सवारी लाइसेन्स छाप्ने नयाँ ‘मास प्रिन्टर’ किन्न बोलपत्र आह्वान  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सवारी लाइसेन्स छाप्ने नयाँ ‘मास प्रिन्टर’ किन्न बोलपत्र आह्वान 


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । यातायात व्यवस्था विभागले थोरै समयमा धेरै स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने क्षमताको मेसिन (मास प्रिन्टर) किन्न बोलपत्र आह्वान गरेको छ । यसअघि पनि विभागले एउटा मास प्रिन्टर किनेर लाइसेन्स छाप्दै आएको छ ।

साना प्रिन्टरबाट छापेर वितरण गर्दा माग धान्न नसक्ने अवस्था आएपछि विभागले मास प्रिन्टर ल्याएको थियो ।

अहिलेको मास प्रिन्टरले एक घण्टामा १५ सय वटा लाइसेन्स छाप्न सक्छ । कम्तीमा अहिले प्रयोगमा रहेको प्रिन्टरको क्षमता नघट्ने गरी अर्को प्रिन्टर किन्न लागिएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले बताए ।

मागअनुसार लाइसेन्स छाप्न नसकिएकाले ‘ब्याक लग’ संख्या दिनानुदिन बढ्दो छ । लाइसेन्स वितरणलाई नियमित गर्ने हो भने दैनिक ४ हजार लाइसेन्स प्रिन्ट हुनुपर्छ । तर, हाल औसत निकै थोरै मात्रामा लाइसेन्स प्रिन्ट हुन्छ ।

देशभरका १७ वटा लाइसेन्स कार्यालयबाट लाइसेन्स वितरण हुन्छ । प्रिन्ट भने काठमाडौँको मीनभवनस्थित विभागको कार्यालयमा मात्र हुन्छ ।

कागजी लाइसेन्स हटाएर देशव्यापी रूपमा स्मार्ट लाइसेन्स वितरण थालेपछि लाइसेन्सको माग र छपाइको सन्तुलन मिलेको छैन । जसका कारण एक वर्षसम्म पनि सेवाग्राहीले लाइसेन्स नपाउने समस्या छ । त्यसमाथि बेला-बेलामा छपाइ गर्ने कार्ड सकिने समस्या दोहोरिरहन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस