दाङ-३ मा दीपक गिरी र कोमल वलीबीच तिब्र प्रतिस्पर्धा, को कति सुरक्षित ? « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

दाङ-३ मा दीपक गिरी र कोमल वलीबीच तिब्र प्रतिस्पर्धा, को कति सुरक्षित ?


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । सञ्चारकर्मी र गायिकाको रूपमा चर्चित कोमल वली राप्रपा हुँदै एमालेमा आइन्। पाँच वर्षअघिको निर्वाचनमा उनी एमालेको समानुपातिक सूचीमा परेकी थिइन्। तर सांसद हुन पाइनन्। पछि उनलाई राष्ट्रियसभा सदस्य बनाइएको थियो ।

उनी अहिले नेपाली काँग्रेसका केन्द्रीय नेता दीपक गिरीलाई टक्कर दिन दाङको क्षेत्र नम्बर ३ मा आइपुगेकी छन्।

विद्यार्थी कालदेखि व्यवस्था परिवर्तनको आन्दोलनमा होमिएका गिरी यो क्षेत्रमा २०५१ यता पटक-पटक चुनाव लडिरहेका छन्। उनले २०७० सालको निर्वाचन यही क्षेत्रबाट जितेका थिए। उनी काँग्रेसका केन्द्रीय सदस्य हुन्।

समाचार पढेर होस् वा गीत गाएर सर्वसाधारणको मन जितेकी वलीलाई चुनावमा जनताको मत जितेर गिरीलाई पराजित गर्न कत्तिको गाह्रो हुने छ त ?

यो निर्वाचन क्षेत्रमा तुलसीपुर उपमहानगरपालिकाका १ देखि १५ वडा, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिका पर्छन्। यो निर्वाचन क्षेत्रमा १ लाख ४८ हजार ४ सय ७५ मतदाता छन्।

स्थानीय तह निर्वाचनका क्रममा पनि तुलसीपुरमा सत्ता गठबन्धनका दलहरूको तालमेल थियो। तुलसीपुरको मेयर र उपमेयर भने एमालेले जितेको थियो। तुलसीपुरबाहेक यो क्षेत्रमा पर्ने अरू पालिकामा काँग्रेस एक्लै लडेर जित हासिल गरेको छ। सबै पालिकाका अध्यक्ष, उपाध्यक्ष र बहुमत वडाध्यक्ष काँग्रेसले एक्लै जितेको हो।

स्थानीय चुनावमा वडाध्यक्षहरूले ल्याएको मत हेर्दा एमालेभन्दा गठबन्धनकै अवस्था राम्रो देखिन्छ।

यो क्षेत्रमा सत्ता गठबन्धनका दलहरू काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षहरूले ल्याएको ४२ हजार ७३ मत छ। एमालेका वडाध्यक्षहरूले भने ३६ हजार ५ सय ९ मत ल्याएका छन्।

वडाध्यक्षहरूले पाएको मतलाई नै आधार मान्ने हो भने यहाँ एमालेभन्दा गठबन्धन ५ हजार ५ सय ६४ मतले अघि छ।

यो पाँच हजारको अन्तर कायम राख्न सके गठबन्धनले जित्ने हो। कोमल वलीले जित हासिल गर्न एमालेको भोट कायम राख्दै गठबन्धनको पाँच हजार भोट तान्न सक्नुपर्ने छ।

त्यो पाँच हजार भोट वलीको व्यक्तित्वले कमाउन सक्ने आकलन कतिपयले गर्छन्। तर कतिले भने एमालेको आन्तरिक असन्तुष्टिको बेफाइदा उनलाई भएको बताउँछन्।

एमालेका नेता/कार्यकर्ता वलीले महिला भोट र आफ्ना प्रशंसकको भोट पाउने दाबी गर्दै आएका छन्। दाङबाट काठमाडौँ गएर आफ्नो प्रतिभा विकास गरेकी वलीको छवि त्यहाँका बासिन्दाको मनमा राम्रो रहेकाले त्यो प्रभाव भोटमा देखिने आस एमालेको छ। अर्कोतर्फ वलीका आलोचक पनि छन्। वर्षौँदेखि पार्टीमा दुःख गरेका नेता/कार्यकर्ताले पार्टी प्रवेशको छोटो समयमै वलीको हातमा पार्टीले दिएको अवसरलाई निको मानेका छैनन्।

यता स्थानीय चुनावमा गठबन्धनका वडाध्यक्षले पाएको मत पाउने सम्भावनालाई हेर्दा काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार गिरी बलिया देखिन्छन्। त्यसका लागि उनलाई माओवादी र एकीकृत समाजवादीका मतदाताले समेत भोट दिनुपर्छ।

गिरी २०५१ मा शङ्कर पोखरेलसँग यही क्षेत्रमा पराजित भएका थिए। २०६४ मा नेकपा माओवादीकी सुष्मा शर्मा घिमिरेसँग पराजित भएका थिए। २०७० सालमा भने एमालेका स्व. उत्तरकुमार वलीलाई पराजित गरेर उनले जित हासिल गरे। त्यही कार्यकालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा सिँचाइ मन्त्री भए। त्यतिखेर उनले बृहत् सिँचाइ परियोजना स्थापना गरेका थिए। सल्यानको शारदा र प्युठानको माडीको पानी दाङमा झारेर बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने त्यसको उद्देश्य छ। परियोजनाले जिल्लामा यतिखेर सिँचाइ ड्याम, नहर तथा सिँचाइ पक्की कुलोहरू बनाउँदै आएको छ।

काँग्रेसका नेता कार्यकर्ता यो योजना र गिरीकै पहलमा भएका अरू विकासका कामकै कारण गिरीको प्रभाव बढेको बताउँछन्।

तर वर्षौँदेखि उनले मात्र अवसर पाएकाले युवाहरूले अवसर नपाएको गुनासो बढ्दै गएको छ। यसबाहेक काँग्रेसभित्रकै गुट उपगुटको झगडा पनि यहाँ चर्को छ। त्यसकारण अन्तर्घातको सम्भावना पनि कतिपयले औँल्याउँछन्।

Tags :
प्रतिक्रिया दिनुहोस