भ्रष्टाचार नियन्त्रण गर्न सबैको प्रतिबद्धता र सक्रियता आवश्यक छ : प्रधानमन्त्री देउवा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भ्रष्टाचार नियन्त्रण गर्न सबैको प्रतिबद्धता र सक्रियता आवश्यक छ : प्रधानमन्त्री देउवा


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार विरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको उत्तिकै प्रतिबद्धता र सक्रियता आवश्यक पर्ने उल्लेख गरेका छन् ।

उनले भ्रष्टाचार निस्तेज गर्न यस विरुद्धको अभियानमा सबैको प्रतिबद्धता र सक्रियता आवश्यक पर्ने उल्लेख गरे ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भएकोले यसको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताए । प्रधानमन्त्री देउवाले यसै वास्तविकतालाई मध्यनजर गरी भ्रष्टाचार नियन्त्रणको कार्यलाई सबैको समन्वयात्मक प्रयासमा अघि बढाई आमजनताको अपेक्षा अनुरूप सेवा प्रवाह गर्न जरुरी रहेका बताए।

भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि पारित भएको डिसेम्बर ९ तारिखका दिनलाई हरेक वर्ष विश्वभर नै विभिन्न कार्यक्रम आयोजना गरी भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै आइएको छ । आजको दिन भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय प्रतिबद्धताप्रति ऐक्यबद्धता जाहेर गर्ने दिन पनि भएको बताउँदै उनले भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण र निर्मूल गरी स्वच्छ, स्वस्थ, नैतिक र विकसित समाजको निर्माण गर्न सबै प्रतिबद्ध हुन आवश्यक रहेकामा जोड दिए ।

प्रधानमन्त्री देउवाले समाजको कलङ्कको रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न, त्यस्ता गतिविधिबाट टाढै रहन र भ्रष्टाचारजन्य कार्यकाविरुद्ध आवाज मुखरित गरी सदाचार कायम गर्न आजको दिनले प्रेरणा र प्रोत्साहन प्रदान गर्ने विश्वास व्यक्त गरे । भ्रष्टाचार नियन्त्रणको अन्तर्राष्ट्रिय दायित्वप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै उनले भ्रष्टाचारविरुद्धको महासन्धिको कार्यान्वयन गर्न तीनै तहबाट नै राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा रहेको अवगत गराए ।

भ्रष्टाचारले सार्वजनिक सेवा प्रवाह र विकास व्यवस्थापनका साथै सामाजिक जीवनका सबै क्षेत्रलाई नकारात्मक प्रभाव पार्ने भएकाले भ्रष्टाचार गर्ने मनोवृत्तिमा ठोस सुधार गर्न जरुरी रहेको उनको भनाइ थियो ।

भ्रष्टाचार गर्ने व्यक्ति वा समूह कानूनको दायराबाट कदापि उम्कन पाउँदैन भन्ने हरेक नागरिकलाई सुसूचित गर्न सकिए मात्र सार्वजनिक पदाधिकारी भ्रष्टाचार गर्न निरुत्साहित हुने उनले बताए । भ्रष्टाचारजन्य कसुरको अनुसन्धान र अभियोजनका साथै आयोगले भ्रष्टाचारको रोकथाम र सचेतना अभिवृद्धिका लागि समेत उल्लेखनीय कार्य गरिरहेको बताउँदै प्रधानमन्त्री देउवाले त्यसका लागि आयोगलाई सरकारका तर्फबाट धन्यवादसमेत दिएका छन् । सार्वजनिक सम्पत्तिको अनुचित र अन्यायपूर्ण दोहन तथा अधिकारको दुरुपयोग जो कोहीबाट भए पनि त्यसलाई कानूनको दायरामा ल्याउने काम आयोगले प्रतिबद्ध भएर गर्न सक्नुपर्ने उनको भनाइ थियो ।

भ्रष्टाचारजन्य कार्यविरुद्ध सहिष्णु बन्ने तथा तटस्थ र निष्क्रिय रहने प्रवृत्तिको अन्त्य गरी सदाचार र सुशासनलाई राज्यको हरेक तह र तप्कामा संस्थागत गर्ने अभियानमा सहभागी हुन उनले सबैलाई आह्वान गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस