हत्या आरोपी तीन वर्षपछि पक्राउ « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

हत्या आरोपी तीन वर्षपछि पक्राउ


२२ बैशाख २०७९, बिहिबार


पक्राउ

काठमाडौँ । कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका फरार अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ ।

पक्राउपर्नेमा काठमाडौँको नैकाप बस्ने सिन्धुलीको कमलामाई नगरपालिका–१० का २५ वर्षीय मुण्डा भन्ने सरोज सुन्दास रहेका छन् ।

काठमाडौँ महानगरपालिका–३२ तिनकुनेस्थित गैरीगाउँको पेट्रोलपम्प नजिक महेश परियार, मनिष बानियाँ र सरोज सुन्दाससमेतले २०७५ मङ्सिर ८ गते चक्कु प्रहार गरी बिक्की थेबे लिम्बुको हत्या गरेको र अनिल श्रेष्ठलाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

घटनापश्चात् फरार रहेका सुन्दासलाई नैकापमा लुकिछिपी बसिरहेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरी कानूनी कारवाही अघि बढाएको आज एक सूचना जारी गरी जनाइएको छ ।

उक्त घटनामा संलग्न महेश परियार र मनिष बानियाँलाई घटना भएकै दिन काठमाडौँको तारकेश्वर नगरपालिका–१ साङ्लाबाट नियन्त्रणमा लिइ जिल्ला अदालत काठमाडौँको फैसलाले जन्म कैद सजाय भोगिरहेका छन् । सुन्दासलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौँ पठाइएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस