नेपालको आफ्नै ‘भर्चुअल’ मुद्रा सम्भव « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

नेपालको आफ्नै ‘भर्चुअल’ मुद्रा सम्भव


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । नेपालको आफ्नै भर्चुअल मुद्रा (करेन्सी) सम्भव रहेको अध्ययन प्रतिवेदनले निष्कर्ष निकालेको छ । आफ्नै भर्चुअल मुद्रा (डिजिटल करेन्सी) ल्याउन नेपाल राष्ट्र बैङ्कले अध्ययन सुरु गरेको थियो ।

अध्ययनको प्रारम्भिक निष्कर्षमा नेपालको आफ्नै भर्चुअल मुद्रा बनाउन सम्भव रहेको देखिएको छ । तर यसका लागि धेरै कानुनी तथा नीतिगत व्यवस्थाहरू भने गर्नुपर्ने अध्ययनले औँल्याएको छ ।

पछिल्लो समय क्रिप्टोकरेन्सी जस्ता भर्चुअल मुद्राहरूलाई अवैध कारोबार भन्दै कारबाही सुरु गरेको राष्ट्र बैङ्कले आफ्नै डिजिटल करेन्सी ल्याउन एक निर्देशकको संयोजकत्वमा समिति नै बनाएर अध्ययन सुरु गरेको थियो ।

एक महिनाको समय सीमा दिएर ४ फागुनमा अध्ययनको जिम्मा दिइएकोमा ढिला गरेर समितिले अध्ययन सकेको हो । अध्ययन सम्पन्न भए पनि समितिले राष्ट्र बैङ्कले बुझाएको भने छैन ।

मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशन रेवतीप्रसाद नेपालले पनि अध्ययन लगभग सकिएको बताए । उनले एक हप्ताभित्र अध्ययन प्रतिवेदन तयार हुने बताएका छन् । नेपालमा अवैध भनिए पनि पछिल्लो समय धेरै मुलुकहरूमा डिजिटल मुद्राको कारोबार हुने गरेको छ । बिट क्वाइन, क्रिप्टोकरेन्सी जस्ता मुद्राहरू नेपालमा भने अवैध हुन् ।

भारतले चालु आर्थिक वर्षको बजेटमा नै समावेश गरेर आफ्नै डिजिटल करेन्सी ल्याउने घोषणा गरिसकेको छ । छिमेकी मुलुकलेसमेत आफ्नै डिजिटल करेन्सी ल्याउने घोषणा गरेपछि नेपालमा पनि यसबारे अध्ययन सुरु भएको थियो ।

राष्ट्र बैङ्कले आफ्नै भर्चुअल मुद्रा ल्याउन अध्ययन सुरु गरे पनि बिटक्वाइन, क्रिप्टो करेन्सी, हाइपर फण्ड जस्तामा गरिएको लगानी अहिलेसम्म गैर कानुनी नै हुन् । कानुनले बन्देज लगाएका क्षेत्रमा लगानी नगर्न राष्ट्र बैङ्कले अनुरोध गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस