कतार विश्वकप सुरु हुन एक महिना बाँकी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

कतार विश्वकप सुरु हुन एक महिना बाँकी


१२ कार्तिक २०७९, शनिबार


दोहा । एक महिनाभन्दा धेरै कम समय बाँकी रहेको छ, कतारमा हुने यसपल्टको विश्वकप सुरु हुन ।

धेरै अर्थमा विवादास्पद रहेको छ, यसपल्टको विश्वकप । मध्यपूर्वमा अमेरिकाका सहयोगी रहेको कतार तेल र ग्यासमा निकै धनी छ ।

मरुभूमि प्रायद्वीप देश कतार र अबको विश्वकप, विवाद र यसबारे पाँच विशेषताबारे फ्रान्सेली समाचार संस्था एएफपीले पाँच विशेषतासहितको आलेख तयार पारेको छ, जुन यस प्रकार छः

सानो तर शक्तिशाली
कतार निकै सानो छ, क्षेत्रफलको हिसाबमा । अरबकै यो साना देशको जनसंख्या पनि खालि २९ लाख मात्र रहेको छ र यसमध्ये पनि धेरै विदेशी कामदार रहेका छन् । सन् १९७१ सम्म पनि यो देश बेलायती संरक्षणमा थियो, ५५ वर्षका लागि । अहिले पनि यो राजसंस्थाले चलाएको देश हो । अल–थानी कतारी राजपरिवार हो र यसले १९ औं शताब्दीको मध्यभागबाट राज गरिरहेको छ । अहिलेका अमिर हुन्, शेखी तमिम विन हमद अल–थानी ।

सन् २०१३ पछि मात्र उनी सत्तामा आएका थिए । त्यस अगाडि उनका बुबा शेख हमद विन खलिफा अल–थानी राजा थिए । उनले राजकाज त्याग गरेका थिए । विश्वास नहुन सक्छ, देशको पहिलो आधिकारिक चुनाव भर्खरै जसो सन् २०२१ को अक्टोबरमै मात्र भएको थियो । त्यहाँको सुरा काउन्सिलका लागि भएको चुनावमा ४५ जना निर्वाचित भएका थिए र त्यसमा एकै जना पनि महिला थिएनन् ।

अपार धनी देश
कतार भलै सानो देश रहेको छ, क्षेत्रफल र जनशक्तिको आधारमा । तर यो देश तरल प्राकृतिक ग्यास उत्पादन गर्ने सबैभन्दा ठूलो देश हो । विश्वकै सबैभन्दा बढी प्रतिव्यक्ति आय कतारको रहेको छ । सन् २०२१ को तथ्यांकअनुसार यो प्रतिव्यक्ति आय वर्षको ६१ हजार २ सय ७६ डलर रहेको छ र यो छिमेकी साउदी अरेबियाको भन्दा साढे दुई गुणा बढी हो ।

उसको कतार इन्भेस्टमेन्ट अथोरिटी विश्वकै सबैभन्दा धनी लगानीकर्ता रहेको छ । यो संस्थाले मज्जाले पर्याप्त रकम युरोपका खास खास ठूला ब्रान्डमा खर्च गरेको छ । जस्तो, बेलायतको महँगो होटल, ह्यारोड्स, लन्डनको सार्ड स्काइक्रेपर र फ्रान्सको बालमने फेसन हाउस ।

साउदी अरेबियासँग टक्कर
कतारले केही समय अगाडि निकै ठूलो कूटनीतिक व्यवधान बेहोर्नुपरेको थियो । सन् २०१७ को जुनदेखि २०२१ को जनवरीसम्म केही खाडी देशले कतारमाथि नाकाबन्दी पनि लगाएका थिए । तर यो नाकाबन्दीले कतारी अर्थतन्त्रमा लगभग केही पनि प्रतिकूलता सिर्जना गर्न सकेन् । अरबमा प्रजातन्त्रको आन्दोलन सुरु भएयता तनाव चर्को छ । दोहामाथि आरोप छ, उसले यी आन्दोलनलाई समर्थन गर्ने गर्छ ।

तर अन्य खाडी देशका राजसंस्थाका लागि भने यी आन्दोलन चुनौती बनेको छ । कतारको सबैभन्दा ठूलो शत्रु साउदी अरेबिया रहेको छ र साउदीको पछाडि रहेका छन्, यूएई, बहराइन र इजिप्ट । यिनीहरूले नै हो, कतारमाथि विशेषतः आर्थिक नाकाबन्दी लगाएका । तिनका आरोप थिए, कतारले आतंकवादलाई समर्थन गर्छ र यी सबैको शत्रु देश इरानसँग नजिकको सम्बन्ध राख्छ । स्वाभाविक रूपमा कतारले यी सबै आरोपलाई अस्वीकार गरेको छ ।

रियाद र उसका सहयोगीले नाकाबन्दी हटाउने हो भने त्यसका लागि विभिन्न सर्त पूरा गर्नुपर्ने बताएको थियो । त्यसमा एक प्रमुख सर्त हो, अल–जजिरालाई बन्द गर्ने । अहिले अल–जजिरा विश्वकै सबैभन्दा ठूलो समाचार संस्था रहेको छ । यो संस्थामाथि लागेको सबैभन्दा ठूलो आरोप यही हो, यसले अरबमा चलेको स्वतन्त्रताको आन्दोलनलाई सहयोग गर्ने गर्छ । अनि यसको आर्थिक लेनदेन इरानसँग छ ।

कतारले यी सबै सर्तलाई स्वीकार गर्न मानेन नै, उल्टै उसमाथि नाकाबन्दी लगाउने देश यसलाई हटाउन बाध्य रहे । यी देश अमेरिकाको दबाबमा थिए । रमाइलो के छ भने साउदी अरेबिया र कतार दुवै अमेरिकी सहयोगी देश नै हुन् ।

खेलकुदमा करोडौँ लगानी
आफ्नै घरमा मात्र होइन, विदेशी भूमिमा पनि कतारले खेलकुदको नाममा करोडौं डलर खर्चेको छ, पैसाको खोलो नै बनाउने जस्तै गरेर । सन् २०११ मा कतारले फ्रान्सेली फुटबलको सबैभन्दा ठूलो टिम पेरिस सेन्ट जर्मेन ९पीएसजी० किनेको थियो । यसै क्रममा सन् २०१७ मा पीएसजीले ब्राजिली खेलाडी नेयमरका लागि मात्र भनेर विश्व कीर्तिमान २२ करोड डलरभन्दा बढी खर्चेको थियो । कतार स्पोर्ट्स इन्भेस्टमेन्ट ९क्यूएसआई० ले बेल्जियमको पहिलो डिभिजन क्लब केएएस युपेन पनि किनेको छ ।

त्यति मात्र होइन, पोर्चुगलको स्पोर्टिङ ब्रागमा २२ प्रतिशत सेयर लगानी पनि गरेको छ । अन्तर्राष्ट्रिय मञ्च, विशेषतः विश्व खेलकुदको नजर आफूमा तान्न कतारले केही ठूला प्रतियोगिताको पनि आयोजना गरेको छ । त्यसमध्ये सबैभन्दा पहिलो त सन् २००६ को एसियाली खेलकुद नै रह्यो । यस्तै सन् २०११ मा एसियन कप अफ नेसन्स २०११ र सन् २०१९ मा वर्ल्ड एथलेटिक्स च्याम्पियनसिप पनि आयोजना गरिसकेको छ । यी सबैको आयोजना गर्ने क्रममा करोडौं डलर त खर्च भयो होला ।

मानवअधिकारबारे प्रश्न नै प्रश्न
कतारले विश्वकप आयोजनाको मौका पाउनु पनि आफैँमा स्तब्धपूर्ण थियो । त्यसक्रममा कतारमा मानवअधिकारलाई लिएर पनि सयौँ प्रश्न उठेका छन् । विशेषतः कतारले विदेशी कामदारप्रति जस्तो व्यवहार गरेको छ, त्यसको धेरै नै आलोचना भएको छ । विश्वकपका लागि ठूलाठूला रंगशाला र भवन निर्माणका क्रममा धेरै संख्यामा आप्रवासी कामदारको मृत्यु भएको अनुमान छ । तर कतारी अधिकारी यस्तो घटना भएको कहिले स्वीकार गर्दैनन् ।

ती कामदारलाई प्रचण्ड गर्मीका बेला लामो समय काम गराउने तथा तिनीहरूको कमजोर बसाइबारे पनि धेरै प्रश्न गरिन्छ । यस्तै आफूले पाउनुपर्ने पारिश्रमिक नपाउँदा आजाव उठाउने कामदारलाई देश निकाला गरेको आरोप पनि कतारमाथि लागेको छ ।

यी आरोप पनि कतारी सरकारले कामदारले पाउनुपर्ने न्यूनतम पारिश्रमिकबारे नियम बनाउँदै प्रतिकूल स्थितिमा काम नगराउने नियम पनि बनाएको छ । तर यत्तिले पनि धेरैको चित्त भने बुझेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस