दोस्रो कार्यकालको लागि यस्तो तयारी गर्दै छ कर्णाली प्रदेश ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दोस्रो कार्यकालको लागि यस्तो तयारी गर्दै छ कर्णाली प्रदेश !


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सुरुआतका लागि कर्णाली प्रदेशसभाको सचिवालयले तयारी थालेको छ ।

प्रदेशसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएसँगै प्रदेशसभा सचिवालयले तयारीलाई तीव्रता दिएको हो । प्रदेशसभा हल मर्मतसम्भार, रङ्गरोगन र सरसफाइको कामलाई अगाडि बढाइएको सचिवालयले जनाएको छ ।

प्रदेशसभाका भवनको मर्मतका साथै सिट प्लानिङ गर्न थालिएको सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए । पुराना सांसदलाई बिदाइ र नयाँ सांसदलाई स्वागत गरिने कार्यक्रमसमेत तय गरिने बुढाथोकीले बताए । उनले ५ वर्षसम्म भए/गरेका कामको विषयमा नयाँ प्रदेशसभा सदस्यलाई जानकारी गराउने उद्देश्यले सारांश निकाल्ने तयारी भएको बताए।

त्यसैगरी भौतिक पूर्वाधार निर्माण तथा मर्मतको कामहरू पनि अघि बढेको उनले बताए। प्रदेशसभा भवन, सभामुख, उपसभामुख, दलका नेताको कार्यकक्ष, संसदीय समिति र संसदीय दलको बैठक कक्षहरूमा रङ्गरोगनका साथै फर्निसिङ र कार्पेटिङलगायत काम भइरहेका छन् ।

सचिवालयमा सभामुखसहित दलका नेताहरुले सुविधा उपभोग गर्न पाउने सवारी–साधनको मर्मत गरी तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। संसद् बैठककक्षमा मुख्यमन्त्री, मन्त्री सत्तापक्ष, प्रतिपक्ष लगायतको कुर्सीको व्यवस्थापन गरिएको छ ।

सभामुखको दायाँतर्फ सत्तापक्षका लागि छुट्याइएको छ भने बायाँतर्फ प्रतिपक्ष दललाई बस्ने व्यवस्था मिलाइएको छ । संसद् बैठकका गतिविधि प्रत्यक्ष रूपमा हेर्न संसद्भित्र र बाहिर डिजिटल बोर्डको व्यवस्था पनि गरिएको बुढाथोकीले जानकारी दिए । संसद् बैठकका लागि यसअघि प्रयोग भइरहेका स्रोतसाधनको अधिकतम उपयोग गर्ने गरी मर्मतसम्भारको काम भइरहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस