१८ दिनमा १६ कोरोना संक्रमितको मृत्यु, १२ जना खोप नलगाएका « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१८ दिनमा १६ कोरोना संक्रमितको मृत्यु, १२ जना खोप नलगाएका


१९ श्रावण २०७९, बिहिबार


काठमाडौँ । पछिल्ला १८ दिनमा कोरोनाबाट १६ संक्रमितको मृत्यु भएकोमा १२ जना कोरोनाविरुद्धको खोप नलगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु भएकामध्ये १२ जना एक डोज पनि खोप नलगाएका, दुईजना दोस्रो डोज लगाएका र दुईजना बुस्टर डोजसमेत लगाएका थिए । 

‘१ साउनदेखि बुधबारसम्म १८ दिनमा १६ संक्रमितको मृत्यु भएको छ । उनीहरू सबैजसो दीर्घरोगी र ५० वर्ष नाघेका छन्,’ मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘मृतकमध्ये ७५ प्रतिशत खोप नलगाएका छन् ।’ 

नागरिकहरू खोप नलगाएर मरिरहेका छन्, तर दाताले अनुदानमा दिएको दुई लाख डोज कोभिसिल्ड केही दिनअघि मात्रै म्याद सकिएर खेर गएको छ । कोरोना महामारी सुरु भएयता साढे दुई वर्षमा देशभर ११ हजार नौ सय ६८ को मृत्यु भएको छ । 

पछिल्ला दिन संक्रमण बढेसँगै आइसियु र भेन्टिलेटरमा पुग्ने संक्रमित पनि बढिरहेको तथ्याङ्क छ । पाँच हजार दुई सय ७५ सक्रिय संक्रमितमा एक सय ५८ जना अस्पताल भर्ना भएका छन् । उनीहरूमध्ये ४३ आइसियु र दुईजना भेन्टिलेटरमा छन् । आइसियु र भेन्टिलेटरमा जाने संक्रमित क्रमशः बढिरहेको प्रवक्ता अधिकारीले बताए । 

खोप अभियान प्रभावकारी नहुँदा संक्रमण बढ्न थालेको र जोखिममा पर्ने बिरामी पनि बढेका छन् । 

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार १२ वर्षभन्दा माथि लक्षित जनसंख्यामध्ये ९२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । ८८ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् ।

हालसम्म पाँच करोड ८८ लाख ९१ हजार नौ सय ७० मात्रा खोप प्राप्त भएको छ । त्यसमध्ये चार करोड ९४ लाख ९२ हजार एक सय ८५ मात्रा खोप लगाइएको छ । मौज्दात खोपको परिणाम ७१ लाख मात्रा छ । 

Tags :
प्रतिक्रिया दिनुहोस