मतदान गर्न काठमाडौँबाट गाउँ फर्किनेको लर्को « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मतदान गर्न काठमाडौँबाट गाउँ फर्किनेको लर्को


२८ बैशाख २०७९, बुधबार


काठमाडौँ। स्थानीय तहको चुनाव आउन अव दुई दिन मात्र बाँकी छ । निर्वाचनका लागि मतदान गर्न काठमाडौँबाट घर फर्किने क्रम ह्वात्तै बढेको छ । कोटेश्वर र बालाजुको माछापोखरी क्षेत्रमा घर फर्किनेहरूको भीड छ ।

ती क्षेत्रमा मानिसहरूको ठुलो भीड बढेपछि केहीबेर ट्राफिक जामको अवस्था छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विगत केही दिनदेखि नै काठमाडौं उपत्यकाबाट जिल्ला फर्किनेहरूको सङ्ख्या बढेको छ । तर आजबाट कतिपय विद्यालयहरू पनि बन्द भएकाले विद्यार्थी र उनीहरूका अभिभावकहरू जिल्ला फर्किने क्रम ह्वात्तै बढेको छ ।

कतिपयले गाडी रिजर्भ गरेर मानिसहरू गाउँसम्म ओसारिरहेका छन् । ‘कोटेश्वर, जडीबुटी क्षेत्र र माछापोखरी क्षेत्रको सडक केही साँघुरो भएको र घर फर्किन चाहनेहरूको भीड सडकमै आइदिनाले ट्राफिक व्यवस्थापनमा सामान्य समस्या देखिएको छ,’ ट्राफिक प्रहरी कार्यालयका एक अधिकारीले भने ।

मतदाता नामावलीमा आफ्नो नाम जहाँ छ, त्यहीँबाट मात्र मतदान गर्न पाइने भएकाले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न उपत्यका छाडेर घर फर्किएको उनीहरूले बताएका छन् ।

ट्राफिक प्रहरीका अनुसार कोटेश्वर जडीबुटी हुँदै बाहिरिने सवारी साधन र नयाँ बसपार्क क्षेत्रबाट बाहिरिने सवारी साधनहरू क्यूमा चलिरहेका छन् ।

काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रु र सवारी साधनहरूको सङ्ख्या बढी भएका कारण ती स्थानमा क्यु रहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस