दोलखाका विवादित स्थलमा फेरि मतदान गर्न मिति तोक्ने तयारीमा आयोग « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

दोलखाका विवादित स्थलमा फेरि मतदान गर्न मिति तोक्ने तयारीमा आयोग


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले दोलखाका विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने मिति तोक्ने भएको छ । आइतबार साँझ बैठक बसेर आयोगले यसबारे निर्णय गर्न लागेको हो । 

दोलखामा आयोगले पठाएको छानविन टोलीको प्रतिवेदन आयोगमा आइपुगेकोले त्यसको अध्ययन गरेर पुनः मतदान गराउनुपर्ने अवस्था रहेमा त्यसबारे निर्णय गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका दिन दोलखाका केही मतदान केन्द्र विवादित बनेको थियो । बुथ कब्जा भएको भन्दै नेकपा एमालेले आयोगमा उजुरी गरेपछि आयोगले पठाएको जाँचबुझ टोलीले ६ वटा केन्द्रमा पुनः मतदान गर्न सिफारिस गरेको आयोग स्रोतको भनाई छ । 

दोलखाका कालिन्चोक गाउँपालिका वडा नम्बर १ को मतदान केन्द्रमा ९० प्रतिशत मतदान भएको, वैत्यश्वर गाउँपालिका वडा नम्बर १ को कालीढुङ्गा मतदान केन्द्रमा ९० प्रतिशतमाथि मत खसेको, वैत्यश्वर ६ को मतदान केन्द्रमा मतपेटिका चोरिएको, मतपेटिकामा पानी परेको र मतपत्र छरिएको अवस्थामा रहेको एमालेका पोलिब्यूरो सदस्य पार्वत गुरुङले बताएका छन् । 

यता बाजुरा र स्याङ्जामा आयोगले पठाएको जाँचबुझ टोलीले भने प्रतिवेदन बुझाइसकेको छैन । निर्वाचनमा धाँधली भएको भन्दै ३ जिल्लाको मतगणना कार्य समेत स्थगित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस