प्रदेश सचिवहरूको गुनासो : कर्मचारी नहुँदा काम गर्न सकस, सङ्घीयतामा दलीयकरण  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश सचिवहरूको गुनासो : कर्मचारी नहुँदा काम गर्न सकस, सङ्घीयतामा दलीयकरण 


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । प्रदेश १ का प्रदेश सचिवहरूले प्रदेश र स्थानीय तहमा पर्याप्त कर्मचारी नहुँदा काम गर्न कठिनाइ भएको बताएका छन् । बुधवार सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्दै उनीहरूले यस्तो बताएका हुन् ।

प्रदेश सचिवहरूले सङ्घीयतालाई राजनीतिकरण गर्नुपर्नेमा दलीयकरण गरेको आरोपसमेत लगाए । उनीहरूले केन्द्र सरकारको मुख ताक्दा पनि कतिपय कानून निर्माण हुन नसकेको बताए । उनीहरूले प्रदेश आफैँमा आत्मनिर्भर भए सङ्घीयता सफल हुने बताए । उनीहरूले प्रदेश सरकारलाई काम गर्नको लागि ५० प्रतिशत कर्मचारीको आवश्यकता परेपनि प्रदेश सरकारले कर्मचारी माग नगरेको गुनासो गरे ।

सङ्घीयतामा सङ्घमा रहनुपर्ने विषय, प्रदेशमा रहने विषय र स्थानीय तहमा हुनुपर्ने विषयको वर्गीकरण भए सङ्घीयता सबलीकरण हुने धारणा राखे । उनीहरूले प्रदेश र स्थानीय तहलाई ५ वर्षसम्म एउटा खुट्टामा उभ्याउने प्रयास भइरहेको बताए । कार्यक्रममा प्रदेशसभा १ का सचिव गोपालप्रसाद पराजुलीले प्रदेश सरकारको काम कानून बनाउने र सरकार सञ्चालन गर्ने भएकोले कामै भएको छैन भन्न नमिल्ने बताए ।

उनले प्रदेश १ ले यो अवधिसम्म ६३ वटा कानून पारित गरेको बताए । उनले प्रदेश सरकारले यो ५ वर्षमा भौतिक पूर्वाधार निर्माण गर्ने काम भनेजस्तो हिसाबले गर्न नसकेको बताए । उनले सङ्घीयताको सबलीकरण र संस्थागत विकासमा जोड दिनुपर्ने बताए ।

सचिव पराजुलीले प्रदेश खारेज गर्नुपर्छ भनेर राजनीतिक घोषणा पत्र लिएर जाने राजनीतिक दलले संविधान अनुसार चुनावमा भाग लिन पाउने हो वा होइन भन्ने कुराको स्पष्टता हुनुपर्ने बताए । सङ्घीयतामा देखिने भनेको प्रदेश रहेको उल्लेख गर्दै प्रदेश बलियो नभएसम्म सङ्घीयताको कार्यान्वयन नहुन बताए ।

कार्यक्रममा प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शिवकुमार कार्कीले प्रदेश आफैँमा आत्मनिर्भर भयो भने केन्द्रको मुख ताक्नु नपर्ने बताए । उनले आत्मनिर्भर प्रदेश भए मात्र सङ्घीयता सफल हुने बताए । उनले प्रदेशलाई एकल करको अधिकार कृषि आयकर मात्रै भएको भन्दै गुनासो गरे ।

उनले प्रदेशले करका दायरालाई कसरी बिस्तार गर्ने भन्ने कुरा चुनौती रहेको बताए । उनले प्रदेशमा कर्मचारीको अभाव धेरै नै रहेको भन्दै सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्थानीय तह र प्रदेशमा पनि हुन नसकेको बताए । कार्यक्रममा प्रदेश १ को खानेपानी तथा सिँचाइ मन्त्रालयका सचिव नविनराज सिंहले प्रदेशमा भएका कर्मचारीलाई पनि काम नपुगेको बताए ।

उनले कर्मचारीले २० प्रतिशत मात्रै काम गरिरहेको भन्दै अहिले भएका कर्मचारीहरूले शतप्रतिशत काम नगरेको बताए । उनले सङ्घबाट आएका कर्मचारीहरू महिनामा हप्ता दिन काम गर्दा भएका कामहरू पूर्ण हुन नसकेको बताए । उनले कर्मचारीसँगै उनीहरूलाई काम पनि थप्नुपर्ने बताए । उनले आवश्यक बजेट विनियोजन हुन नसक्दा समयमै काम सकिन कठिनाइ भइरहेको गुनासो गरे ।

कार्यक्रममा उद्योग, श्रम तथा रोजगार मन्त्रालयका सचिव माधव पोखरेलले प्रदेशलाई एउटा खुट्टामा उभ्याउने काम भएको बताए । उनले राजनीति र प्रशासनसँगै दुवै खुट्टामा प्रदेश र स्थानीय तह उभिनुपर्नेमा प्रशासनलाई बिर्सिएर राजनीतिमा मात्रै उभिने प्रयास भइरहेको टिप्पणी गरे ।

उनले कर्मचारीभित्र पनि धेरै जटिलता सिर्जना भएको भन्दै केन्द्रको निजामती ऐनलाई चाँडो ल्याए मात्र समस्या समाधान हुने बताए । उनले सङ्घीयता अनुसार आवाजमा मात्रै काम भएको तर काम र सुविधाका लागि कार्यक्रम अघि बढाउन नसकेको बताए । उनले सङ्घीयतालाई राजनीतिकरण मात्रै गर्नुपर्नेमा दलीयकरण गरेको आरोप लगाए ।

कार्यक्रममा प्रदेश १ को स्वास्थ्य मन्त्रालयका सचिव अनुज भट्टचनले कर्मचारीतन्त्रमा दलीय राजनीति हुनु नहुने बताए । उनले स्वास्थ्य क्षेत्रमा गहन अध्ययन र अनुसन्धान हुन जरुरी रहेको बताए । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव किशोरकुमार चौधरीले प्रशासनिक सङ्घीयताको कार्यान्वयन गर्ने भनेको कर्मचारी समायोजन गर्ने हो भन्ने सङ्कुचित मानसिकता विकास भएको बताए । उनले संघीय निजामती सेवा अत्यन्त आवश्यक रहेको बताए । उनले सङ्घले नीति, मापदण्ड, अध्ययन र अनुगमनको भूमिका खेल्नुपर्नेमा केन्द्रबाट अन्य प्रदेश र स्थानीय निकायले गर्ने कामहरूसमेत हुने गरेको बताए ।

कार्यक्रममा प्रदेश १ को वन, वातावरण तथा भू संरक्षण मन्त्रालयका सचिव सञ्जीवकुमार राईले कतिपय कानुनका लागि संघीय सरकारमा जानुपर्ने अवस्था रहेको भन्दै प्रदेशलाई अधिकार दिनुपर्ने बताए । उनले प्राकृतिक श्रोत व्यवस्थापनको विषय स्थानीय निकाय, प्रदेश र केन्द्र सरकारसँग पनि जोडिएकाले यसलाई कानुनी रूपमा नै स्पष्ट गर्न आवश्यक रहेको बताए । उनले सबै सरकारसँग प्रशासनिक र राजनीतिक सहमति जरुरी रहेको बताए ।

कार्यक्रममा प्रदेश १ को सामाजिक विकास मन्त्रालयका सचिव दीर्घ राज मैनालीले प्रदेशमा कति मन्त्रालय हुने भन्ने समस्या देखिएको बताए । उनले प्रदेशले अन्तर प्रदेश मन्त्रालयसँग समन्वय गर्दा एउटै नाम नहुनाले समस्या सिर्जना भएको बताए । उनले सङ्घबाट समयमै कानून नबन्दा शिक्षा ऐनमा समस्या खेप्नु परिरहेको बताए ।

उनले संघीय शासन प्रणाली अनुसार शिक्षा ऐन नआउँदा प्रदेश र स्थानीय तहले काम गर्न नसकेको बताए । सचिव मैनालीले सङ्घ र प्रदेश सरकार दुवैले अधिकार तल्लो तहमा नछोड्ने प्रवृत्ति देखिएको बताए । उनले आवश्यकताको प्राथमिकीकरण गरेर अघि बढे मात्रै संघीय संरचना अनुरूप राज्य सञ्चालन हुनसक्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस