बागमती करिडोर पार्कमा चल्यो डोजर, सुकुमबासी बस्तीमा त्रास « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

बागमती करिडोर पार्कमा चल्यो डोजर, सुकुमबासी बस्तीमा त्रास


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । धोबीखोला र बागमतीको दोभान थापाथलीस्थित रुद्रेश्वर मन्दिरमा वरपर निर्माण भएका संरचनामा शुक्रबार काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग सम्झौता गरेर त्यस क्षेत्रमा विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाहरुले पार्क बनाएका थिए । तर कतिपयले सम्झौता विपरीत संरचना बनाएपछि समितिले काठमाडौँ महानगरपालिकाको सहयोग लिएर ती संरचनामा डोजर चलाएको हो ।

समितिका सुपरभाइजर सागर कटुवालका अनुसार पूर्व सूचना गरेर महानगर प्रहरीको सहयोगमा रुद्रेश्वर मन्दिरले बनाएको भजन हल, क्रियापुत्री भवन लगायतको संरचना हटाएको हो ।

समितिले बागमती किनार नजिकै निर्माण भएको सत्य साई बाबा ध्यान केन्द्र पनि हटाएको छ ।

बागमती कोरिडोरमै थापाथलीदेखि युएन पार्कको पुलसम्मको क्षेत्र (सुकुमबासी बस्ती नजिकै) मा निर्माण भएको ओम शान्तिको सभाहल पनि शुक्रबार डोजर लगाएर भत्काइएको छ ।

ओम शान्तिको भवनलाई ३ दिनअघि नै सूचना दिएर सामग्री हटाउन लगाएको थियो ।

कटुवालका अनुसार रुद्रेश्वर मन्दिर र ओम शान्तिबीचको पार्कमा सम्झौता विपरीत बनेका संरचना भत्काउन पनि ३ दिनको समय दिइएको छ ।

यस्तै बागमती कोरिडोरमा बनेका अनधिकृत संरचनामा शुक्रबार डोजर चलाएपछि नजिकै रहेको सुकुमबासी बस्तीका बासिन्दा त्रसित भएका छन् ।

ओम शान्तिको संरचनामा डोजर चलाएको हेर्न आएका सुकुमबासी बस्तीका एक युवकका अनुसार थापाथलीको सुकुमबासी बस्तीमा २५८ घर परिवार छन् ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले भने सुकुमबासी बस्ती हटाउने विषयमा छलफल गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस