मिथ्या समाचार र अफवाह फैलाउनु हुँदैन : अध्यक्ष पोखरेल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मिथ्या समाचार र अफवाह फैलाउनु हुँदैन : अध्यक्ष पोखरेल


१५ बैशाख २०७९, बिहिबार


चितवन । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनको समयमा पत्रकारहरुले मिथ्या समाचार र अफवाह फैलाउन नहुने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घले सौराहामा सुरु गरेको स्थानीय तह निर्वाचन, रिपोर्टिङ प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै उनले सामाजिक सञ्जालमार्फत पनि अफवाह नफैलाउन आग्रह गरेका हुन् ।

‘समाचारमा मात्रै होइन, सामाजिक सञ्जालमा कुन्ठा पोख्ने काम बन्द गर्नुपर्छ’ उनले भने ‘हाम्रो समाचार र सामाजिक सञ्जालका पोस्टले पार्टीको दुई भोट त बढ्ला तर तपाई–हाम्रो विश्वसनीयता घट्छ ।’ पत्रकारले मतदातालाई दिग्भ्रमित पार्न नहुने उनको भनाइ थियो ।

संविधान पदत्त नागरिकको मतदान गर्ने अधिकारलाई सुनिश्चित गर्ने काममा लाग्न उनले आग्रह गरे। बिना त्रास मतदान स्थलसम्म पुग्न र आफूले चाहेको मतदान गर्ने वातावरण सिर्जना गर्ने भूमिका अहिले पत्रकारको हुनुपर्ने उनले बताए । निष्पक्ष निर्वाचन हुन सके मात्रै लोकतन्त्र जीवन्त रहने पोखरेलको भनाइ छ ।

सो अवसरमा महासङ्घका केन्द्रीय सचिव सिर्जना अर्याल, प्रशिक्षक चिरञ्जीवी अर्याल, कार्यक्रम संयोजक सुनिल खड्काललगायतले आ–आफ्नो धारणा राखेका थिए । प्रशिक्षण कार्यक्रममा बागमती र गण्डकी प्रदेशका ३० जना पत्रकारको सहभागिता रहेको छ ।

महासङ्घले सौराहा, इटहरी र नेपालगन्जमा सात प्रदेशका पत्रकारलाई एकै पटक प्रशिक्षण सुरु गरेको हो । दुई दिने प्रशिक्षणमा स्थानीय स्तरमा कार्यरत पत्रकारलाई निर्वाचनको समग्र प्रक्रिया र यो अवधिमा पत्रकारको भूमिकाका बारेमा जानकारी दिइने छ ।

यस्तै निर्वाचनको बेला रिपोर्टिङ गर्न सकिने विषय वस्तु, निर्वाचनका बेला रिपोर्टिङ गर्दा देखिन सक्ने पक्षधरताका बारेमा जानकारी गराउने छ । पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताबारे समेत जानकारी दिइने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस