संसदीय दलको नेतामा आफूलाई मतदान गर्न गगनको अपिल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संसदीय दलको नेतामा आफूलाई मतदान गर्न गगनको अपिल


६ पुस २०७९, बुधबार


काठमाडौँ । संसदीय दलको नेतामा आफूलाई मतदान गर्न कांग्रेस संसदीय दलका उमेदवार गगन थापाले आग्रह गरेका छन् । आज हुने कांग्रेस संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली कांग्रेसको भविष्य दिशानिर्देश गर्ने भन्दै उनले आफूलाई मतदान गर्न अपिल गरेका छन् ।

भर्खरै सम्पन्न आमनिर्वाचनमार्फत नेपाली जनताले दिएको अभिमतलाई इमान्दारितापूर्वक आत्मसात गरी देश, लोकतन्त्र, संविधान र भावी सन्तानको लागि विवेकसम्मत निर्णय गर्न पनि उनले आग्रह गरेका छन् ।

‘वर्तमान राजनीतिक अन्योलता र आर्थिक संकटको घडीमा राजनीतिक स्थायित्व सुनिश्चित गर्दै असल शासन र व्यापक आर्थिक सुधारको जगमा समुन्नति र विकास नै अबको राष्ट्रिय एजेण्डा हो भन्ने कुरामा बिश्वस्त छु । सरकारको नेतृत्व, सोच, नीति, कार्यक्रम र कार्यशैली परिवर्तनका पक्षमा नेपाली जनताले दिएको जनादेशको पूर्ण सम्मान गर्दछु,” उनले अपिलमा भनेका छन्, “तीन–तीनवटा जनआन्दोलनको नेतृत्व गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेपाली कांग्रेस जस्तो क्रान्तिकारी, ऐतिहासिक र लोकतान्त्रिक पार्टीको संसदीय दलको नेताका रुपमा मलाई प्रस्ताव गर्नु भएकोमा आदरणीय अग्रज नेताहरू र सांसद साथीहरूप्रति हार्दिक आभार प्रकट गर्दछु । तपाईंहरूको यो विश्वासले मलाई देश र जनताको पक्षमा काम गर्न थप उर्जा र प्रेरणा मिलेको छ । मैले तपाईंहरूको यो विश्वास कहिल्यै डगमगाउन नदिने प्रण गर्दछु ।’

नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन आज हुँदै छ । बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा हुनेछ । अहिले मतदाता संसदीय दलको कार्यालय पुग्नेक्रम सुरु भइसकेको छ ।

कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् । कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उमदवारी परेको छ ।

सभापति देउवालाई संसदीय दलको नेतामा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्ताव गरेका छन् । समर्थकमा उपसभापति पूर्णबहादुर खड्का बसेका छन् ।

महामन्त्री थापाको प्रस्ताव डा. शेखर कोइराला बनेका छन् । थापालाई पार्टी संसदीय दलको नेता बनाउने शेखरको प्रस्तावको समर्थकमा उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल बसेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस