एउटा सन्की डाक्टरले भत्काएको मेरो समावेशी मन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एउटा सन्की डाक्टरले भत्काएको मेरो समावेशी मन


१ भाद्र २०७९, बुधबार


संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि मनाउँदै आएको विश्व आदिवासी दिवस अगस्ट ९ तारेखमा पर्छ । संसारभरि फैलिएर मार्जिनमा रहेका आदिवासी जनजातिप्रति राष्ट्र सङ्घको यो रिकग्निसनले गर्दा आजसम्म पहिचानको डिस्कोर्स सेलाएको छैन। एकजना आदिवासी किसानको छोराको नाताले मार्जिनमा रहेका आदिवासी जातजाति र संस्कृतिप्रति मेरो पनि स्वाभाविक आस्था र श्रद्धा छ । भलै बि.सं. २०६४ सालदेखि लागू भएको समावेशिताको फाइदा व्यक्तिगत रूपमा आफू र आफ्नो परिवारले आजसम्म लिएको छैन र लिने उत्कट चाहना पनि छैन । तर आफ्नो समुदायलाई पुगेको फाइदाप्रति खुसी नहुने कुरै भएन । व्यक्तिगत रूपले भन्नै पर्दा यो व्यवस्थाले त मेरो परिवारलाई उल्टो घाटा पो पुगेको छ। एक दशक अगाडिको कुरा हो, मेरै क्लस्टरबाट खुला प्रतिस्पर्धामा ७० प्रतिशत ल्याउनेले पूर्ण छात्रवृत्तिमा महत्त्वपूर्ण प्राविधिक शिक्षा अध्ययनको मौका पायो तर मेरो परिवारको सदस्यले ९० प्रतिशत ल्याउँदा यस्तो सुविधा नपाएको भुक्तभोगी म नै हुँ । कारण थियो यो व्यवस्थाको फाइदा उठाउनकै लागि उसले कक्षा १० एक वर्ष चाहिँ नियोजित तवरले सरकारी विद्यालयबाट एसएलसी गरेको थियो ।

संयोगले विश्व आदिवासी दिवस अगस्ट ९ को वरिपरि अगस्ट १२ गाईजात्राको सार्वजनिक विद्याको दिन पारेर म सिविल हस्पिटलमा स्वास्थ्य परीक्षणको लागि गएको थिए । संयोगले मेरो केस एकजना आदिवासी जनजाति मूलका डाक्टरको इजलासमा परेछ । नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको ती डाक्टरका जातीको सङ्ख्या ५० को हाराहारीमा रहेकोमा ती जातीको डाक्टरको इजलासमा आफ्नो केस परेकोमा मनमनै खुसी थिए । आफ्नो पालो कुरेर बस्दा ती डाक्टरप्रति एक किसिमको गौरवपन मनमा छल्किरहेको थियो । 

जनजाति आन्दोलनका अगुवाहरूले खरिदारको लागि कोटा माग्दा गर्नु परेको दु:ख अलिअलि नियालेरै बसेको मलाई यसरी मार्जिनका मान्छेहरूले पाएको सफलता आफ्नो झैँ लाग्छ । आफ्नो पालो आएपछि डाक्टरको कक्षमा प्रवेश गर्नासाथ नमस्कार भन्दै समयलाई मध्यनजर गर्दै फटाफट आफ्नो समस्याको चुरो कुरो अरू बिरामीको तुलनामा छोटो समयमा राखे । कारण तोकिएको समयभन्दा १ घण्टा पछाडि डाक्टर आएकोले मेरो पछाडि धेरै बिरामीहरू लाइनबद्ध हुनुहुन्थ्यो ।

डाक्टरले केही परीक्षण गराएर पुन: भेट गर्न भन्नुभयो । केही परीक्षण बाहिर गर्न सुझाउनुभयो । त्यहाँबाट निस्केर त्यहीँबाट हुने केही परीक्षणको लागि लामो लाइन छिचोल्दै बिल तिरेपछि ल्याबमा स्याम्पल दिएर निस्के । डाक्टरले सुझाएको बाँकी परीक्षण गराउन नजिकैको एउटा निजी हस्पिटलमा गए । त्यहाँ ३ बजे मात्र डाक्टर आउने भएकोले परीक्षणको लागि त्यतिन्जेल पर्खन रिसिप्सनिष्टले भनिन् । उक्त परीक्षणको लागि शारीरिक तयारी गर्न रिसिप्सनिष्टले हल्का बताए अनुसार तयार भए । करिब ३ : १५ मा डाक्टर आए। 

फेरि संयोग त्यही प्रेस्क्रिप्सन लेख्ने सिभिलकै उनै जनजातिका छोरा डाक्टर रहेछन् । रिसिप्सनिष्टले भनेपछि म परीक्षणमा गए । डाक्टरले ठाडो भाषामा यसो यसो गर्नु भनेर आदेश दिएबमोजिम गरे तर मैले उनले भने बमोजिम गर्न सकिन । मेरो तयारी पुगेन भनेर रिसाउँदै पुन: तयारी गर्न भनियो । डाक्टरको प्रस्तुतीले गर्दा एक प्रकारको डर र धकको कारण मैले सामान्य अवस्थाको तुलनामा ४० % मात्र प्रदर्शन गर्न सके। डाक्टरले त्यही कुरा राम्ररी मोटिभेट गरेर सम्झाएको भए पहिलो पटकमा नै परीक्षण सम्पन्न हुन्थ्यो । पछि ल्याबवालाले दोस्रो पटक परीक्षण गरे । त्यसपछि ती डाक्टर कता गए थाहा भएन, मलाई त्यही हस्पिटलमा ४ बजे अर्को परीक्षण गर्नुपर्ने थियो । यसको लागि रिसिप्सनिष्टको आग्रहबमोजिम शारीरिक तयारी गरियो । दिएको समय घर्कन थाल्यो डाक्टर नआएको कारण मलाई मुस्किल परिसकेको थियो । रिसिप्सनिस्टलाई सोध्दै बसिरहे । 

डाक्टर तोकिएको समयभन्दा ३५ मिनेट ढिला आए । हतार हतारमा डाक्टर आएर सिधै परीक्षण रुममा छिर्नुभयो । लगत्तै मलाई बोलाएर तयारी समस्या सोध्नुभयो । इमर्जेन्सी केस हेर्नुपरेकोले केही ढिला भएको कारण मलाई पर्न गएको समस्यामा सरी भन्दै मिजासिलो व्यवहार मीठो बोली गुणस्तरीय सेवाका साथ मेरो आत्मबल बढाउँदै २५% बढी समय लिएर मिहिन तरिकाले परीक्षण सुरु गर्नुभयो । सायद ती डाक्टर पनि सिभिलकै हुनुपर्छ सोध्न चाहिँ भुलेछु । केही ढिलो भएकोमा अलिअलि उठेको मेरो रिस पनि कता बेपत्ता भयो पत्तै भएन । 

एक घण्टा अगाडिका जनजाति मूलका आफ्नै सम्प्रदायका ती भुईँ न भाडाका रुखो डाक्टर र गैर जनजातिका यी डाक्टर बिच तुलना गर्‍यो  मेरो बिरामी मनले । कति सरल, कति मिजासिलो, कति मीठो बोली, कति सुन्दर मगमगाउँदा गैर जनजातिका डाक्टरका व्यवहार । मैले सबै रिपोर्ट भेला पारेर थप प्रेस्क्रिप्सनको लागि डाक्टरकोमा जान बाँकी नै छ तर मेरो आधा समस्या सहज भइसक्यो त्यो गैर जनजातिका डाक्टरको मीठो बोली र असल व्यवहारले । जब कि जनजाति डाक्टरको व्यवहारले मेरो नर्मल क्षमता ती डाक्टरको अगाडि डर र धकको कारण ४०% मात्र परीक्षण रुममा देखाउन सकेको थिए। 

यसर्थ डाक्टरले पहिले बिरामीलाई मोटिभेट गर्नुपर्दो रहेछ । शारीरिक जाँचभन्दा पहिले ह्युम्यान ट्रिटमेन्ट आवश्यक पर्दो रहेछ । डाक्टरको मीठो बोली मिजासपूर्ण व्यवहार बिरामीको आत्मबल बढाउने तरिकाभन्दा ठुलो अर्को ओखती केही नहुने रहेछ भन्ने कुरा फेरि एक पटक आफ्नै अनुभवले सिकायो । यसरी एउटा डाक्टरको सन्की व्यवहारले समावेशीप्रतिको मेरो मन भत्कियो । सँगसँगै समावेशी डिस्कोर्सप्रतिको आस्थाको धरोहर गर्ल्यामगुर्लुम भएर ढल्यो ।

मलाई यस्तै खालको अर्को घटना पनि सम्झना छ । एकजना मित्रले समावेशी कोटामा अफिसर भर्खरै पास गर्नुभएको थियो । एउटा कार्यक्रममा भेट हुँदा त्यो मित्रले दाइ भनेर परिचय गरेका थिए । ती मित्रले फेरि त्यही भर्याङबाट केही वर्षपछि अर्को तह पास गर्नुभयो । त्यसको केही समयपछि त्यो मित्रले झन्डै उसको काका(मामाको उमेरको मलाई फोनमा बोल्दा फलानाजी (पहिला दाइ भनेको) भन्नुभयो । आफ्नो पदको आधारमा अफिसियल कक्षमा बाउले छोरालाई पनि हाकिम भए हाकिमकै दर्जा दिएर बोल्नुपर्छ तर अनौपचारिक र व्यक्तिगत प्रयोजनको लागि एकाएक बदलिएर फोस्रो औकात देखाउनु कुनैपनि शालीन व्यक्तित्वको लागि सुहाउने कुरा होइन ।

यस्तै अर्को एउटा घटना पनि व्यावसायिक जीवनमा पाएको छु । एकजना निजी अस्पतालका गैर जनजातिका डाक्टरसँग परीक्षण गराउन गएको थिए । उमेरले मभन्दा डेढ दशक कान्छा ती कन्सल्ट्यान्ट डाक्टरभन्दा रूपमा म केही कान्छा झैँ देखिन्थे । त्यही क्रममा केही मिनेटकै भलाकुसारीमा मन जित्दै कुरा यसो पो त लाटा भनेर ती डाक्टरले मेडिकलका कुरा सम्झाए । त्यो सम्बोधनमा ती डाक्टरको तुजुकको अंश शून्य बराबर थियो । त्यस सम्बोधनमा एउटा डाक्टर र बिरामीबिचको सम्बन्ध फ्रेन्डसीपमा बदलिँदै थियो । 

ती डाक्टरको व्यवहारले नै होला उसले प्रेस्क्राइव गरेको औषधिले आजसम्म मलाई त्यो समस्या दोहोरिएको छैन । यसरी लोक सेवाको कोर्स घोकेर व्यावसायिक जीवनमा सिन्को भाँच्न नसक्ने बहिदारी पदधारक र सिविल हस्पिटलको जनजाति जातका ती सन्काहा डाक्टरको व्यवहार बढ्दै गएको देखेको छु । त्यस्ता जनजातिका छोराप्रति कसरी गर्व सकिन्छ ? सबै प्रतिस्पर्धी क्षेत्रलाई आरक्षण हैन कम्पिटिटिभ गियरमै राख्नु उचित हुनेछ । बरु कम्पिटिसनको मोडिलाटी बदल्नु पर्दछ । साँच्ची नै पीडित सम्प्रदायले आपसी सहयोग र सहकार्यका सबै खाले विधि र उपायहरू अवलम्बन गरेर आफूहरूलाई तिखार्नुको अर्को दिगो विकल्प देखिँदैन ।

यी लेखकका नीजि बिचार हुन्

प्रतिक्रिया दिनुहोस