घेराबन्दीबीच ओली ‘मेन अफ दी इलेक्सन’: शङ्कर पोखरेल « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

घेराबन्दीबीच ओली ‘मेन अफ दी इलेक्सन’: शङ्कर पोखरेल


३ पुस २०७९, आइतबार


काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीलाई सरकार गठनको जनादेश प्राप्त नभएको बताएका छन् । आइतबार उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा उनले सत्ता गठबन्धन सरकार गठननजिक भए पनि अबको प्रधानमन्त्री को भन्न सक्ने अवस्थामा नरहेको बताए ।

“जनताले हामीलाई सरकार गठनको जनादेश दिएका छैनन् । सत्तारूढ गठबन्धनले सरकार गठनको म्यान्डेट त प्राप्त गरेको छैन, यद्यपि सरकारको गठन नजिक छ । तर, स्वार्थको सौदाबाजीमा अल्मलिरहेको छ,” उनले भने, “गठन्धनको प्रधानमन्त्री को भन्न सक्दैनन् । गठबन्धनको नीति, उद्देश्य के हो भन्न सकिरहेका छैनन् ।”

गठबन्धन राष्ट्रको चुनौती सामना गर्ने विषयमा असफल रहेको उनको भनाइ छ । गठबन्धन ‘स्वार्थहरूको झुन्ड’ भएकाले राष्ट्रिय समस्या समाधान गर्न नसक्ने उनको टिप्पणी छ ।

पोखरेलले चौतर्फी घेराबन्दी र आक्रमणबीच एमाले जनताको पहिलो पार्टीका रूपमा स्थापित भएको उल्लेख गरे । समानुपातिकतर्फ काँग्रेसको तुलनामा एमालेले धेरै मत पाएको उनले बताएका हुन् ।

अहिलेको निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध घेराबन्दी गरिए पनि अत्यधिक मत ल्याएर उनी ‘मेन अफ दी इलेक्सन’ बनेको पोखरेलले जिकिर गरे ।

“निर्वाचनमा हाम्रो अध्यक्षलाई चौतर्फी घेराबन्दी गरिएको थियो । तर, उहाँ मेन अफ दी इलेक्सन बन्नुभएको छ । धेरै मत ल्याएको निर्वाचित हुनुभएको छ,” उनले भने । एमाले धेरै जिल्लामा ‘क्लिन स्वीप’ गर्ने पार्टी बनेको समेत उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस