काँग्रेस पहिलो हुन्छ, तर कसैको पनि बहुमत आउँदैन : देउवा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेस पहिलो हुन्छ, तर कसैको पनि बहुमत आउँदैन : देउवा


१८ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन अझै १० देखि १५ वर्षसम्म लम्बिने बताएका छन् ।

दोस्रो चरणको चुनावी अभियानअन्तर्गत डडेलधुरामा पहिलो चुनावी सभालाई सम्बोधन गर्दै देउवाले समृद्धि र आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएकाले गठबन्धन १० देखि १५ वर्षसम्म गर्नु पर्ने जिकिर गरे । “राजनैतिक पद्धति र विकासलाई संस्थागत रूपमा विकास गर्न पनि गठबन्धन आवश्यक छ,” उनले भनाई छ ।

शुक्रबार बिहान डडेलधुराका सञ्चारकर्मीसँग प्रधानमन्त्री देउवाले अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नरहेको बताए ।

“यो समावेशी संविधान हो । यसमा सबै जाती, जनजाति मिलाएर अगाडि बढ्न आवश्यक छ । त्यसैले सबै पार्टीले मिलेर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो,” उनले भने । देउवाले मंसिर ४ को निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी हुनेमा भने शङ्का नगर्न आग्रह गरे ।

“पूर्वदेखि पश्चिमसम्म अहिले नेपाली काँग्रेस र गठबन्धनको पक्षमा मतदाता सकारात्मक देखिएका छन्,” देउवाले भने, “त्यसैले नेपाली काँग्रेस पहिलो पार्टी हुनेमा दुई मत छैन ।”

काँग्रेस पहिलो पार्टी बनेपछि अबको ५ वर्षमा धेरै परिवर्तन हुने प्रधानमन्त्री देउवाले दाबी गरे । “गठबन्धनको पक्षमा मतदान गर्न र नेपाली काँग्रेसलाई ठूलो पार्टी बनाउन सम्पूर्ण नेपालीमा आग्रह गर्न चाहन्छु,” देउवाले थपे, “काँग्रेस ठूलो पार्टी भए अबको ५ वर्षमा धेरै ठूलो परिवर्तन हुन्छ । विकासले फड्को मार्छ ।”

प्रधानमन्त्री देउवा अहिले गृहजिल्ला डडेलधुरामा व्यस्त छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस