कीर्ते नागरिकता प्रकरणको छानबिन अन्तिम चरणमा, बाबु भनिएकासँग म्याच भएन डिएनए « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

कीर्ते नागरिकता प्रकरणको छानबिन अन्तिम चरणमा, बाबु भनिएकासँग म्याच भएन डिएनए


२७ मंसिर २०७९, मंगलबार


काठमाडौँ । बागलुङका एक युवकले झुटो विवरण दिएर पाल्पाबाट नागरिकता बनाएको विषय सार्वजनिक भएको करिब दुई वर्षपछि छानबिन अन्तिम चरणमा पुगेको छ । गलकोट नगरपालिका वडा नम्बर ८ पचुवाका २३ वर्षीय धनबहादुर कँडेलले झुटो विवरण दिएर वि.सं.२०७२ साल पुस २० गते जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता बनाएको आरोप लागेको थियो ।

यो विषय ०७८ साल पुस महिनामा सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुसन्धान थालेका थिए । अनुसन्धान सुरु भएपछि कँडेललाई ०७८ साल चैत महिनामा पाल्पा प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको थियो । अदालतमा मुद्दा चलेको करिब ५ महिनापछि कँडेल १ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

पाल्पाको रामपुर नगरपालिका १४ निवासी ४९ वर्षीय पीताम्बर अधिकारीको छोरा बनेर कँडेलले नागरिकता बनाएका थिए । उनको असली बुबा भने स्वर्गीय मानबहादुर कँडेल हुन् । धनबहादुरले नयाँ नाम विजय अधिकारी कायम गरी पाल्पाबाट नागरिकता बनाएका थिए । ​

नागरिकता छानबिनको क्रममा पाल्पा प्रहरीले डिएनए परीक्षण गर्न धनबहादुर कँडेल र पीताम्बर अधिकारीको रगत सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको थियो । डिएनएको नतिजा अनुसार धनबहादुर पीताम्बरको छोरो नभएको पुष्टि भएको छ । विधि विज्ञान प्रयोगशालाले पाल्पा प्रहरीलाई पठाएको उक्त रिपोर्ट प्रहरीले सरकारी वकिलको कार्यालय पाल्पामार्फत जिल्ला अदालत पाल्पामा पेस गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी वीरेन्द्र थापाका अनुसार उक्त रिपोर्ट सरकारी वकिलको कार्यालयमा पेस गरिएको थियो । सरकारी वकिलको कार्यालयले अदालत पेस गरेको छ ।

भाइ कृष्णले आफ्नो सम्पत्ति हड्पने प्रयास स्वरूप गुपचुप रूपमा धनबहादुर पीताम्बरको छोरा हो भनेर प्रशासनमा नागरिकताको सनाखत गरिदिएको बताउँदै आएका छन् । कृष्णले नै अंश मुद्दा हालेपछि वास्तविकता बाहिरिएको पनि उनको भनाइ छ । नागरिकता विवाद सुरु भएपछि कृष्ण अधिकारीले भने आफ्ना दाजु पीताम्बरले धनबहादुरलाई धर्म छोरो बनाएर ल्याएकाले आफूले नागरिकता बनाइदिएको दाबी गर्दै आएका छन् ।

यसअघि ०७८ साल पुस २२ गते बाग्लुङको गलकोटस्थित घरमा धनबहादुरका दुई दाजुहरू हिरा कँडेल र सन्तोष कँडेलले आफ्नो बुवाको निधनको बेला १० वर्षअघि धनबहादुर किरिया गर्न आएको र त्यसपछि सम्पर्कमा नआएको बताएका थिए । कंडलेका बुवा मान बहादुरको १० वर्षअघि भारतमै मृत्यु भएको भएपनि आमा भने सकुशल छिन् ।

०७२ सालमा झुटो विवरण दिएर कागजात तयारी गरी नागरिकताको सनाखत गराइदिने कृष्ण अधिकारीमाथि भने अझैसम्म कुनै अनुसन्धान भएको छैन । झुटो विवरण दिन सहयोग गरेका तत्कालीन गाविस सचिवको मृत्यु भइसेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाका तत्कालीन प्रशासकीय अधिकृत ताराप्रसाद घिमिरेले हस्ताक्षर गरी नागरिकता जारी गरेका छन् ।

नागरिकता बनाएको ७ वर्ष र घटना बाहिरिएको २ वर्ष पुग्नलाग्दा छानबिन अन्तिम चरणमा पुगेको छ । यसबारे अन्तिम फैसला अदालतले गर्नेछ । डिएनएको रिर्पोट अदालत स्रोतले पीडित पक्षलाई उपलब्ध गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस