खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउने महानगरको तयारी « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउने महानगरको तयारी


२८ कार्तिक २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ निर्माण गर्ने तयारी गरेको छ । झाडी र फोहोरले अस्तव्यस्त बनेको खुलामञ्च सम्याएर महानगरले अहिले सफा गरेको छ ।

बेसमेन्ट निर्माण गरेर पार्किङ गराउने आन्तरिक तयारीका साथ खुलामञ्चमा सफा गरिएको महानगरका मेयर बालेन्द्र साह (बालेन) का पूर्वाधार सल्लाहकार सुनिल लम्सालले जानकारी दिए ।

लम्सालले खुलामञ्च तत्काल खोल्ने विषयमा भने निर्णय भइनसकेको बताए ।

बजेटमै उल्लेख भएको बुँदा अनुसार महानगरले खुलामञ्चमा तीन तल्लाको अन्डरग्राउन्ड पार्किङ गराउने गरी ‘सार्वजनिक–निजी-साझेदारी’अवधारणामा संरचना निर्माण हुने लम्सालले बताए । पीपीपी मोडलमा ठेक्का खोल्न महानगरले केही नीतिगत व्यवस्था समेत सच्याउने भएको उनले बताए ।

महानगरको बजेटको बुँदा नम्बर १११ मा बढ्दो सवारी चापलाई मध्यनजर गरी वडा नम्बर ११ मा रहेको खुलामञ्चसँगैको जग्गामा ‘रिभर्स बोरिङ’ सहितको भूमिगत पार्किङका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।

महानगरको मातहत पर्ने खुलामञ्चमा १५ वैशाख २०७८ देखि सवारी प्रवेशमा रोक लगाइएको थियो । त्यस यता बन्द रहेको खुलामञ्चमा दसैँ तिहार अवधिभर चार पाङ्ग्रे सवारी पार्किङ गर्न दिइएको थियो । हाल खुलामञ्च बन्द अवस्थामै रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस