ओलीको गल्तीले खिमलाल अलपत्र, राष्ट्रियसभामा घट्यो एमाले  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ओलीको गल्तीले खिमलाल अलपत्र, राष्ट्रियसभामा घट्यो एमाले 


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गल्तीले एमाले नेता खिमलाल भट्टराई ‘अलपत्र’ परेका छन् । भट्टराई ओलीको निर्देशनमा राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएर अन्तिम समयमा प्रतिनिधि सभा सदस्य पदमा रुपन्देही ५ बाट उम्मेदवार बनेका थिए । तर, भट्टराईभन्दा अघि सोही क्षेत्रबाट वासुदेव घिमिरेले उम्मेदवारी दर्ता गरेका थिए ।

एउटै क्षेत्रमा एकै पार्टीबाट दोहोरो उम्मेदवारी परेपछि निर्वाचन आयोगले सोमबार गरेको छानबिनका क्रममा घिमिरेको उम्मेदवारी कायम गर्दै भट्टराईको रद्ध गरेपछि भट्टराईले राष्ट्रियसभा सदस्य पद गुमाउनुका साथै प्रतिनिधिसभाको उम्मेदवार बन्नबाट समेत वञ्चित भएका हुन् । 

निर्वाचन अधिकृत चिन्तामणि शर्माकाअनुसार एउटै पार्टीबाट दुईको उम्मेदवारी पर्दा जसले पहिला दर्ता गराउँछ उसैलाई आधिकारिकता दिने निर्वाचन निर्देशिकाको व्यवस्था अनुसार घिमिरे आधिकारिक उम्मेदवार बनेका हुन् ।

यो निर्वाचन क्षेत्रमा पहिलादेखि नै भट्टराई र घिमिरे कसलाई उम्मेदवार बनाउने भन्ने एमालेमा विवाद थियो । घिमिरे आधिकारिक उम्मेदवार बनेसँगै एमालेको राष्ट्रियसभा सदस्य समेत घट्न पुगेको छ । राष्ट्रिय सभामा एमालेका १६ सांसद रहेकोमा भट्टराईले राजीनामा दिएपछि १५ जनामा सीमित भएका छन् ।  

घिमिरेको उम्मेदवार सदर भएसँगै नेता भट्टराईले भने, ‘आयोगको निर्णय मैले आधिकारिक रूपमा पाइसकेको छैन । तर जसले टिकट पाए पनि एमालेका देशभरका उम्मेदवारले जित्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस