स्याङ्जा २ : काँग्रेस उपसभापति गुरुङ र एमाले सचिव अर्यालबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी ? « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

स्याङ्जा २ : काँग्रेस उपसभापति गुरुङ र एमाले सचिव अर्यालबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी ?


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । २०७४ सालको निर्वाचनमा तत्कालीन उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेर चर्चा कमाएकी नेकपा एमालेकी पद्मा अर्याल आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा पुनः होमिएकी छन् । अर्याल एमालेकी केन्द्रीय सचिव हुन् । यस पटक उनका प्रतिस्पर्धी हुन् नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ । स्याङ्जाको क्षेत्र नम्बर २ अहिले चुनावले तातिरहँदा पद्माले बाजी मार्छिन् या धनराजले भन्नेमा बढी रोचक बनेको हो ।

अघिल्लो निर्वाचनमा वाम गठबन्धनकी साझा उम्मेदवार अर्याल अहिले एमालेबाट उम्मेदवार बनेकी हुन् भने धनराज वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन् ।

धनराजको आफ्नै निर्वाचन क्षेत्र भने १ नम्बर हो । अर्जुनचौपारी गाउँपालिका घर भएका उनी पार्टीको आकाङ्क्षा अनुसार क्षेत्र नम्बर दुईबाट उम्मेदवार बनेका हुन् । केही समयदेखि उनी भ्रष्टाचार विरोधमा खरो रूपमा उत्रिने गरेका छन् । भ्रष्टाचारविरोधी गतिविधि नै उनका चुनावी एजेन्डा हुन् । भाषणमा आदर्श र मूल्यका कुरा गरिरहने गुरुङ अघिल्ला निर्वाचनमा प्रत्यक्ष चुनाव भने लड्ने अवसर पाएका थिएनन् ।

तर, यतिबेला पार्टीको केन्द्रीय उपसभापति बन्दै गर्दा सम्भावना बोकेको राष्ट्रिय नेताका रूपमा गुरुङलाई जनताबाट प्रत्यक्ष अनुमोदित हुनुपर्ने बाध्यता थियो । जसका कारण उनी चुनावी मैदानमा उत्रिएका हुन् । २०६४ र २०७० मा समानुपातिक सांसद बनेका गुरुङ जहिल्यै पूर्वमन्त्री गोपालमान श्रेष्ठको छायामा पर्दथे । जिल्लामा गोपालमानकै हालीमुहाली कारण पार्टीभित्रै फरक धारका नेताले अवसर पाउँदैनथे । पार्टीको जिल्ला अधिवेशनमा पनि उनका विपक्षी राजु थापाले सभापति पद जिते । त्यसपछि जिल्लामा गोपालमान अर्थात् देउवा लाइनलाई पछि पार्दै कोइराला लाइन अघि बढ्यो । योसँगै धनराजले जिल्लामा प्रत्यक्ष निर्वाचन लड्ने अवसर पाए ।

१२ र १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका गुरुङ काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय उपसभापति पदमा निर्वाचित भएका थिए । २०४८ सालको आम निर्वाचनमा काँग्रेस नेता स्वर्गीय रुद्रमान गुरुङसँग चुनावी अभियानमानसँगै जिल्ला दौडाहामा निक्लेका गुरुङ त्यसपछि केन्द्रीय राजनीतिमै रमाए । संविधानसभामा जातीय सङ्गठन ‘ककस’ को प्रभाव तीव्र हुँदा उनले जातीय मुद्दालाई मात्र लिएर कहिल्यै हिँडेनन् । उनी स्पष्ट आफ्ना कुरा राख्न सक्ने नेताका रूपमा परिचित छन् ।

चितवनमा भएको महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएकी थिइन् पद्मा अर्याल । एमालेको इतिहासमा दोस्रो महिला जिल्ला अध्यक्ष हुने अवसर पाएकी पद्माले बहालवाला उपप्रधानमन्त्रीलाई हराएसँगै केन्द्रीय राजनीतिमा चर्चा बटुलेकी थिइन् ।

अर्याल दोस्रो संविधानसभामा समानुपातिक सभासद् भएकी थिइन् । काँग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठलाई हराएपछि अर्यालले राजनीतिमा आजसम्म पछाडि फर्केर हेर्नुपरेको छैन । तत्कालीन एमालेभित्र वामदेव लाइनकी अर्याल एमाले र माओवादीको एकतापछि पनि राम्रो पकड बनाउन सफल भइन् । स्याङ्जामा ओली लाइन कमजोर भए पनि तत्कालीन समयमा बहालवाला मन्त्री भएकै कारण स्याङ्जामा सबै लाइनलाई मिलाएर ओली खेमामा उभाउन सफल भइन् । त्यसपछि उनी क्रमशः ओलीको मत जित्न थालिन् ।

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको नतिजामा भने स्याङ्जा-२ मा काँग्रेस अगाडि छ । गत स्थानीय निर्वाचनमा चापाकोट, गल्याङमा काँग्रेसले मेयर र उपमेयरसहित विजय हासिल गरेको थियो । वालिङमा मेयरमा दिलिपप्रताप खाँणलाई हराउँदै एमालेका कृष्ण खाँण विजयी भएका थिए । दिलिपप्रताप पूर्वमेयरसमेत हुन् । अर्याल र गुरुङको क्षेत्र कालीगण्डकी गाउँपालिकामा तुलनात्मक रूपमा एमालेको प्रभाव बढी देखिन्छ भने चापाकोट र भीरकोटमा काँग्रेस । वालिङ र गल्याङमा दुवैको कडा प्रतिस्पर्धा छ । अघिल्लो निर्वाचनमा पद्मालाई माओवादीका भोट सारथि बनेका थिए भने यस पटक माओवादीको भोट गठबन्धनका कारण धनराजलाई जानेछ ।

यसो त, सत्तारुढ गठबन्धनभित्रै असन्तुष्टि जनाउँदै नेकपा एकीकृत समाजवादीका रामचन्द्र पौडेलले पनि २ को १ मा उम्मेदवारी दिएका छन् । त्यहाँ काँग्रेसका भोजराज अर्याल प्रतिस्पर्धी बन्नेछन् । यता एमालेबाट पूर्व सांसद मोहनप्रसाद रेग्मी उम्मेदवारी बनेका छन् । २ को २ मा एमालेबाट बुद्धिमान श्रेष्ठ र गठबन्धनबाट काँग्रेसका महेश भट्टराई प्रतिस्पर्धी छन् । धनराज र भोजराजको पार्टीभित्र लाइन एउटा भए पनि भट्टराई भने देउवा लाइनका हुन् । पार्टीभित्र पनि टिकट दिने क्रममा सबैलाई मिलाएकाले यस पटक काँग्रेसका भोट बाहिर नजानेमा गठबन्धन ढुक्क छन् । यता, एमालेकी पद्मा पनि धनराजको गृहजिल्लामा बलियो पकड नभएकाले नजिता आफ्नै हातमा पार्ने दाउमा छिन् । भीआईपीलाई राज्यले दिने गरेको रातो पासपोर्टको दुरुपयोग गरेको आरोप भोगेका धनराजले सिद्धार्थ राजमार्गलाई प्रमुख एजेन्डा बनाएर अघि सरेका छन् ।

क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ पनि चुनावी मैदानमा छन् । उनले निर्णायक मत ल्याउन नसके पनि हराउने भूमिकाका मतमा भने प्रभाव पार्न सक्ने देखिन्छ । त्यस्तै हालसालै मात्र काँग्रेस परित्याग गरी राप्रपाबाट उम्मेदवारी दिएका लालगोपाल अर्यालले पनि काँग्रेस र एमालेका मत काट्ने अनुमान यतिबेला गरिएको छ । धेरैथोरै प्रभाव पार्न सक्ने विश्लेषण विश्लेषकको छ । समग्र रूपमा हेर्दा आसन्न प्रतिनिधिसभा स्याङ्जा २ को निर्वाचन बढी रोचक देखिएको हो ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारलाई भ्याइनभ्याइ छ । उनीहरू प्रचारप्रसारमा नै व्यस्त छन् । राजनीतिक दलको तर्फबाट उम्मेदवारी दिएका मात्र होइन चुनावी मैदानमा स्वतन्त्र उम्मेदवारी दिएका पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस