गृहमन्त्री खाँणविरुद्ध निर्वाचन अधिकृतको कार्यालय उजुरी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गृहमन्त्री खाँणविरुद्ध निर्वाचन अधिकृतको कार्यालय उजुरी


१ मंसिर २०७९, बिहिबार


रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

रुपन्देही-३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका खाँणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराएकी हुन् ।

उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर-३ मा उजुरी परेको हो । खाँण पाँच दलीय गठबन्धनबाट उम्मेदवार छन् । यसअघि निर्वाचन आयोगमा दर्ता गर्न खोज्दा सम्बन्धित क्षेत्रमा उजुरी दर्ता गर्न भनेपछि रुपन्देहीमा आएर दर्ता गरेको अधिवक्ता बरालले बताइन् ।

उनले भनिन्, ‘खाँण बहुविवाहमा संलग्न रहेको प्रमाण पाइएकाले उजुरी दर्ता गरेको हो, उनले गृहमन्त्री चलाउँदै गर्दा बहुविवाह गर्ने हजारौँ जेलमा सडाउने काम गर्नुभएको छ, देशकै गृहमन्त्रीले रुपन्देहीमा दिलमाया खाँण, काठमाडौँमा मञ्जु खाँण नाम दर्ता भएकाले उक्त कुराको पुष्टि हुन्छ ।’

खाँणले रुपन्देही-३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयनका क्रममा रुपन्देही-३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेको विवरणमा दिलमाया खाँण श्रीमती भएको उल्लेख गरेका छन् भने त्यसबाहेक अरू निकायमा पेस गरेका कागजातमा भने उनले श्रीमतीका रूपमा मञ्जु खाँणको नाम लेखेकाे बरालको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस