अनुमति नलिने पात्रो र भित्ते पात्रोलाई कार्यविधि बनाएर कारबाही गरिने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अनुमति नलिने पात्रो र भित्ते पात्रोलाई कार्यविधि बनाएर कारबाही गरिने


१३ बैशाख २०७९, मंगलबार


काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति नलिई प्रकाशन हुने पात्रो र भित्ते पात्रोलाई कार्यविधि बनाएर कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ ।

समितिको गठन आदेशको दफा ७ को बुँदा (ञ) र (ठ) अनुसार अनुमति नलिई प्रकाशन भएका पात्रो र भित्ते पात्रालाई कारबाही गर्न कार्यविधि बनाउन लागेको हो । कार्यविधि मस्यौदा गर्ने सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेसँग पनि छलफल गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

समितिसँग अनुमति लिएर हालसम्म १४ पात्रो र ८९५ भित्ते पात्रो प्रकाशन भएका छन् । दुई पात्रो र करिब तीन दर्जन भित्ते पात्रो अनुमति नलिई प्रकाशन भएको पाइएको पनि उनले सुनाए । अनुमति नलिई प्रकाशन हुने पात्रो र भित्ते पात्रोका नाम पनि क्रमशः सार्वजनिक गरिने भएको छ ।

समितिले गठन गरेको अनुगमन उपसमितिका सदस्य खिलहरि घिमिरे हाल हप्तामा एक दिन बजार अनुगमन गर्ने गरिएको बताउँछन् । अनुमति नलिई प्रकाशन हुने पात्रो र भित्ते पात्रोको सूचना समितिमा दिन सकिने जानकारी पनि उनले दिए ।

मन्त्रिपरिषद्ले २०७७ पुस २० गते समिति गठन आदेश स्वीकृत गरेपछि पात्रो र भित्ते पात्रोले स्वीकृति लिनुपर्ने व्यवस्था नेपाल राजपत्रमा प्रकाशन भएको थियो । विसं २०७८ असारमा आदेश नेपाल राजपत्रमा प्रकाशन भएपछि यो व्यवस्था यसै वर्षको पात्रो र भित्ते पात्रो प्रकाशनदेखि कार्यान्वयनमा आएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस