हडतालका कारण उडान नहुँदा निगमलाई साढे दुई करोड क्षति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हडतालका कारण उडान नहुँदा निगमलाई साढे दुई करोड क्षति


६ पुस २०७९, बुधबार


काठमाडौँ । ‘क्याबिन क्रु’ को हडतालका कारण बुधबार र बिहीबार नेपाल वायुसेवा निगमका नियमित उडानमा देखिएको अवरोधमाथि नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।

वायुसेवा कम्पनीहरूको नियामक निकाय प्राधिकरण मातहत सिनामंगलमा रहेको फ्लाइट सेप्टी स्ट्यान्डर्स विभागले निगमलाई उक्त घटना के कारणले भएको हो, विस्तृत अध्ययन गरेर तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो । 

यसैबीच निगमले क्याबिन क्रुको हडतालका कारण कम्तीमा साढे २ करोड रुपैयाँ क्षति भएको जनाएको छ । दुई दिन उडान अवरोध हुँदा कनेक्टिङ फ्लाइट छुट्न गएका यात्रुलाई निगमकै खर्चमा अन्य वायुसेवाबाट पठाइएको निगम वाणिज्य विभागका एक अधिकृतले बताए । दुई दिनमा कम्तीमा ७५ यात्रुलाई अरू वायुसेवाको विमानबाट पठाउँदा उडान छुट्न गएकालाई होटेलमा राख्दा साढे दुई करोड क्षति भएको ती अधिकृतको भनाइ छ ।

यस घटनामा निगममा रहेका काँग्रेस, एमाले, माओवादी र समाजवादी पार्टीसँग आबद्ध तीन कर्मचारी सङ्गठनले संयुक्त विज्ञप्ति निकालेर निगमले बेहोरेको क्षतिको असुलउपर गराउन कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ज्ञापन बुझाएका छन् । उडान अवरोध हुने कार्यलाई राष्ट्रघाती भएको भन्दै अत्यावश्यक सेवासँग सम्बन्धित ऐनअनुसार कारबाही हुनुपर्ने माग पनि उनीहरूको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस