लैङ्गिक हिंसा र असमानताविरुद्ध समाचार लेख्न प्रदेश प्रमुख शेरचनको सुझाव « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लैङ्गिक हिंसा र असमानताविरुद्ध समाचार लेख्न प्रदेश प्रमुख शेरचनको सुझाव


१० बैशाख २०७९, शनिबार


लुम्बिनी । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले समाजमा भएका लैङ्गिक हिंसा र असमानताविरुद्ध निरन्तर समाचार लेख्न सुझाव दिएका छन् ।

महिला र बालबालिकामाथि भएको हिंसाले समाजलाई दूषित बनाएको उल्लेख गर्दै उनले यस विरुद्ध महिला पत्रकारले अभियानका रूपमा काम गर्नुपर्नेमा जोड दिए ।

सञ्चारिका समूह लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको ‘आम सञ्चार र महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक अन्तर्क्रिया कार्यक्रममा प्रदेश प्रमुख शेरचनले पत्रकार देशको सम्मानित पेसा भएकाले यसमा स्थापित हुनका लागि आफ्नो सीप र क्षमता बढाउँदै जानुपर्ने सुझावसमेत दिए । प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले सामाजिक न्याय, लैङ्गिक र महिलामैत्री समाज निर्माणका लागि सञ्चारमा महिलाको दरिलो उपस्थिति हुनुपर्नेमा जोड दिए ।

प्रदेशसभा उपसभामुख कृष्णी थारुले यो वा त्यो भन्दै पछिल्लो समय संविधानले महिलालाई दिएको अधिकारसमेत खोस्ने काम भएकाले त्यस विरुद्ध आवाज उठाउन आग्रह गरे ।

कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले प्रदेश सरकारले हरेक बजेटलाई लैङ्गिक मैत्री बनाउन पछिल्लो समयमा सरोकारवालासँग छलफलसमेत थालेको बताए ।

सञ्चारिका समूहकी पूर्व अध्यक्ष बबिता बस्नेतले लैङ्गिक मैत्री समाचार, त्यसको उठान, स्रोत पहिचान, व्यावसायिक सीप विकास, स्थानीय तहको निर्वाचन र महिलाका समाचार विषयमा चर्चा गरेकी थिइन् ।

उनले व्यावसायिक सीप र क्षमता बढाउँदै महिला पत्रकार प्रतिस्पर्धामा उत्रिरहेका छन् तर पुरुषको तुलनामा उनीहरूलाई स्थापित हुन समस्या र चुनौती हुने भए पनि समाधान गर्दै अगाडि बढ्न सुझाव दिइन् । सोही समूहकी लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले लैङ्गिक मैत्री समाचार र त्यसको उठानबारे अभ्यास गराइन् । कार्यक्रममा लुम्बिनी प्रदेशका पाँच दर्जनभन्दा बढी महिला पत्रकार सहभागी भए ।

Tags :
प्रतिक्रिया दिनुहोस