स्थानीय तह निर्वाचन : प्रचार र प्रतिबद्धताको पुरानै शैली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तह निर्वाचन : प्रचार र प्रतिबद्धताको पुरानै शैली


१४ बैशाख २०७९, बुधबार


महोत्तरी । आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारले पत्यारिलो तवरले नयाँ प्रतिबद्धता गर्न सकेका छैनन् ।

यही वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवारहरूले पुरानै प्रचार शैली र पुरानै ढर्राका प्रतिबद्धता सुनाउन थालेका छन् ।

भङ्गाहा नगरपालिका–३ कटैयाकी ६० वर्षीया रामराजी यादव भन्छन्, ‘सबैका नारा उही पुराना छन् ।’ जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकामा उम्मेदवारहरू पम्पलेट, ब्यानर र अन्य प्रचार सामग्रीसहित मतदातामाझ धाउन थालेका छन् । भङ्गाहा–५ सीतापुरका ८५ वर्षीय मानबहादुर भुजेल भन्छन्, ‘चुनावी नारा पुरानै छन्, नारामा पत्यार र आकर्षण छैन ।’

संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाए पनि निर्वाचित जनप्रतिनिधि जिम्मेवार बन्न नसक्दा जनताले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । बर्दिबास–१४ का ७० वर्षीय खड्गबहादुर सिंह भन्छन्, ‘जनजीविकाको क्षेत्रमा अपेक्षित सुधार आउन सकेको छैन ।’

मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएयता यसपालि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदै छ ।

आसन्न निर्वाचनमा जनताको मत पाउने अपेक्षासाथ घरदैलो थालेका उम्मेदवारले अब परम्परागत प्रचार शैली र प्रतिबद्धताको सट्टा ठाउँ–ठाउँका आवश्यकता पहिचान गरी तिनको समाधानको प्रक्रिया बताएर आश्वस्त बनाउनुपर्ने अवस्था छ ।

सबैजसो मतदाता भेट्न घरघरै पुग्दै छन् । जिल्लामा ७३० पदका लागि तीन हजार ५५३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

दश १० नगरका नगरप्रमुखका लागि १५० र पाँच गाउँपालिकाका अध्यक्ष पदका लागि ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै १० नगरपालिकाका उपप्रमुखमा ३८ र पाँच गाउँपालिका उपाध्यक्षमा १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाका १३८ वडाका वडाध्यक्षका लागि ८८५, वडाका महिला सदस्यमा ५८३, दलित महिला सदस्यमा ५५४ र वडा सदस्यमा एक हजार १७३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारी सुबोधकुमार महतोले जानकारी दिए ।

कूल तीन लाख ३६ हजार ९५ मतदाताका लागि २५८ मतदान स्थलमा ४९७ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस