नेपालबाट बिजुली लैजान बंगलादेश सहमत « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपालबाट बिजुली लैजान बंगलादेश सहमत


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ । नेपालबाट ४० देखि ५० मेगावाटसम्म बिजुली लैजान बंगलादेश सहमत भएको छ।

बिहीबार काठमाडौँमा सम्पन्न २ देशका ऊर्जा सचिवस्तरीय बैठकमा बिजुली किनबेच गर्नुअघि भारतसँग त्रिपक्षीय छलफल गर्ने निर्णय भएको हो । काठमाडौँमा दुई दिनसम्म सञ्चालन भएको चौथो नेपाल–बंगलादेश सचिवस्तरीय बैठकमा भारतसँग छलफलपछि विद्युत् व्यापार सुरु गर्ने समझदारी भएको हो।

‘बंगलादेशको भेरामारामा अवस्थित एचभीडीसी (हाई भोल्टेज करेन्ट) संरचनाको बाँकी रहेको क्षमता उपयोग गरी नेपालबाट बंगलादेश प्रारम्भिक चरणमा ४० देखि ५० मेगावाटसम्मको विद्युत् निर्यात गर्न सकिने देखिएको छ,’ बैठकको निजोडको पहिलो बुँदामा भनिएको छ, ‘नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच त्रिपक्षीय विद्युत् खरिद सम्झौता गर्न अनुरोध गर्ने।’

नेपाल–बंगलादेश विद्युत् व्यापारका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरण, पावर ग्रिड कर्पोरेसन अफ इन्डिया र पावर सिस्टम अपरेटर कर्पोरेसनसँग अनुमति चाहिन्छ। भारतको बोर्डरबाट २७ किलोमिटर पर हाई भोल्टेज करेन्टमा भेरामारा सबस्टेसन पर्छ। उक्त ४ सय केभी प्रसारण लाइनमा ५ सय मेगावाटसम्म विद्युत् प्रसारण हुन्छ। भारतको अनुमतिपछि मात्रै नेपाल बंगलादेश विद्युत् व्यापार सुरु हुनेछ।

यस्तै, बैठकमा ६८३ मेगावाटको सुनकोसी-३ जलविद्युत् आयोजना विकासका लागि संयुक्त कम्पनी निर्माण गरेर अघि बढ्ने सहमति भएको छ। दुई महिनाभित्र आयोजनाको सम्भाव्यता अध्ययन तथा वतावरणीय अध्ययन प्रतिवेदनको पुनरावलोकन गरी संयुक्त कम्पनी स्थापना गरिनेछ। बंगलादेशी टोलीले मंगलबार नै सुनकोसी ३ आयोजनाको स्थलगत अवलोकन गरेको थियो।

रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली र काभ्रेपलाञ्चोक जिल्लामा निर्माण हुने उक्त आयोजनाको सरकारले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरिसकेको छ। आयोजना निर्माण गर्न १ खर्ब ५९ अर्ब ७२ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ।

जलविद्युत् क्षेत्रमा भएका उपलब्धि र अनुभव आदानप्रदानका लागि नेपाल बंगलादेश संयुक्त प्राविधिक टोलीलाई जिम्मा दिने भएको छ। बैठकको पहिलो दिन सहसचिवस्तरीय वार्ता भएको थियो। बुधबार भएका छलफललाई बिहीबारको सचिवस्तरीय बैठकले सहमति जनाएको हो।

बैठकमा नेपालका ऊर्जासचिव सुशीलचन्द्र तिवारी, सहसचिव भेटुवाल लगायत १५ जना र बंगलादेशका तर्फबाट त्यहाँका ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव हबिबुर रहमानसहितको टोली सहभागी थियो।

Tags :
प्रतिक्रिया दिनुहोस