सबै सरकारले आश्वासन मात्र दिए, न्याय दिएनन् : रञ्जिता श्रेष्ठ चौधरी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सबै सरकारले आश्वासन मात्र दिए, न्याय दिएनन् : रञ्जिता श्रेष्ठ चौधरी


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृतिको रहेकाले यसका आरोपीहरूलाई मुक्त गर्ने आश्वासन यसअघिका सरकारहरूले पनि पटक पटक दिएका तर न्याय भने नपाइएको गुनासो गरेकी छन् ।

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट विजयी उनले भनिन्, ‘‘हाम्रो पार्टीका संस्थापक रेशम चौधरीलगायत टीकापुर घटनाका आरोपीहरू निर्दोष रहेकाले तिनको रिहाइका लागि यसअघिका सरकारहरूले पटक पटक लिखित एवं मौखिक प्रतिबद्धता गरेपनि कार्यान्वयन भने गरेनन् ।’’

अध्यक्ष चौधरीले उनीहरू निर्दोष हुँदाहुँदै पनि जेल जीवन बिताउन बाध्य हुनुपरेको जिकिर गरिन् । नेता तथा मन्त्रीहरूले यो राजनीतिक प्रकृतिको घटना भएकोले उनीहरू रिहा हुनुपर्छ भनिरहेका तर रिहाइको पहल भने नगरेको उनको गुनासो थियो ।

उनले भनिन् ‘‘यसअघिका सरकारले पनि छुटाउने आश्वासन दिएका थिए । अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओलीका पालामा त सरकार र हामीबीच लिखित सम्झौता नै भएको हो, त्यो सार्वजनिक नै छ सबैले हेर्दा पनि हुन्छ । माओवादी अध्यक्ष प्रचण्ड सरकारमा हुँदा पनि छुटाउने आश्वासन दिनुभएको थियो । हाम्रो भेटमा उहाँले यो राजनीतिक प्रकृतिको मुद्दा भएकाले रेशमलाई न्याय हुन्छ भन्नुभएको थियो । तर सबै सरकारले आश्वासन मात्र दिए, काम कसैले गरेनन् ।’’

सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गर्ने निर्णय गरेकाले राजनीतिक क्षेत्रमा यसको पक्ष र विपक्षमा विभिन्न धारणाहरू आइरहेका बेला नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष चौधरीको यो भनाई आएको हो ।

अघिल्लो अर्थात् केपी ओलीको सरकारका पालामा विसं २०७७ फागुन २० गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा र विप्लव नेतृत्वको नेकपाबीच तथा विसं २०७८ जेठ १८ गते नेपाल सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठ र थारु कल्याणकारिणी सभा थारुवान सङ्घर्ष समितिका प्रमुख रुकमिणी चौधरीसहितको टोलीबीच टीकापुर घटनाका आरोपीहरूलाई रिहा गर्ने विषयमा लिखित सम्झौता भएको थियो ।

आफूहरूले निर्वाचन अघि पनि यस क्षेत्रका सबै दलका नेताहरुले प्रधानमन्त्रीलाई भेटेर टीकापुर घटना राजनीतिक घटना भएकाले निर्दोषलाई न्याय दिन आग्रह गरेको अध्यक्ष चौधरीले बताइन् । रेशमलगायतकाको रिहाइको पहलमा प्रधानमन्त्री सकारात्मक देखिएको उनले बताइन् । बोल्ने बेलामा सबै नेताहरुले रेशमसहित जेलमा रहेकाहरू निर्दोष छन् भन्ने गरेका तर पनि उनीहरूलाई न्याय दिने काममा भने कोही पनि अग्रसर नभएको देखिएको उनको गुनासो छ ।

उनले आफू र आफ्नो पार्टीले अरू केही नमागेर निर्दोषहरूलाई जेलबाट रिहाइ मात्र मागेको बताइन् । जनताले भने आफू र रेशम चौधरीलाई न्याय दिएको उनको भनाई छ । आफ्नो निर्वाचन प्रचारप्रसारका क्रममा पनि नागरिकले रेशम निर्दोष रहेको र यसका लागि आवश्यक परे आफूहरूले आन्दोलन पनि सुरु गर्ने बताएका उनले सुनाइन् ।

उनले अघिल्लो निर्वाचनमा पनि नागरिकले रेशम जीलाई न्याय गरेको प्रसङ्ग उल्लेख गरिन् । तर पनि उनलाई जेलमुक्त गरिएन र यसका कारण कैलालीको यो क्षेत्र पाँच वर्ष नै जनप्रतिनिधिविहीन भयो । रेशमलाई जस्तै नागरिकले आफूलाई पनि न्याय दिएको उनको भनाई छ । यहाँका सबै नागरिक रेशमलाल चौधरीसहितका बन्दी जीवन बिताइरहेकाहरू निर्दोष हुन् भनेर आवाज उठाएको र मत माग्दै जाँदा सबैले रेसमको रिहाइको अपिल गरेको उनले सुनाइन् । अघिल्लो निर्वाचनमा पनि नागरिकले रेशम जीलाई न्याय गरेका उनको अनुभव छ ।

आफूले निर्वाचनका क्रममा मतदाताहरूबाट सकारात्मक प्रतिक्रिया पाएको उनको अनुभव छ । धेरै माया र उत्साह आफूलाई मतदाताले दिएको उनले बताइन् । सबैको चाहना परिवर्तन र न्याय चाहिन्छ भन्ने रहेको तथा यहाँका नागरिकले आफूलाई मत दिनु भनेकै न्याय र परिवर्तनका लागि हो भनेर बुझेको उनले बताइन् । आफ्नो क्षेत्रमा शान्ति, अमनचयन, विकास र समृद्धिका लागि आफू लाग्ने पनि उनले प्रण गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस