उपमहानगरको गेटमा ‘मेयर’ हराएको सूचना ! « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

उपमहानगरको गेटमा ‘मेयर’ हराएको सूचना !


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकाको गेटमा ‘मेयर’ हराएको सूचना टाँसिएको छ। तुलसीपुर उद्योग वाणिज्य संघले आइतबार गेटमा मेयर हराएको सूचना टाँसेका हो।

संघले तुलसीपुरमा आजदेखि सुरु भएको महोत्सवको विरुद्धमा दिनभर गेटमा धर्ना दिएका थिए । उपमहानगरपालिकाको मुख्य गेटमा पनि तालाबन्दी गरे। तर, पनि मेयर टीकाराम खड्का दिनभर उपमहानगरपालिकामै नआएपछि टोलीले गेटमै मेयर हराएको सूचना भन्दै पेन्ट गरेको छ।

मेयरलाई भेट्टाएमा फोन गर्नुहोला भनी नम्बर पनि दिइएको थियो। उपमहानगरपालिका कार्यालय दिनभर बन्द हुँदा सेवाग्राही मर्कामा परेका थिए।

तुलसीपुरमा युथ अफ क्लब तुलसीपुरले आइतबारदेखि महोत्सव सुरु गरेको छ। उक्त महोत्सव पुस ६ गतेसम्म सञ्चालन हुनेछ। तर, उद्योग वाणिज्य संघले महोत्सव अवधिभर उपमहानगरपालिका कार्यालय बन्द गर्ने निर्णय गरेको छ।

संघले उपमहानगरपालिकाको असक्षम निर्णयका कारण महोत्सवको विषयमा विवाद उत्पन्न भएको संघका महासचिव बिनिल केसीले बताए। उपमहानगरपालिकाले दोहोरो चरित्र देखाउँदा विवाद सिर्जना भएको उनले बताए।

मंसिर १५ गते दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्कासहितको सहभागितामा भएको सर्वपक्षीय बैठकले ४ बुँदे सहमति गरेको थियो।

जसको दोस्रो नम्बर बुँदामा युथ अफ तुलसीपुरले महोत्सव पुनः लगाउन चाहेमा उद्योग वाणिज्य संघ र चेम्बरको सूचीअनुसार मात्रै व्यापारिक स्टल राख्न सकिने भन्ने सहमति थियो। त्यो सहमति कार्यान्वयन नभएको भन्दै संघले आन्दोलन गरेको हो। संघले व्यावसायिक कर, फोहोर व्यवस्थापन कर केही पनि नतिर्ने निर्णय गरेकोसमेत केसीले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस