतिक दलले नै सरकार चलाउने हो । अब संवैधानिक व्यवस्थाअनुसार नै अगाडि बढ्नुपर्ने हुन्छ । सरकार बनाउने कुरामा संसद् अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा पनि हामी सचेत हुनुपर्छ।’

लामिछानेले अदालतमा विचाराधीन अवस्थामा रहेकाले आफ्नो नागरिकतासम्बन्धी विवादका विषयमा भने बोल्न नमिल्ने प्रतिक्रिया दिए।अदालतको फैसलाअनुसार नै आफूले प्रतिनिधिसभा सदस्यमा उठेको र शपथग्रहणसमेत गरेको स्मरण गराउँदै उनले नागरिकता विवादको विषयमा आफूलाई अदालतले न्याय दिने विश्वाससमेत व्यक्त गरे। 

Tags :
प्रतिक्रिया दिनुहोस