जनताको अपेक्षाअनुसार गुणात्मक फड्को मार्न सकिएन : नारायणकाजी श्रेष्ठ « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

जनताको अपेक्षाअनुसार गुणात्मक फड्को मार्न सकिएन : नारायणकाजी श्रेष्ठ


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशले नेपाली समाजको आवश्यकता, अपेक्षा र नेपालको संविधान र परिवर्तन निर्देशअनुसार गुणात्मक फड्को मार्न नसकेको बताएका छन् ।

बिहीबार काठमाडौँमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले उनले राजनीतिक परिवर्तनलाई राजनीतिक परिवर्तनमा मात्रै सीमित नराखेर सामाजिक, आर्थिक रूपान्तरणको क्षेत्रमा विस्तारित गर्ने, सामाजिक न्यायसहितको समृद्ध मुलुक बनाउने र आम जनतालाई समृद्ध बनाउने गरी काम गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘यसबिचमा राजनीतिक परिवर्तनलाई नै हामीले जोगाउन सङ्घर्ष गर्नुपरेको थियो भने समृद्धिको दिशामा पनि हामीले केही मात्रात्मक कामहरू गरेका छौँ, तर नेपाली समाजको आवश्यकता, अपेक्षा र नेपालको संविधान र परिवर्तन निर्देशअनुसार गुणात्मक फड्को मार्न सकिएको छैन । आजको मुख्य कार्यभार समृद्धिको दिशामा फड्को मार्नु नै हो । हामीले गुणात्मक हस्तक्षेप त्यस दिशामा गर्नुपर्छ र जनतालाई राजनीतिक परिवर्तनबाट हाम्रो जीवन फेरिने गरी यत्ति प्राप्त भयो भनेर दिनुपर्छ । त्यसको निम्ति यो गठबन्धनले आफूलाई यो कार्यभार पूरा गर्ने गरी तयार गर्नुपर्छ । गोरखालाई यो नेतृत्व पूरा गर्ने अवसर प्राप्त छ । सम्भावना देखा परेको छ । त्यसको अर्थ धेरै मत ल्याएर आफ्ना मतदातालाई विजयी गराउनुपर्छ ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न बाँकी रहेको उल्लेख गर्दै राजनीतिक प्रक्रिया पूरा गरे पनि द्वन्द्वपीडितलाई न्याय दिने, राष्ट्रिय मेलमिलाप कायम गर्न ठोस भूमिका खेल्ने र दिगो शान्तिको स्थापनाको काम बाँकी रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस