क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ


७ बैशाख २०७९, बुधबार


पक्राउ

काठमाडौँ । प्रहरीले प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रतिबन्धित कारोबारमा संलग्न रहेको आरोपमा झापाको विर्तामोड नगरपालिका–९ का २२ वर्षीय अनुप मिश्र, काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ का २४ वर्षीय दिपेश थापा र काठमाडौँ महानगरपालिकाका २६ वर्षीय राहुल चचानलाई हिजो (मंगलबार) पक्राउ गरेको हो ।

नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय कारोबार गर्न जारी गरेको नियम विनिमय, निर्देशन, आदेश विपरीत प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा लागेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौँको महाबौद्ध, न्यूरोड, कलङ्कीलगायत क्षेत्रमा उनीहरु क्रिप्टोकरेन्सीको वित्तीय कारोबारमा सक्रिय रहेकाले विद्युतीय उपकरणसहित प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले हालसम्म जम्मा रु ६६ करोड ७९ लाख ७९ हजार बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुसँग बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर पठाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस