स्थानीय तह निर्वाचन : कञ्चनपुरमा आचारसंहिता विपरीत प्रचार सामग्री « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

स्थानीय तह निर्वाचन : कञ्चनपुरमा आचारसंहिता विपरीत प्रचार सामग्री


२२ बैशाख २०७९, बिहिबार


कञ्चनपुर । स्थानीय तह निर्वाचनका लागि जारी आचारसंहिताको जिल्लामा पूर्णरूपमा पालना हुन सकेको छैन । राजनीतिक दलहरुले आचारसंहिताविपरीत प्रचार सामग्री ठाउँठाउँमा टाँस गरेका छन् ।

सार्वजनिक स्थान, सार्वजनिक सवारीसाधन, निजी आवासमा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित प्रचार सामग्री टाँस गरिएका छन् । अटोरिक्सा, निजी सवारीसाधन, ढुवानीका साधनमा समेत उम्मेदवारको चुनाव चिह्न अङ्कित झन्डा राखिएका छन् ।

यहाँका झलारी, दैजी, सुडा, महेन्द्रनगर, गुलरिया, बेलौरी, चवन्नी, आइबिआरडीलगायतका बजार क्षेत्र र ग्रामीण क्षेत्रका सडकमै चुनावमा सहभागी राजनीतिक दलहरूले उम्मेदवारका प्रचार सामग्री झुन्ड्याएका छन् ।

आचारसंहिता पालना भए/नभएकोबारे अनुगमन कार्य प्रभावकारीरूपमा नगरिँदा उल्लङ्घनका कार्य भइरहेको स्थानीय मतदाताको भनाइ छ । निर्वाचनमा सहभागी उम्मेदवारका समर्थनमा र्‍यालीलगायतका कार्यसमेत भइरहेका जनाइएको छ ।

आचारसंहिताअनुसार कसैको पक्ष–विपक्षमा सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने नियम भए पनि सामाजिक सञ्जालका वाल प्रचार सामग्रीले रङ्गिएका छन् ।

उम्मेदवारले आधिकारिक पेजमा मात्रै प्रचार गर्न पाउने नियम रहेको छ । राजनीतिक दलका कार्यकर्ताहरुले आचारसंहिता विपरीत सामाजिक सञ्जालमा उम्मेदवारका पक्षका प्रचार सामग्री राखेर प्रचार–प्रसारको कामलाई तीव्र बनाएका छन् ।

राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने आचारसंहितामा व्यवस्था गरिएको छ ।

निर्वाचनमा आचारसंहिताविपरीतका निर्वाचन चिह्न अङ्कित टोपी, लोगोसहितका ब्याच लगाउने कार्यसँगै बिक्री वितरणको कार्य खुलेआम जारी रहेको छ । झन्डा र पर्चासमेत तोकिएका आकारभन्दा ठूल्ठूला बनाई प्रचार–प्रसारमा प्रयोग भइरहेका छन् ।

कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत मदन धामीले निर्वाचन आचारसंहिताविपरीतका प्रचार सामग्री अङ्कित झोला, ब्याचलगायत जफत गरी उम्मेदवारलाई सचेत गराइएको बताए ।

‘आचारसंहिता पालना गराउने कार्यलाई कडाइका साथ पालना गराउनका लागि निरन्तर अनुगमनको कार्य भइरहेको छ’, उनले भने, ‘अझै यस कार्यमा कडाइ गर्छौँ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, निर्वाचन आचारसंहिता, २०७८ र निर्वाचनसम्बन्धी अन्य कानुनमा भएका व्यवस्थाअनुसार जारी आचारसंहिताविपरीत कार्य गरिएको पाइए कारबाही हुने उनको भनाइ छ ।

स्थानीय तहको निर्वाचनको प्रयोजनार्थ खटिने मतदान अधिकृत र सहायक अधिकृतका लागि एक दिने तालिमको आयोजना गरिन लागेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यही वैशाख २३ र २४ गतेसम्म तालिमको आयोजना गरिन लागेको हो ।

क्रमसङ्ख्या १ देखि १७७ सम्मका लागि २३ गते र क्रमसङ्ख्या १७८ देखि ३४१ सम्मका लागि वैशाख २४ गते तालिम दिइने छ । छनोटमा परेका मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिई मतदान स्थल र केन्द्रमा खटाइने निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लमा निर्धारित ३४१ वटै मतदान केन्द्रमा पठाउनका लागि मतपत्र प्याकिङ गर्ने कार्य पूरा भएको छ । जिल्ला मुख्य निर्वाचन अधिकृत धामीका अनुसार मतदान केन्द्रमा तीन लाख २५ हजार मतपत्र पठाइन लागेको हो । मतपत्रसँगै मतपेटिका, निर्वाचनसम्बन्धीका अन्य सामग्रीको व्यवस्थापन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस