काँग्रेसका बागी उम्मेदवारलाई तीन दिनको मौका, उम्मेदवार नरहेको घोषणा गरे कारबाही नहुने « प्रशासन
Logo १४ आश्विन २०७९, शुक्रबार
   

काँग्रेसका बागी उम्मेदवारलाई तीन दिनको मौका, उम्मेदवार नरहेको घोषणा गरे कारबाही नहुने


२० बैशाख २०७९, मंगलबार


काठमाडौँ । काँग्रेसले बागीलाई कारबाहीबाट बच्न तीन दिनको मौका दिएको छ । तीन दिनभित्र उम्मेदवार नरहेको घोषणा गरे बागीलाई कारबाही नगर्ने काँग्रेसले स्पष्ट पारेको छ ।

स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार र गठबन्धनका तर्फबाट उठाइएका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिएकालाई काँग्रेसले यस्तो मौका दिएको हो । यस्तो अवसर सदुपयोग गरे बागीका प्रस्तावक र समर्थकमाथिको कारबाही पनि रोकिने काँग्रेसले जनाएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले २१ वैशाखभित्र उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्न निर्देशन दिएका छन् । ‘वैशाख २१ गतेभित्र उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सक्रिय रहने विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकउपर पार्टी विधानबमोजिम हुने कारबाहीमा पार्टी केन्द्रले आवश्यक पुनर्विचार गर्नेछ,’ निर्देशनमा छ ।

काँग्रेसको विधान, २०१७ को धारा उपधारा ४ (१३) मा ‘कुनै पनि निर्वाचनमा पार्टीले प्रस्तुत गरेको आधिकारिक उम्मेदवारका विरुद्ध उम्मेदवार भएमा वा त्यस्ता विद्रोही उम्मेदवारको प्रस्तावक÷समर्थक भएमा पार्टी सदस्यता स्वतः निष्कासित हुने’ व्यवस्था रहेको छ ।

निर्वाचन आयोगले वैशाख १६ गते उम्मेदवारी फिर्ताका लागि समय दिएको थियो । यस अवधिमा काँग्रेसका ६२३ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको काँग्रेसले जनाएको छ । यससँगै काङ्ग्रेसबाट ३०,६२८ जनाको उम्मेदवारी कायम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस