स्थानीय तह निर्वाचन : कर्णालीमा सत्ता साझेदार दल सहमतिको अन्तिम प्रयासमा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

स्थानीय तह निर्वाचन : कर्णालीमा सत्ता साझेदार दल सहमतिको अन्तिम प्रयासमा


११ बैशाख २०७९, आइतबार


कर्णाली । कर्णालीमा शनिबार बेलुकासम्म छ जिल्लामा सत्ता साझेदार दलहरूबीच तालमेल गरेर चुनावी प्रतिस्पर्धामा जाने टुङ्गो लागेको छ ।

नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश अध्यक्ष बिमला केसीका अनुसार हुम्ला, मुगु, डोल्पा, जाजरकोट, दैलख र सल्यानमा गठबन्धन दलबीच तालमेल गरेर जाने गरी सहमति भएको छ ।

बाँकी जिल्लाको भागबन्डा मिलाउन सहमतिको लागि अन्तिम प्रयास भइरहेको छ ।

अध्यक्ष केसीले जुम्ला सहमतिको नजिकमा पुगेको जानकारी दिइन् । उनले भनिन्, ‘रुकुमपश्चिम, सुर्खेत र कालिकोट जिल्लाको भागबन्डा मिलाउन भने गठबन्धन दलबीच सघन छलफल भइरहेको छ । यसका लागि अब बैठक बस्दै छौँ र आजै जसरी पनि टुङ्ग्याउँछौँ ।’

वडा स्तरको भागबन्डा भने गठबन्धन दलका जिल्ला पार्टीले नै मिलाउने उनको भनाइ थियो ।

नेपाली काँग्रेसका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले मनोनयन दर्ताको समयलाई मध्यनजर गरेर जसरी भए पनि गठबन्धन दलको तालमेललाई सहमतिमा लैजाने जानकारी दिए।

“हामी गठबन्धन दलको केन्द्रको निर्णयअनुसार सहमति गर्ने गरी गहन छलफलमै छौँ”, सभापति शाहीले भने, ‘जे–जसो गरे पनि आज नटुङ्ग्याई सुखै छैन । विश्वास छ, हामी सार्थक निर्णयमा पुग्छौँ ।’

नेकपा (एकीकृत समाजवादी)का कर्णाली प्रदेश अध्यक्ष अमर थापाले पनि गठबन्धन दलभित्र तालमेलको सहमति जुटाउन अन्तिम कसरत थालिएको बताए । अध्यक्ष थापाका अनुसार आजै मनोनयन दर्ता गरी सहमतिको टुङ्गोमा पुर्‍याउने प्रयास भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस