वन डढेलो : समस्या एक असर अनेक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वन डढेलो : समस्या एक असर अनेक


३ जेष्ठ २०७९, मंगलबार


विश्वका कुल १९५ देशहरूमध्ये जैविक विविधतामा संसारकै २५ औ र एसियाको ११ औ धनी राष्ट्र हो नेपाल। भूगोलको हिसाबले मध्यम धरातलिय भएतापनी हावापानीको विविधताले नेपाल संसारमै परिचित छ। देशको कुल भू-भाग १,४७,५१६ वर्ग किलोमिटर मध्ये करिव ४५.३१% (वन क्षेत्र ४१.६९% र अन्य काष्ठ तथा बुट्यान क्षेत्र ३.६२%) क्षेत्रफल वन जङ्गलले ढाकेको भएता पनि सही रूपमा प्राकृतिक श्रोत र साधनको सदुपयोग नहुँदा विदेशबाट अर्बको काठ आयात गर्नुपर्ने बाध्यता रहेको छ भने अर्कोतर्फ गर्मी याममा हरेक वर्ष अर्बको काठ जलेर, सडेर खेर गइरहेको छ।

विगतमा वन क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा उल्लेखनिय योगदान रहेता पनि आधार वर्ष २०७५।०७६ मा १.७७% मात्र रहेको छ। आगामी आर्थिक वर्ष २०८०।८१ मा २.१ % पुर्‍याउने लक्ष रहेको छ। जुन लक्ष्यमा पुग्न हरेक वर्ष तीव्र रूपमा ढलापडा काठ, दाउरा सङ्कलन रवन क्षेत्रमा हुने डढेलो नियन्त्रण गर्नु पनि आजको आवश्यकता देखिन्छ। वन, जङ्गलमा आगलागी हुनाले जनधनको क्षति मात्र हैन, यहाँ रहेका, लोप हुन लागेका प्रजाति सधैँको लागि विलुप्त हुने र यसले गर्दा पर्यावरणलाई नै असर पुर्‍याउछ।

ठुला जीवजन्तुहरू आगलागी हुँदा बच्न सक्ने सम्भावना धेरै रहेता पनि तिनीहरूका बच्चा, स-साना घस्रने, झाडी, खर बारी जस्ता ठाउँहरूमा आफ्नो सम्पूर्ण जीवन व्यथित गर्ने प्राणीहरू सधैँका लागि हामीबाट टाढा हुने स्थिति सृजना हुने गरेको छ।जस्तो आगलागीको मुख्य कारण नयाँ घाँस, वनमा प्रशस्त मात्रामा च्याउ उम्रिने आसँ, सर्प, बिच्छीको डर कम गर्न भनि लगाएको धेरै नै स्थानीय आम मानिसबाट सुन्नमा आएको पाइन्छ। यसरी अनेक बहानामा वनमा लाग्ने डढेलोका कारण खेर गइरहेको काठ अर्थात् ढलापडा तथा सुखड खडा रुखहरूबाट उत्पादित काठ, दाउरा सङ्कलन गर्न सकेको खण्डमा डढेलोबाट क्षति कम र विदेशी काठ आयात घट्नुका साथै वन क्षेत्रबाट प्राप्त हुने राजश्व रकम वृद्धि हुने देखिन्छ।

नेपालमा वन विनाशको प्रमुख कारणहरूमा वन अतिक्रमण,वन फडानी,अव्यवस्थित बसोबास तथा भौतिक पूर्वाधार निर्माण, अनियन्त्रित चरिचरण र अनियन्त्रित वन डढेलोहरू पर्दछन्।जसमध्ये सबै भन्दा धेरै क्षति वन डढेलोबाट नै हुने गरेको छ। सामान्यतया डढेलो भन्नाले वन जङ्गल, भिर पाखा, घाँसे मैदान तथा खरवारिमा अनियन्त्रित तवरले लाग्ने आगोलाई जनाउँछ। प्राकृतिक कारणबाट वा कसैले जानीजानी वा अनजानमा कुनै उद्देश्य प्राप्त गर्न वा उद्देश्यविहीन भएर वनमा आगो बाल्दा वा आगो सल्काउँदा उक्त आगो बिस्तारै बिस्तारै फैलिएर अनियन्त्रित भई वन र वन्यजन्तुलाई ठुलो हानी नोक्सानी पुर्‍याउने आगोको विकृत एवं विशाल रूप नै डढेलो हो।

नेपालको सन्दर्भमा वन जङ्गलमा डढेलो मुख्यतया दुई कारण रहेका छन्,प्राकृतिक कारण र मानवीय कारण। विभिन्न अध्ययन तथा सामाग्रीहरू अनुसार यी कारण मध्ये १ प्रतिशत भन्दा पनि कम प्राकृतिक कारणले भने ९९ प्रतिशत भन्दा बढी मानवीय क्रियाकलापका कारणले लाग्ने गरेको पाइन्छ।

मानवीय हस्तक्षेप बिना नै प्राकृतिक रूपले जस्तै चट्याङ परेर, ढुङ्गा पल्टिदा ठोक्किएर अथवा  सुकेको बासँहरु एक आपसमा जोडले ठोक्किँदा उत्पन्न हुने धर्षणले, ज्वालामुखी एवं ठुलो भूकम्प जाँदा निस्कने आगोको ज्वालाका कारणले र सूर्यको ताप लेन्स जस्ता बस्तुमा पर्न गई वन जङ्गलमा अनियन्त्रित तवरले आगो लाग्नु नै प्राकृतिक कारणले लाग्ने वन डढेलो हो,भने जानी जानी वा इच्छित तवरले जस्तै राम्रो भुईँ घाँस उमार्न, गैर काष्ठ वन पैदावार सङ्कलन गर्न, वन्यजन्तुको सिकार खेल्न, सुकेको काठ दाउरा निकाल्न, रिसिइवी साँध्ने उद्देश्यले, खेतबारी मलिलो बनाउन, वन अपराध सम्बन्धी दसी प्रमाण नष्ट गर्न हिंस्रक वन्यजन्तु धपाउन, खोरिया फडानी गरी खेती गर्न जानी जानी आगो लगाइने गरेको पाइएको छ। तर कहिले काहीँ दैनिक कार्य गर्ने सिलसिलामा अचानक,झुक्किएर भुलवश वा दुर्घटनावश जस्तै खेतबारी सफा गर्न लगाइएको आगो अनियन्त्रित भई वनमा प्रवेश गर्दा, वनभोज जाँदा जथाभाबी आगो सल्काउँदा,चुरोट बिडी सलाइका काँटी ननिभाई वनमा फ्याँक्दा,वन भित्र बाट जाने बिद्युत् लाइन सर्ट भएर निस्कने झिल्का वनमा सल्कदाँ र अरिङालको गोलो पोल्दा वा मह काढ्दा आगो बाली ननिभाई छोड्दा लाग्ने आगोलाई दुर्घटनात्मक वन डढेलो भनिन्छ।

नेपालको सन्दर्भमा विशेष गरी हावा हुरी र सुख्खा मौसमको समय सामान्यतया फाल्गुन देखी जेठ महिना सम्म धेरै आगलागीका घटना हुने त्यसमा पनि विशेष गरी मध्य चैत देखी मध्य वैशाख सम्म बढी डढेले लाग्ने गरेको वन तथा भू- संरक्षण विभागको तथ्याङ्कले देखाएको छ। 

गत चैत्र १५ देखी वैशाख १५ सम्मको तथ्याङ्क हेर्ने हो भने सबै भन्दा बढी डढेलोको घटना लुम्बिनी प्रदेशमा ३९% भएको देखिन्छ भने सबै भन्दा कम मधेस प्रदेशमा १% भएको देखिन्छ र सबै भन्दा धेरै डढेलोको घटना गत वैशाख १४ गते देशभरिका २१ वटा जिल्लाको १०८ स्थानहरूमा वन डढेलो लागेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्याङ्कले जनाएको छ। डढेलोले प्रायजसो देशको पश्चिमी भू-भागको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा असर पुर्‍याएको देखिन्छ।

नेपालमा पारिस्थितिकिय प्रणालीको संरक्षण, सम्बर्द्धन र व्यवस्थापन गर्ने उद्देश्यले १२ वटा राष्ट्रिय निकुञ्ज, १वटा वन्यजन्तु आरक्ष, १वटा सिकार आरक्ष र ६ वटा संरक्षण क्षेत्र गरी जम्मा २० वटा संरक्षण क्षेत्रहरू स्थापना भई संरक्षण र व्यवस्थापनका कार्यहरू गरिरहेका छन्। देशको कुल भू भागको २३.३९ प्रतिशत ओगटेको संरक्षण क्षेत्रहरू मध्ये ३० प्रतिशत वन डढेलो संरक्षण क्षेत्र भित्रको वनमा लागेको देखिन्छ भने बाँकी ७० प्रतिशत वन डढेलो संरक्षित क्षेत्र बाहिरको वनमा लागेको तथ्याङ्कले देखाउँछ।नेपालमा बर्सेनि सरदर २,५०० भन्दा बढी डढेलोका घटना हुन्छन्, जसबाट झन्डै २ लाख हेक्टर बन क्षेत्रमा हानी हुन्छ। यो भनेको चितवन राष्ट्रिय निकुञ्ज भन्दा दुई गुणा बढी क्षेत्रफल हो . वन डढेलो बाट अति संवेदनशील जिल्ला भनेर अर्घाखाँची, बाँके, बर्दिया, चितवन लगायतका१३ वटा जिल्लाहरू र संवेदनशील भनेर अछाम, बारा, डडेलधुरा, दाङ लगायतका १७ वटा जिल्लाहरूलाई मानिएको छ।

गत साल मात्र २४०० भन्दा बढी वन डढेलेका घटना भएको थियो जसबाट लगभग १०० जना मानिस र ४३२ वटा चौपायाको मृत्यु भएको छ भने, २ अर्ब भन्दा बढी सम्पत्तिको हानी नोक्सानी भएको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थपन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाउछ। वन डढेलोका कारण मानिसको स्वास्थ्य र वाताबरणमा पर्ने असरबारे भने अझै सम्म निक्यौल गरिएको छैन। प्राधिकरणका अनुसार अझै पनी देशको धेरै स्थानमा वन डढेलो सक्रिय रहेकोले यसबाट भएको क्षतिको पूर्ण विवरण तत्काल उपलब्ध नहुने देखिन्छ। वनमा लाग्ने डढेलोका कारण वन जंगलको क्षति मात्र नभई सर्वसाधारणको जन धनको क्षति हुनुका साथै वन्यजन्तु र पर्यावरणमा समेत ठुलो क्षति पुग्ने भएकोले वन डढेलोको रोकथाम तथा न्युनिकरणको लागी सम्बन्धीत निकाय समयमै सगज हुनु आवश्यक रहेको विज्ञहरुको भनाई छ।

वन डढेलोले सबै जैविक वस्तुहरू (वनस्पति तथा वन्यजन्तुहरू) र अजैविक वस्तुहरू (माटो, ढुङ्गा तथा वातावरण) लाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर पुर्‍याइरहेको हुन्छ । मुख्यतया: डढेलोले वन जङ्गलको विनाशजस्तै काठ, दाउरा, घाँस एवं गैर काष्ठ वन पैदावारको नोक्सान, स-साना बिरुवा मर्ने, वनको पुनरुत्पादनमा ह्रास आउने, जैविक विविधतामा ह्रास आउने ।वातावरणीय असर जस्तै वायुमण्डलीय प्रदूषण, वर्षाको अनियमितता, जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीमा असर हुने गर्दछ साथै सामाजिक तथा आर्थिक असर जस्तै माटोको उर्वराशक्ति ह्रास आउने, विकास निर्माण कार्यमा असर, वन नजिक रहेका बस्तीमा क्षति हुने, बहुमूल्य वनस्पति एवं वन्यजन्तुको नाश हुने गर्दछ।

वन डढेलोबाट जैविक विविधतामा क्षति पुग्ने मात्र नभई डढेलोबाट निस्कने धुवाँको मुस्लोमा कार्बनडाईअक्साईड, कार्बनमोनोअक्साईड, मिथेन र अन्य प्राङ्गारिक ग्याँसहरू पैदा हुने र यिनीहरूका कारण वायुमण्डलमा रहेको ओजन तहमा क्षति पुग्न गई वायुमण्डलको तापक्रममा वृद्धि हुने मानिसहरूमा श्वासप्रश्वास सम्बन्धी रोगहरू लाग्न सक्ने समग्र मानव अस्तित्वलाई नै नकारात्मक प्रभाव पार्ने समस्याहरू उत्पन्न हुन सक्छन्।

नेपालमा हाल २३,००० भन्दा बढी सामुदायिक वन उपभोक्ता समूहहरू, कबुलियती वन गरिबिको रेखा मुनी ७६०७, साझेदारी वन ३१, वन संरक्षण क्षेत्र १०, धार्मिक वन १७९, मध्यवर्ती सामुदायिक वन ७१६, संरक्षण सामुदायिक वन २४०, मध्यवर्ती कबुलियती वन ५४, संरक्षण कबुलियती वन २१, मध्यवर्ती धार्मिक वन ६, संरक्षण क्षेत्र व्यवस्थापन समितिहरूले व्यवस्थापन गरेको वन ८५ गरी ३१,४६८ वटा समुदायमा आधारित वन व्यवस्थापन पद्धतिमा वन व्यवस्थापन भई रहेको वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ का अनुसार नेपालको कुल वन क्षेत्रको ५१%(२१,८०,००० हेक्टर) वन उत्पादनमूलक वैज्ञानिक वन व्यवस्थापन गर्न उपयुक्त रहेको छ। आ.व. २०६८/६९ देखि नेपालमा वन संवर्द्धन प्रणालीमा आधारित वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएको हो। कपिलवस्तु जिल्लास्थित तिलौराकोट साझेदारी वनबाट वैज्ञानिक वन व्यवस्थापन कार्यको सुरुवात भएको हो । आ.व. २०७६/०७७ सम्ममा सात वटै प्रदेशका ६२ जिल्ला तथा ६८ डिभिजन वन कार्यालय अन्तर्गत ७९० वटा सामुदायिक वन उपभोक्ता समूहहरुको कुल १,९७,५२४=१९ हेक्टर वनको वैज्ञानिक वन व्यवस्थापन कार्ययोजनाहरु स्वीकृत भएका छन्।

हाल नेपाल सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१खारेज गरेको छ।वैज्ञानिक वन व्यवस्थापनको नाममा अनियमितता भएको भन्दै सरकारले वैज्ञानिक वन व्यवस्थापन लागू भएको क्षेत्रमा काठ कटान कार्य रोकेको छ।त्यस पश्चात् वैज्ञानिक वन व्यवस्थापन कार्य योजना लागु भएका सामुदायिक वनमा वन व्यवस्थापन गर्न असहज भई रहेको छ। वन व्यवस्थापनको अन्योलका कारण सुखड रुखहरूको सङ्ख्या बढ्दै गइरहेको र ढलापडा काठहरू सङ्कलन नहुँदा डढेलोबाट नास हुने सम्भावना बढिरहेको छ । वन क्षेत्रमा काठ सड्ने र वन डढेलोबाट विनाश हुने तर बजारमा काठको अभाव बढ्दै गइरहेको दिगो वन व्यवस्थापनको राष्ट्रिय मापदण्ड सहितको कार्यविधि छिटो भन्दा छिटो लागु गर्नुपर्ने देखिन्छ।

डढेलो नियन्त्रण, व्यवस्थापनको लागी वन तथा वातावरण मन्त्रालय/वन तथा भू संरक्षण विभाग/डिभिजन वन कार्यालयबाट बर्सेनि कार्यक्रमहरू सञ्चालन भएता पनि त्यसबाट खासै ठुलो उपलब्धि भने देखिएको छैन। वन डढेलो व्यवस्थापनमा देखिएको मुख्य चुनौती भनेको आगो निभाउन आधुनिक उपकरण, औजारहरू नहुनु, दक्ष जनशक्तिको कमी, भौगोलिक बनोट, ऐन नियममा डढेलो सम्बन्धी छुट्टै व्यवस्था नहुनु र डढेलो नियन्त्रणमा राज्यको लगानीको कमी नै हो।

रुढीवादी परम्परा, प्रचार प्रसारको कमी, स्थानीय स्तरमा डढेलो सम्बन्धी जनचेतनाको कमी, डढेलो सम्बन्धी समयमै सूचनाको आदान प्रदान गर्न नसक्नु, गरिबी, अशिक्षा, स्थानीय स्तरमा उपलब्ध डढेलो नियन्त्रण सम्बन्धी स्रोत साधनको सदुपयोग गर्न नसक्नु, नीति नियमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्नुका कारण देशले दिन प्रति दिन डढेलोले वन विनाश तथा सार्वजनिक सम्पत्तिको हानी नोक्सानी व्यहोर्नु परेको छ।

वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका कार्यक्रमहरू जस्तै गोष्ठी, तालिम, नाटक कार्यक्रम सञ्चालन गर्न, सबै खाले राष्ट्रिय वनहरूमा अग्नि रेखा तथा वन पथ निर्माण तथा सरसफाइ, डढेलो नियन्त्रण टोली परिचालन, वन गस्ती, डढेलोको खबर समयमै सम्बन्धित निकायमा पुर्‍याउन, स्थानीय स्तरका जन समुदायको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ, यसको लागी सरकारी, गैर सरकारी केन्द्रीय, स्थानीय, सबै निकायहरु र सुरक्षा निकायहरू बिच समन्वय हुनु आवश्यक छ।वन मन्त्रालय/वन विभाग/डिभिजन वनले वन डढेलो अपराध सम्बन्धी व्यापक रूपमा जनचेतना फैलाउँदै स्पष्ट ऐन नियम बनाई लागु गर्न सकेमा वन डढेलो नियन्त्रण गर्न केही सहज हुने देखिन्छ।

वन डढेलो नियन्त्रणमा सर्वप्रथम आम नागरिक आफैमा सचेत र सजग भई प्राकृतिक श्रोत सबैको साझा सम्पत्ति हो भन्ने आत्मबोध गरी वन जङ्गल अहिलेको पुस्तालाई मात्र नभई पछिल्लो पुस्तालाई समेत आवश्यक पर्छ भन्ने कुरा बुझेमा र राज्यले यसमा पर्याप्त लगानी गरी दक्ष वन प्राविधिकबाट नियन्त्रणका प्रयास गरेमा अहिले भन्दा ५० देख ७० प्रतिशत सम्म वन डढेलोको घटनामा कमी ल्याउन सकिन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस