भारतलाई फेरि कूटनीतिक नोट पठाउँदै सरकार « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

भारतलाई फेरि कूटनीतिक नोट पठाउँदै सरकार


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ । महाकाली नदीमा भारतले एकपक्षीय रूपमा निर्माण गरिरहेको बाँधप्रति विरोध जनाउँदै नेपाल सरकारले कूटनीतिक नोट पठाउने भएको छ।

दार्चुलाको सदरमुकाम खलङ्गा नजिकै भारतले एकपक्षीय रूपमा बाँध निर्माण गरेपछि स्थानीय बासिन्दा विरोध जनाएका छन्। नेपालीले निर्माणको विरोध जनाउँदै महाकाली नदी वारपार गर्ने पुल बन्द गराएका छन्।

भारतले अन्तर्राष्ट्रिय सीमाको मूल्य मान्यता विपरीत सीमामा संरचना बनाएपछि नेपाल सरकारले औपचारिक रूपमा विरोध जनाउँदै भारतलाई कूटनीतिक नोट पठाउन लागेको हो।

दुई पक्षका स्थानीय अधिकारीले सहमतिविपरीत संरचना निर्माण नगर्ने प्रतिबद्धता जनाए पनि भारतले उल्लङ्घन गर्दै आएको छ।

यसअघि पनि नेपालले भारतीय पक्षबाट सीमा क्षेत्रमा भएको ज्यादतीको विरोध जनाउँदै भारतलाई कूटनीतिक नोट दिँदै आएको छ।

गत कात्तिकमा खलङ्गा नजिकै भारतीय पक्षले सीमा क्षेत्रमा सडक निर्माणका लागि विस्फोट गराउँदा व्यास गाउँपालिका-२ दुम्लिङका एक बालकको मृत्यु भएको थियो।

विस्फोटका कारण हिक्मत महराका छोरा पवनको घटनास्थलमै मृत्यु भएको घटनाप्रति सरकारले विरोध जनाउँदै भारतलाई कूटनीतिक नोट लेखे पनि त्यसको जवाफ दिएको छैन।

त्यस्तै, २०७८ साउनमा जयसिंह धामी मृत्यु प्रकरणमा सरकारले लेखेको पत्रको जवाफ पनि अहिलेसम्म दिएको छैन। धामी तुइनमार्फत महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मी लड्डा काटिदिएपछि उनी खसेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस