कुनै पदको आशाले शीर्ष नेता भेटेको होइन : नेता केसी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कुनै पदको आशाले शीर्ष नेता भेटेको होइन : नेता केसी


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीका शीर्ष नेताहरूसँगको भेटघाट कुनै पद प्राप्तिका लागि नभएको बताएका छन्।

नेता केसीले वर्तमान राजनीतिक वस्तुस्थितिको विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायत दलका शीर्ष नेताहरूसँग भेट गरेको बताएका हुन्।

उनले अहिलेको राजनीतिक स्थिति चुनौतीपूर्ण रहेको भन्दै जनमानसमा आएका नकारात्मक धारणालाई कसरी समाधान गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा नेताहरूसँग भेट बढाएको बताए । नेता केसीले स्थापित पार्टीहरूको नेता, नेतृत्व, नीति र कार्यशैलीको विरोधमा नो भोटका रूपमा नागरिकहरूले स्वतन्त्रहरूलाई भोट दिएको बताए।

उनले भने, ‘अहिलेको वस्तुगत जुन खालको परिस्थिति छ। त्यसमा आउने यात्रा चुनौतीपूर्ण छ। जनमानसमा जुन एक किसिमको नकारात्मक धारणाहरू देखियो, सबै पार्टी र नेतृत्वले एउटा कुरा स्पष्ट रूपमा बुझ्न जरुरी छ कि, हाम्रा स्थापित पार्टीहरूको नेता, नेतृत्व, नीति र कार्यशैलीको विरोधमा नो भोट जति स्वतन्त्रमा गएर थुप्रिएको हो भन्ने सहमति छ। अहिलेको वस्तुगत परिस्थितिको विश्लेषण गरौँ भनेर नै भेट गरिरहेको हो।’

नेता केसीले अहिलेको परिस्थितिलाई नयाँ पन र नयाँ बाटो दिनको निम्ति सत्य र विवेकको आवाज, भ्रष्टाचार विरोधको आवाज, विधि विहीनता विरोधको आवाज, सुशासन स्थापना गर्नको निम्ति संसदमा आफूले असल सांसदको रूपमा आफूले काम गर्ने बताए।

उनले मन्त्रीमा आफ्नो कुनै अपेक्षा नरहेको भन्दै कसैसँग कुनै पनि पद माग्न नजाने स्पष्ट पारे। उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बेलामा ठूलाठूला भ्रष्टाचारका काण्डहरू भए, मैले दुई,चार महिना अघि मात्रै पनि वाइडबडी काण्डदेखि ३३ केजी सुनसम्म ओम्नी, यति प्रकरणदेखि बुढी गण्डकी सम्मका कुरा गरेर ताली खाने काम गरे पनि आफ्नै सरकार र आफ्नै पार्टी सभापति हुँदा ठुला काण्डहरूको बारेमा छानबिन हुन नसकेको बताए।

उनले पूर्वप्रधानन्याधीश वा अन्य कसैको संयोजकत्वमा निष्पक्ष जाँचबुझ आयोग गठन गरेर वास्तविकता जनतालाई दिनुपर्ने आवश्यकता रहेको बताए। नेता केसीले यथास्थितिमा बसेर काम गर्न रहर नरहेको तर नयाँ सरकार र नयाँ पात्रहरूबाट देशका लागि केही गरौँ भन्ने किसिमको सरकार निर्माण भए देशका लागि केही योगदान गर्ने इच्छा रहेको बताए।

नेता केसीले नेपाली काँग्रेसकै नेतृत्वमा आगामी सरकार बन्ने पनि दाबी गरे। उनले निर्वाचनमा जनताको बीचमा गरेका प्रतिवद्धताहरुलाई पूरा गर्नका लागि गठबन्धनलाई स्थायित्व र स्थिरता दिने प्रतिबद्धता नै आजको आवश्यकता भएको बताए। नेता केसीले काँग्रेस गठबन्धन भित्रको ठुलो दल भएकाले पनि काँग्रेसकै नेतृत्वमा सरकार बन्ने बताए।

उनले भने, ‘सरकार गठबन्धनकै नेतृत्वमा बन्छ । हामीले जुन जनताको बीचमा प्रतिबद्धता गरेर आयौँ, यो गठबन्धनलाई स्थायित्व र स्थिरता दिने प्रतिबद्धता नै हाम्रो जनताको बीचको प्रतिबद्धता हो । काँग्रेस गठबन्धन भित्रको ठुलो दल भएकाले पनि काँग्रेसकै नेतृत्वमा सरकार बन्छ।’

नेता केसीले पार्टी भित्रको नीति, नेतृत्व, कार्यशैली, विधि, व्यवहारलाई परिवर्तन गरेर नयाँ विश्वास, आशा जगाउने परिवेश निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गरे। नेता केसीले पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरूसँग भेट गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस