राष्ट्रपतिका लागि म आकाङ्क्षी होइन : माधव नेपाल « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपतिका लागि म आकाङ्क्षी होइन : माधव नेपाल


७ पुस २०७९, बिहिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकाङ्क्षी नरहेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले २०६४ साल र २०७२ सालमै आफूलाई राष्ट्रपतिका लागि प्रस्ताव गर्दा अस्वीकार गरेको बताए ।

नेता नेपालले त्यति बेला उमेर नपुगेकाले आफूले अस्वीकार गरेको पनि बताए । ‘राष्ट्रपति बन्ने आकाङ्क्षा भएको भए २०६४ सालमा नै मलाई राष्ट्रपतिको निम्ति प्रस्ताव भएको थियो । २०७२ मा पार्टीबाट नै प्रस्ताव भएको थियो । मैले अस्वीकार गरेको हो । त्यति बेला मैले मेरो उमेर पुगेको छैन भनेको हो ।’

आगामी दिनमा राजनीतिले मागेको आवश्यकतालाई मध्यनजर गरेर पद लिने भन्दै शक्ति बाँडफाँटबारे गठबन्धनमा छलफल नै सुरु भैनसकेको नेता नेपालको भनाइ छ । ‘हामीले छलफल प्रारम्भ गरेकै छैनौँ’, नेता नेपालले गठबन्धन कायम रहने पनि बताए । उनले भने, ‘यो गठबन्धन कायम रहन्छ, पावर शेयरिङ सिद्धान्तको आधारमा परिस्थितिले माग गरेबमोजिम हुनेछ ।’ अध्यक्ष नेपालले आवश्यक परेको खण्डमा सबै पदका लागि आफू तयार रहेको पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस