सरकारी कार्यालय नहुँदा नरैनापुरवासीलाई सास्ती « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारी कार्यालय नहुँदा नरैनापुरवासीलाई सास्ती


२७ मंसिर २०७९, मंगलबार


राँझा । सरकारी कार्यालय स्थापना नहुँदा नरैनापुरवासीले स्थानीय सरकारको अनुभूति गर्न पाएका छैनन् ।

बाँकेको दुर्गम मानिने नरैनापुरमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय नहुँदा नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन सदरमुकाम नरैनापुरवासी ४५ किलोमिटर पर सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ ।

सङ्घीयताको मर्म र भावना अनुरूप एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीतिअनुसार गाउँपालिका क्षेत्रभित्र रहने गरी इलाका प्रशासन, मालपोत र नापी कार्यालय नहुँदा जनताले सास्ती व्यहोर्नुपरेको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । उनले इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको लागि आवश्यक व्यवस्था गर्न गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय बाँकेलाई लिखित निवेदन पेस गर्ने निर्णय गरेको जानकारी दिए ,।

‘नरैनापुर गाउँपालिकाबाट जिल्ला प्रशासन कार्यालय पुगेर सेवा लिन असहज छ’, अध्यक्ष शाहले भने, ‘नागरिकलाई गाउँ–गाउँबाट सेवा दिने सङ्घीयताको मर्म र भावना अनुसार गाउँपालिकामा इलाका प्रशासन, मालपोत र नापी कार्यालय आवश्यक छ । इलाका प्रशासन, मालपोत र नापी कार्यालयका लागि चाहिने भवनको व्यवस्था गाउँपालिकाले गर्ने छ ।’

विगतमा सञ्चालनमा रहेको इलाका प्रशासन कार्यालय पुनः स्थापनाको लागि बारम्बार विभिन्न निकायमा आग्रह गर्दा पनि बेवास्ता भइरहेको अध्यक्ष शाहको गुनासो छ । बाँके क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सूर्य ढकालले नरैनापुरमा इलाका प्रशासन कार्यालय स्थापनाको लागि आफूले सम्बन्धित निकायमा पहल गरिरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस