दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क


२२ मंसिर २०७९, बिहिबार


भरतपुर । कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाउँपालिका–१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो ।

घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उनले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न पाएकी छैनन् । ‘फोन सम्पर्क नहुँदा मन आत्तिन्छ,’ उनले भनिन्, ‘यहाँ आएको एक वर्ष भयो नेटवर्कको समस्या उस्तै छ ।’

भाराङ आसपासका एक दर्जन गाउँमा मोबाइलको नेटवर्क नहुँदा स्थानीय फोन सेवाबाट वञ्चित भएका छन् । कोलभञ्ज्याङकी लालमाया चेपाङ मोबाइलको नेटवर्क नहुँदा विदेशमा भएको श्रीमान्सँग सहजरुपमा कुरा गर्न नपाएको बताउँछिन् ।

‘सबै कुराले पछाडि परेका हामी मोबाइल नेटवर्कले झन् पछाडि पारेको छ,’ उनले भनिन्, ‘गाउँमा गाडी आइपुग्दा पनि घरबाटै मोबाइलमा कुरा गर्न पाइएको छैन ।’

इच्छाकामना गाउँपालिका–१ को चौकी डाँडा, बङ्घ्याङ, जैथली, विङलाङ, कोलभञ्ज्याङ, थाप्राङ, राजभोग, ज्यान्दला, जौतेस, कालिन र तिपाङमा मोबाइलको नेटवर्क टिप्दैन । यस्तै, हात्तीबाङको पनि केही क्षेत्रमा नेटवर्कको समस्या रहेको वडाध्यक्ष सन्तबहादुर मगरले बताए ।

‘मेरो वडाको एक दर्जन गाउँमा फोन सेवा छैन,’ उनले भने, ‘भएको ठाउँमा पनि नेटवर्क समस्याले राम्रोसँग कुरा गर्न पाइँदैन ।’ वडाध्यक्ष मगरले वडाको झण्डै तीन हजार जनसङ्ख्या सञ्चार सेवा फोनबाट वञ्चित रहेको बताए । सो वडामा अधिकांश चेपाङ समुदायको बसोबास रहेको छ ।

नेटवर्कको समस्या समाधान गरिदिन नेपाल टेलिकम र एनसेललाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उनले गुनासो गरे। भने, ‘यसै त भौगोलिकरुपमा पछि परेको ठाउँ हो हाम्रो । विकास र प्रविधिको जमानमा पनि हामी फोन गर्न पाउँदैनौँ ।’

इच्छाकामना–१ चौकी डाँडाकी सरस्वती रायमाझीले फोन गर्न आफ्नो गाउँबाट कालिका नगरपालिकातर्फ फर्कनुपर्ने बताइन् । उनले नेटवर्क कमजोर हुँदा फोन पटक–पटक काटिने गरेको गुनासो गरिन् ।

रायमाझीले इन्टरनेट त टाढाको कुरा भएको भन्दै सहज रूपमा फोन गर्न पाए पनि खुसी हुने बताइन् । ‘अकस्मात् केही भइहाल्यो भने सूचना पाउन र पु¥याउन पाइँदैन,’ उनले भनिन्, ‘लामो समयसम्म आफन्तसँग सम्पर्क विच्छेद हुने गरेको छ ।’

आधारभूत विद्यालय भाराङका प्राचार्य दीपबहादुर गुरुङले गाउँमा मोबाइलको नेटवर्क नहुँदा धेरै दुःख पाएको बताए । भने, ‘मोबाइलको टावर जडानका लागि पटक–पटक आश्वासन दिइयो तर कार्यान्वयन गरिएन ।’

नेटवर्कको समस्याका कारण स्कुलमा वाई फाई जडान गर्न नसकिएको भन्दै गुरुङले गाउँबाट चार सय बढीको हस्ताक्षर सङ्कलन गरेर समेत टेलिकममा बुझाइएको बताए । भने, “गाउँपालिकाले वाई फाई जडानका लागि दिएको रकमसमेत फिर्ता गर्नु¥यो ।”

दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले इच्छाकामना गाउँपालिका–१ मा भएको नेटवर्कको समस्याबारे केन्द्रीय कार्यालयमा जानकारी गराइसकेको बताए । उनले कार्यालयले पनि नेटवर्क नभएको ठाउँमा सर्वेका लागि कर्मचारी पठाउने भन्दै त्यस ठाउँलाई प्राथमिकता राखेर काम गरिने जानकारी दिए । उनले अहिले भएका टावरबाट नेटवर्क मिलाउन सक्ने जति मिलाइने र बाँकी टावर निर्माण गरेर समस्या समाधान गरिने बताए ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाको वडा नम्बर १, २ र ७ नम्बर वडाका विभिन्न क्षेत्रमा मोबाइल नेटवर्कको समस्या रहेको बताए । उनले वडा नम्बर २ को हुस्ती, माझ खर्क, होरल्याङमा र तल्लो काउलेमा नेटवर्कको समस्या रहेको जानकारी दिए ।

यस्तै, वडा नम्बर ७ को गर्दा, सुन्दर बस्ती पनि राम्रोसँग नेटवर्क नटिप्ने समस्या रहेको छ । पालिकाभित्र रहेको नेटवर्कको समस्या समाधानका लागि दूरसञ्चार कार्यालय र एनसेललाई जानकारी गराएको भन्दै उनले नेटवर्कको समस्या छिट्टै समाधान गरिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस