हजुरको पैसा रिक्सा चलाएर भए नि तिर्छु… « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हजुरको पैसा रिक्सा चलाएर भए नि तिर्छु…


१ श्रावण २०७९, आइतबार


मैले वि.स. २०६७ साल चैतमा एस.एल.सी को परीक्षा दिएको थिए। त्यस बेला एस.एल.सिको छुट्टै चाख र महत्त्व हुन्थ्यो, हुन त आजकाल पनि हुन्छ तर त्यस बेला भनिने फलामे ढोकाको महत्त्व बेग्लै हुने गर्थ्यो । रिजल्टको चासो भने घरका सदस्यलाई भन्दा छिमेकीलाई बढी हुने गर्थ्यो । कसका छोरा छोरीले कति प्रतिशत ल्याए भनेर गाउँ भरिनै एक खालको खैलाबैला, रमाइलो र उत्सुकता हुन्थ्यो । कोही राम्रो प्रतिशत ल्याएर अबिर लाउँदै, लड्डु बाँड्दै हिँड्थे भने कोही नतीजा बिग्रेको कारण कयौँ दिन सम्म घरबाट बाहिर निस्कँदैन थिए, कतिपय त नतीजा बिग्रेकै कारण घर छोडेर भागेको, आत्महत्या गरेको, छोरा मान्छे पास नभए भारततिर काम गर्न गएको र छोरी मान्छे पास नभए पढेर काम छैन भन्दै बिहे गरिदिने गरेको देखिन्थ्यो ।

मेरो पनि २०६८ साल असार पहिलो साता रिजल्ट आयो, घर परिवारलाई मैले पनि त्यति बेलाको व्यापक चर्चित शब्द ‘डिस्टेन्सन’ ल्याउँछु भन्ने आशा थियो, मलाई भने यसमा खासै आस थिएन। अच्चमको कुरा त के छ भने मलाई यो ‘डिस्टेन्सन’ शब्दको अर्थ डिप्लोमा पास भई सकेपछि मात्र थाहा भएको थियो, मैले त्यति बेला यसलाई ‘डिस्ट्रिक्ट सन’ भनेर बुझेको थिए, नेपालीमा ‘जिल्लाको छोरा’। यो ‘डिस्टेन्सन’  शब्दले गर्दा धेरै विद्यार्थीले तनाव, हताश र डरै डरमा परीक्षा दिने गर्थे, किनकि त्यो बेला ‘डिस्टेन्सन’ ल्याएको विद्यार्थीको छरछिमेकमा इज्जत फरक खालको हुने गर्थ्यो र सबैका घर परिवारको चाहाना आफ्नो छोराछोरीले ‘डिस्टेन्सन’  ल्याओस् भन्ने हुन्थ्यो। जुन चाहाना मेरो घर परिवारलाई नहुने भन्ने कुरै भएन।

मलाई कसैले तेरो ‘डिस्टेन्सन’ आउँछ भनेर सोध्दा, मैले हाँस्दै अँ आइहाल्छ नि किन नआउनु भनेर भन्दिन्थे तर  मलाई थाहा थियो मेरो ‘डिस्टेन्सन’ भनेआउदैन ।रिजल्ट आयो, म प्रथम श्रेणीमा उत्तीर्ण भए तर मेरो ‘डिस्टेन्सन’ भने आएन बा आमाको मुख अलि अँध्यारो त भयो नै, अझै थप अँध्यारो पारिदिए प्रिय छिमेकीले कति आयो बाबुको ‘डिस्टेन्सन’  आएन है?बाबु त सधैँ पढेकै देखिन्थ्यो, किन बिग्रेछ त परीक्षा ? म भने प्रथम श्रेणी आएकोमा पनि खुसी नै थिए किनकि मैले चिट नचोरी, कसैको नसारी आफैले ल्याएको नम्बर थियो, अरू केही साथीहरूले ‘डिस्टेन्सन’ नै ल्याए कोही साँच्चै क्षमतावान् थिए र ल्याए, भने केहीले अरूको सारेर नक्कल गरेर ल्याएका थिए ।

त्यसपछि सुरु भयो अब के पढ्ने भन्ने प्रश्नतिर, वास्तवमा भन्नु पर्दा मलाई यै विषय पढ्नु छ भन्नेमा ठोस थिएन । वरापरीकाले सी.ए. पढाउनु पर्छ भन्थे, कोहीले साइन्स पढ्नु पर्छ भने, तर म पुगे वन विज्ञान पढ्न। म वन विज्ञान पढ्नुमा मेरो हजुरबुवा किशोर अर्याल (नाताले हजुरबुवा भन्नुपर्ने तर उहाँ त्यति बेला भने भर्खर २७ वर्ष हुनु भएको थियो, उहाँ त्यसबेला वन अधिकृत भई सक्नु भएको थियो) को धेरै ठुलो योगदान छ, म उहाँलाई देखेर र नै वन विज्ञान पढ्ने रहर गरेको थिए र उहाँ जस्तै बन्ने रहर थियो मेरो । हाम्रो पहिलो भेट स्याङ्जामा भएको थियो,  उहाँले मलाई “त पनि जङ्गली बन्ने भईस है ? सुरसुर धेरै हुन्छ, घुम्न पाईन्छ, पढ्न रामाईलो छ, पढेर जागिर पनि छिट्टै पाइन्छ” भन्दै वन विज्ञान पढ्न थप हौसला दिनु भयो। किशोर हजुरबुवाकै सल्लाह बमोजिम वन विज्ञान पढ्ने त भए तर त्यसै साल देखी त्रिभुवन विश्वविद्यालयले आइ एस्सी फरेष्ट्री हटाएकोले सी.टी.इ.भि.टी तर्फको प्राइभेट कलेज काठमाडौँ फरेष्ट्री कलेजमा डिप्लोमा इन फरेष्ट्रीमा इन्ट्रान्स दिए र उत्तीर्ण पनि भए।

नाम त निस्क्यो तर पढ्न काठमाडौँ जाने, कलेजको पढाई खर्च, कोठामा बस्दा खाँदाको खर्च यो सब मेरो लागी सपना जस्तै थियो, कारण मेरो घरको आर्थिक स्थिति त्यत्ति राम्रो नहुनु। वास्तवमा भन्नु पर्दा त्यस बखत मेरो घरको क्षमता मलाई काठमाडौँ राखेर पढाउने कुनै प्रकारले पनि थिएन, तर त्यसका बाबजुद मेरा आमा–बाले आफ्नो हैसियत भन्दा माथि उठेर धेरै दुःख, परिश्रम, मिहिनेत, र छर छिमेकमा ऋण गरेर मलाई काठमाडौँ राखेर तिन वर्ष पढाउनु भयो, मलाई लाग्छ सायद ती वर्षमा उहाँहरूले एक सरो कपडा नि किन्नु भएन, एक छाक मिठो नि खाना नि खानु भएन। थोरै धेरै जे हुन्थ्यो छोरालाई नै पठाउन पाए हुन्थ्यो भन्ने लाग्दो हो उहाँहरूलाई। म काठमाडौँ आएर पढ्न पाउनुको मुख्य कारण हो, मेरी आमाको दृढ सङ्कल्प र पढाई प्रतिको  मोह। मेरी आमाको आठ जना दिदी बहिनी मात्रै हुनुन्थ्यो, हजुरबाको छोरा पाउने चाहानाले गर्दा आठ जना दिदी बहिनी भएको कुरा मेरी आमाले भन्ने गर्थिन। सानै देखी आँठ दिदी बहिनी मध्ये पढाइमा अब्बल थिइन् मेरी आमा। ठुलो परिवार, अभाव, गरिबीका कारण मेरी आमाले पनि एस.एल.सी भन्दा धेरै पढ्न सकिनन्।

म सानै छदा देखी मेरी आमाले मलाई भन्ने गर्थिन “हामी दिनभरी घरखेतको काम गरेर राति टुकी बालेर पढ्दा त बुवाले मट्टितेल सकिन्छ नानी धेरै नबाल भन्नुहुन्थ्यो अहिले तिमीहरुलाई यस्तो झिल्झील्ती बत्ती हुदा नि पढ्दैनौ हामीले यस्तो बत्ति पाएको भए कत्ति धेरै पढ्थ्यौ होला”। हुन पनि घरको नाजुक अवस्था कै विच वि.स. २०४६ सालमा एस.एल.सी मा कपिलवस्तु जिल्लाबाट राम्रो अङ्कका साथ उत्तीर्ण भएकी मेरी आमा पारिवारिक स्थिति र त्यस बेला महिलालाई घरबाहिर गएर पढ्न छुट नदिने भएकोले आमाले ठुला-ठुला अवसरहरू पाउँदा पनि पढ्न जान सकिनन्। मलाई कहिले काहीँ मेरी आमाको उमेरका उच्च ओहोदाका महिलालाई देख्दा लाग्छ काश मेरी आमाले नि पढ्न पाएकी भए अहिले कुनै जिल्लाको सी.डी.यो. वा कुनै प्रसिद्ध क्याम्पसको प्रोफेसर हुन्थिन होला तर पारिवारिक परिस्थितिले गर्दा हुन सकिनन्। मैले मेरी आमाबाट धेरै सिकेको छु, एकदम आटँली छन् मेरी आमा, अझै पनि कहिले काहीँ म आत्तिन्छु तर मेरी आमा भने अझै म छु पिर नगर भन्छिन्। मलाई पनि लाग्छ हुन पनि हो संसारले त्यसै आमाको वर्णन किन गरेको हो र?आमा शब्द नै अनमोल छ हामी सबैका लागी।

यो लेख लेख्नुको पछाडि एउटा किस्साको गहिरो सम्झना छ त्यो के हो भने, “आमा म हजुरको पैसा रिक्सा चलाएर भए नि तिर्छु”भन्ने वाक्य।आमाले सबै दु:ख, कष्ट, ऋण धन गरेर काठमाण्डौँ त पठाउने भइन तर आमालाई ठुलो डर भनेको दुईवटा कुराको थियो, एउटा के थियो भने यति धेरै आशा गरेर पढ्न पठाइएको छ, कस्ता-कस्ता मै हु भन्ने काठमाडौँ गरेर बिग्रेर आएका छन्, कतै यो पनि बिग्रने त होइन? अर्को चाही त्यति बेला काठमाण्डौँको नेवारनी केटी भगाउने अनि बिहे गर्ने गरेको धेरै सुन्थ्यो त्यसैले कतै यसले पनि कोही ल्याई पो हाल्छ कि? भन्ने डर। त्यै डरै डरले आमाले मेरो व्रतबन्ध समेत गराएर राजधानी पठाएकी थिइन। ताकी छोराले ल्याइ हाल्यो भने नि रित पूर्वक नै होस भन्ने लगेर।

“त पढ्न त सक्छन नि?नपढेर बिग्रीस भने त हामी मरे पनि हुन्छ, हामी बाच्नुको कुनै अर्थ छैन, दायाँ बायाँ लाउलास् नि, लव सब गरेर ल्याउलास् नि”भनेर आमाले मलाइ भनिन्, मलाई नि खै के सुर चल्यो मैले त्यति बेलै भने “यदि पढ्न सकिनछु भने हजुरको पैसा रिक्सा चलाएर भए नि तिर्छु”र आमाकै कसम खाएर भने “तिमी जस्तो केटी भन्छ्यौ, जहाँ भन्छ्यौ जसलाई भन्छ्यौ उसै सँग आखाँ चिम्लेर बिहे गर्छु”भनेर हिडे काठमाण्डौँतिर।

अहिले म वन विभाग अन्तर्गत फरेष्टर पदमा सरकारी सेवा गरेको ६ वर्ष भई सकेको छ। मैले बिहे पनि मेरी आमाले नै रोजेको केटी सित गरेको एक वर्ष पुरा भयो।

आज भोलिमा एस.ई.ई. को नतिजा आउँदै छ, धेरै भाइ बहिनी हरू एकदम उत्सुक हुनु भएको होला आफ्नो नजिता हेर्नको लागी। भाइ बहिनीहरूलाई मेरो सल्लाह भनेको पढ्न जुन विषय पढे पनि हुन्छ सबै विषय राम्रो छ, तर जे पढ्नु हुन्छ त्यसमा आफू अब्बल भएर निस्कनुस्। साइन्स पढेर मात्र सफल भइन्छ भन्ने छैन, आर्ट्स, एजुकेसन पढेका पनि सफल भएका छन्।

सफलता भनेको तपाईँको एस.ई.ई. को नजिताएको आधारमा निर्धारण गरिन्न। यो त ट्वान्टी ट्वान्टी क्रिकेट खेलेको जस्तै हो, सके सम्म राम्रो खेल्दै जाने हो, यसको लेखा जोखा भनेको इनिङ सकेपछि मात्र हुन्छ, भन्नाले उमेरले ६० कटेसी मात्र त्यसपछि गर्ने हो हिसाब कसले कति सफलता पायो भनेर । नतिजा विग्रेयो भनेर हतासिने आत्तिने नर्गनुस, फेरी दिएर राम्रो अङ्क ल्याउनुस्, किन भने अब बल्ल तपाईँहरूको जीवन सुरु भएको छ, यस्ता परिस्थिति अझै धेरै आउँछन्, मेहनत गर्नुस् हिम्मत नहार्नुस्, मैले गर्नै पर्छ, म जसरी नि गर्न सक्छु, अरूले सक्नी मैले नसक्नी हुन्छ? म पनि अरू जस्तै जान्नी छु, भन्ने खालको सोच राखेर अगाडी बढ्नुस् जीत तपाईँकै हुनेछ ।

प्रतिक्रिया दिनुहोस