राष्ट्रपति वा प्रधानमन्त्री हुन पाए देशलाई अर्कै बनाउन सक्छु : झलनाथ खनाल « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

राष्ट्रपति वा प्रधानमन्त्री हुन पाए देशलाई अर्कै बनाउन सक्छु : झलनाथ खनाल


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सत्ता गठबन्धनभित्र आफूलाई राष्ट्रपति बनाउने सहमति अहिलेसम्म नभएको बताएका छन्। 

उनले निर्वाचनपछि एउटैमात्र दलको सरकार बन्ने अवस्था नरहने तर गठबन्धनको बहुमत आउने भएकाले पद बाँडफाँट गर्दा आएको जिम्मेवारी चाहिँ आफूले निर्वाह गर्ने बताए।  

आफ्नै निर्वाचन क्षेत्र इलाम १ मा रहेका खनालले आफू राष्ट्रपति, प्रधानमन्त्री वा अरू पदसमेतका लागि तयार रहेको तर अहिलेसम्म त्यस्तो कुनै सहमति भने नभएको बताए। इलाम क्षेत्र १ मा निर्वाचनपछि खनाल राष्ट्रपति हुने र उनको क्षेत्रमा हुने उपनिर्वाचनमा अहिलेको गठबन्धनभित्रकै नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउने भन्दै गठबन्धनले चुनावी प्रचार गरिरहेका बेला खनालले यस्तो प्रतिक्रिया दिएका हुन्।

 ‘जसले यस्तोखालको प्रचार गर्नुभएको छ, उहाँहरूलाई धन्यवाद दिन्छु,’ खनालले भने, ‘तर, अहिलेसम्म त्यस्तो कुनै सहमति भएको छैन।  चुनावपछि मुख्य पदहरू विभिन्न दलले बाँड्ने विषयको छलफल खुला छ।

‘खनालले यो निर्वाचनलाई आफू अन्तिम पटक लड्ने निर्वाचन पनि भनिरहेका छन्। उनले आफू अहिले ७३ वर्षको भइसकेको तर अबको ५ वर्ष चाहिँ देशको कार्यकारी प्रमुखकै रूपमा जिम्मेवारी आएपनि पूरा गर्ने बताए। ‘मसँग काम गरेको अनुभव छ, भिजन छ, दृष्टिकोण, योजना पनि छ।  त्यसैले म जुनसुकै जिम्मेवारीका लागि सक्षम छु,’ उनले भने, ‘५ वर्ष प्रधानमन्त्रीका रूपमा काम गर्न पाएँ भने यो देशलाई अर्कै बनाउन सक्छु। तर, मलाई यो जिम्मेवारी देऊ भनेर जाने चाहिँ होइन। ’

खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने बेला एमसिसी र गठबन्धनको धारणाको विपक्षमा आफ्नो मत राखेका थिए। एमसीसीबारे अहिले पनि आफ्नो अडान उही रहेको खनालको भनाइ छ।

आफूलाई चित्त नबुझेपनि ठूलो बहुमतले पास गरेको एमसीसीबाट कति फाइदा हुन्छ भन्ने चाहिँ हेर्न बाँकी नै रहेको उनको भनाइ छ।

खनालले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि लामो समयदेखि आफूले प्रयास गरेको तर कतिपय काम पूरा हुन बाँकी रहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस