डोटीमा भूकम्प पीडितलाई राहत वितरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डोटीमा भूकम्प पीडितलाई राहत वितरण


२६ कार्तिक २०७९, शनिबार


डोटी । जिल्ला विपद् व्यवस्थापन समिति डोटीले शुक्रवार भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नुका साथै पीडितलाई राहत वितरण गरेको छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी श्रेष्ठको नेतृत्वमा गएको टोलीले स्थलगत निरीक्षण गरी मृतकका परिवारलाई नगद रकम र प्रभावितहरूलाई खाद्यान्न लुगा कपडा वितरण गरेको हो ।

जिल्ला विपद् व्यवस्थापन कोषबाट भूकम्पले घर भत्काउँदा च्यापिएर मृत्यु भएका प्रति परिवारलाई २ लाखका दरले एक परिवारबाट एक बढीको मृत्यु भएको अवस्थामा थप एक लाखका दरले नगद राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताइन् ।

भूकम्पमा परि मृत्यु भएका मृतकका आफन्त पदम बहादुर बोहरालाई ४ लाख, विस्नादेवि बोहरालाई ३ लाख र महावीर बाेहराललाई २ लाख घटना स्थलमा गई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । त्यस्तै पूर्ण रूपमा क्षति भएका १८ घर परिवारलाई टेन्ट, बल्यांकेट र करिब १० दिनको लागि पुग्ने दाल, चामल, चिउरा, नुन, तेल खाद्यान्न उपलब्ध गराइएको समेत प्रशासनले जनाएको छ ।

सोही गाउँपालिकाको सिमलडाँडाका १० घर परिवार भूकम्पबाट प्रभावित भएकोले थप परिवारको लागि शनिवार राहत सामग्री पठाउने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताइन् । डोटीको सायल गाउँपालिकामा पनि भूकम्पको कारण केही घरहरू चर्केको जानकारी अनुसार गाउँपालिकामा ३०/३० थान त्रिपाल र बल्यांकेट पठाइएको समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भूकम्पका कारण गाउँपालिकाका भित्र भएको भौतिक क्षतिको प्रारम्भिक विवरण सङ्कलन भइरहेको पुर्बिचौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले बताएका छन् । उनले भने प्रहरी प्रशासन र रेडक्रसको सहयोगमा तथ्याङ्क लिई रहेका छौँ । पूर्ण रूपमा क्षतिको विवरण आयपछि राहतका साथै पुर्न निमार्णको लागि पहल गरिने बताए । तत्कालको लागि प्रभावितहरूलाई गर्नुपर्ने राहत, उद्धार र व्यवस्थापनको कार्यक्रम गाउँपालिका दिनरात खटिरहेको समेत अध्यक्ष उपाध्यायले बताए ।

प्रमुख जिल्ला अधिकारी को नेतृत्वमा गएको स्थलगत निरीक्षण टोलीमा गाउँपालिका अध्यक्ष राम प्रसाद उपाध्याय, प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमला, सशस्त्र प्रहरी उपरीक्षक वीर सिंह शाहु, प्र.अ.अ. डिगम्वर गिरी, नेपाल रेडक्रस सोसाइटीका र स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो ।

उद्धारका लागि सुरक्षाकर्मीको प्रमुख भूमिका
घटना भइसकेपछि उद्धारमा सुरक्षा निकायको भूमिका प्रभावकारी रहेको प्रभावितहरूले बताएका छन् । घटना हुने बित्तिकै नेपाल प्रहरी र नेपाली सेना, सशस्त्र प्रहरीको टोली घटनास्थल पुगी उद्धार कार्यमा लागेको स्थानीयले बताए ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले प्रभावितहरूको घरभित्रको अन्नपात सामाग्री बाहिर निकाल्ने, जोखिमयुक्त भवनहरूको ब्यवस्थापनगर्ने, घाइतेहरूको उद्धार, टेन्ट त्रिपालको व्यवस्था र टहरा निमार्ण,घाइतेहरूलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत धनगढी रिफर लगाएका काममा प्रमुख भूमिका रहेको पाइन्छ ।

बुधवार बिहान खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परि पुर्विचौकी गाउँपालिकाका वडा नम्बर ३ गैरागाउँका ६ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका थिए भने ४४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस