काँग्रेस र एमाले एकै बिन्दुमा उभिए मुलुकको समस्या समाधान हुन्छ : डा. कोइराला  « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

काँग्रेस र एमाले एकै बिन्दुमा उभिए मुलुकको समस्या समाधान हुन्छ : डा. कोइराला 


२२ बैशाख २०८१, शनिबार


बाँके । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने भन्दै आफू र राजनीतिक दल भन्दा देश माथि छ भन्ने कुरालाई आत्मसात् गर्ने समय आएको बताएका छन् ।

कोइरालाले चौतर्फी रुपमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकोले नेताहरुले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्ने बताए । निर्वाचन प्रणाली नै अहिलेको समस्याको मुल जड भएको बताउँदै कोइरालाले निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिन संघीय संसदको पहिलो दल काँग्रेस र दोस्रो दल एमाले एक ठाउँमा उभिनुपर्ने समेत प्रष्ट पारे । 

२०६४ को संविधानसभा पछि लगातार चार जना कम्युनिस्ट प्रधानमन्त्री बन्दासमेत संविधान बन्न नसकेको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने,‘२०७० को दोस्रो संविधानसभामा जब काँग्रेस र एमाले पहिलो र दोस्रो पार्टी भए, काँग्रेस र एमाले एकै ठाउँमा उभिए अनि संविधान जारी भयो।’ कोइरालाले जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ तब काँग्रेस र एमाले एकै बिन्दुमा उभिएर समस्या समाधान गरेको बताए । 

बाँकेको कोहलपुरमा आयोजित नेपाली काँग्रेस बाँके क्षेत्र नं १ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म काँग्रेसले संसद चल्न नदिने पनि बताए । 

‘हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौँ, संसदीय छानबिन बनाऔँ सहकारी ठगीमा उहाँको संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुनेछ तर संसदीय समिति बनाउन सरकार किन डराएको ?’, कोइराला प्रश्न गरे ।

अर्को प्रसङ्गमा कोइरालाले पार्टीका सबै आपसी मनमुटाव र नमिठा विगत बिर्सेर पार्टी संगठनमा एकजुट हुन स्थानीय नेता एवं कार्यकर्तालाई निर्देशन दिए । पार्टी एक भए कुनै पनि निर्वाचनमा काँग्रेसले गठबन्धनका नाममा कसैको बैसाखीको सहारा पर्गेलिनु बताए ।

लोकतान्त्रिक पार्टी भएकाले महाधिवेशनका समयमा आन्तरिक प्रतिस्पर्धा र गुटबन्दी देखिनु सामान्य भएको बताउँदै कोइराला भने,‘तर त्यो तिक्तता र गुटबन्दीलाई लिएर सधैँ हिँडिराख्नु राम्रो होइन।’

Tags :
प्रतिक्रिया दिनुहोस