कोत्रे डाँडा : एक व्यतीत गौरव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोत्रे डाँडा : एक व्यतीत गौरव


५ बैशाख २०७९, सोमबार


कोत्रे डाँडा, लोपोन्मुख लोकगाथामा वर्णित पालुवाङ राज्यको राजधानी । बुद्धभन्दा अघि नै भावर प्रदेशको घना जङ्गलको उत्तरतर्फ प्राचीन मगर सभ्यताको प्रादुर्भाव भइसकेको थियो । समयक्रममा शक्तिशाली मगर साम्राज्यअन्तर्गत ठाउँ ठाउँमा मुकाम गरेर बसेका महत्त्वाकाङ्क्षी मगर सरदारहरूले केन्द्रीय सत्तासँग विद्रोह गरेर ससाना भुरे र थुम्के राज्यहरू स्थापना गरे । त्यसै सिलसिलामा साम्राज्यको राजधानी कोत्रे भुरे सरदारको सदरमुकाममा सीमित भयो ।

लोकगाथा भन्छ, ‘युधिष्ठिरलाई शिक्षा दिने पालुवाङे राजा ।’ महाभारतमा वर्णित युधिष्ठिर जस्ता प्रतापी राजालाई शिक्षा दिने हैसियत राख्ने मगर राजा थिए यहाँ । राजा तान्सिहाङ महाभारत युद्धको समयमा कुरुक्षेत्र पुगे रे ! तर आफै युद्धप्रिय नभएको हुँदा उनले युद्धको अवलोकन मात्र गरे । यही पालुवाङ ( कोत्रे ) डाँडा हो, जहाँ जोगीको भेषमा भीम र अर्जुन जासुसी गर्न आएका थिए , तर राजा तान्सिहाङले सहजै चिने रे ! पाल्पाली सभ्यताको सत्य, समानता र सौजन्य देखेर भीमार्जुन चकित परे । उनीहरूले गरेको पाल्पाली सभ्यता र मानवीय वैभवको वर्णन सुनेर राजा युधिष्ठिर विस्मित भए रे । पालुवाङी सभ्यताको अवलोकन गर्न अत्यन्त लालायित धर्मराजले यही कोत्रे डाँडामा आएर राजा तान्सिहाङलाई भेटे । वासुदेव कृष्णले पनि मन थाम्न सकेनन् । कृष्ण पनि आए ।

कृष्णले यशोदालाई मुख आँ गरेर अनन्त दिव्य रूप देखाएका थिए रे ! यता तान्सिहाङले कृष्णलाई दिव्यतम मानवीय बन्दोबस्तीको व्यावहारिक रूप देखाइदिए । मानवतावादको उत्कृष्ट नमुना देखेर मुग्ध भएका कृष्ण केही दिन यतै बसे । उता गोकुलमा यशोदा आमाले मोही पारेको देखेका कृष्णले कोत्रेको डाँडामा राजाले मोही पारेको देखे । राजाले तरुल खनेको, दाम्ला बाटेको र वृद्ध वृद्धालाई सम्मान एवं स्याहार गरेको देखेर कृष्णका पनि आँखा खुले रे !

जीवनलाई सधैँ रसमय बनाउन खोज्ने कृष्ण यता आएको बेलामा चिन्ने कोही थिएन, गुनासो गर्ने कोही थिएन र प्रभु भनेर चाकरी गर्ने पनि कोही थिएन । यहाँ न उनको कोही मित्र थियो , न त शत्रु नै । कृष्णले कोत्रेबाटै धौलागिरीसँग वार्ता गरे । यहीँबाट महादेवले सतीको मृत शरीर बोकेर भौँतारिएको पगडण्डी पहिल्याए कृष्णले । वासुदेव गण्डकीको बगरमा राजा तान्सिहङसँग बालुवा हानाहान गरेर खेले । यहीँ समीको फेदमा बसेर सुन्दर प्रकृतिको अवलोकन गरे । कृष्णले रिपको वनमा वृन्दावनमा जस्तै पात बजाए । वयस्क कन्हैयाले कोत्रेको डाँडामा मुरली बजाए , बाछाबाछी चराए । कहिल्यै नरुने वासुदेव यही शीतल डाँडामा बसेर वेदना र दुःखका दुई आँसु रोए ।

कोत्रे डाँडा तानसेनबाट नौ-दश किलोमिटर पश्चिममा पर्दछ I यसका अरू दुई जना भाइ छन् । माहिलो भाइ अहिले पुरानो कोट भनिने अधित्यका हो, जहाँ करिब पौने तीन सय वर्षसम्म पाल्पाली सेन राज्यको राजधानी थियो । कान्छो भाइ माहिलो भाइभन्दा पूर्वमा छ । कान्छो चुलीमा कालभैरवको मन्दिर रहेको छ । पाल्पाली राजा रुद्र सेनको पालामा कोत्रेको चुलीलाई फेरि राज्यको सैनिक र सामरिक केन्द्रको दर्जा मिल्यो । मुकुन्द सेन ( प्रथम ) को पालामा यही डाँडामा परेड खेलेर तालिम हासिल गरेका सवा लाख सिपाहीले हो काठमाडौँ जितेको । राजा मुकुन्द सेनले मत्स्येन्द्रनाथको जात्रामा निकालेको कालभैरवलाई यहाँ ल्याएर कान्छो डाँडामा स्थापना गरे । यही कोत्रे डाँडामा तालिम लिएका सिपाहीको हतियारको चमकमा काठमाडौँ हान्न आएको भोटेको सातो उड्यो । कोत्रेले पूर्वमा विजयपुरसम्म विजयपताका फहराउने मुकुन्दीय सिपाहीहरूको पदचाप भुलेको छैन । ती सिपाहीका लागि मधेस र पहाडका बेसीबाट रासन बोक्ने भरियाको पसिनाको सुवास अझै महसुस गर्न सकिन्छ यहाँ । अनन्त आँसु , हाँसो , प्रेम , प्रणय र रोदनको साक्षी हो कोत्रे ।

कोत्रे शान्तिकालमा समृद्ध पाल्पाली राज्यका राजा , राजपरिवार र राजसेवकहरूको कृडास्थल हो । आधुनिक पिकनिक स्थल जस्तै । राजकुमारहरूले लामो हात पसार्दा धौलागिरी छोएको अनुभव गर्ने मनोरम स्थल हो यो । पाल्पाली योद्धाहरूले सवारी गर्ने ताजी तुर्की घोडाहरूको टापको आवाज अझै सुनिन्छ यहाँ । आफू राजा हुन नपाए पनि भान्जा पृथ्वीनारायण शाहलाई कूटनीति सिकाउने युवराज उद्योत सेनले शिक्षा हासिल गरेको यहीँ हो । पर्वते राजा प्रतापी नारायण मल्ल , गोर्खाली राजा नरभूपाल शाह , बहादुर शाह र प्रताप सिंह शाहको ससुराली हो यो । समृद्ध पाल्पालीको रवाफी मोजमज्जा , नवाफी साजसज्जा र राजसी मिजासको केन्द्रभूमि हो कोत्रे ।

लतामण्डलभित्र प्रेमिल निकुञ्जमा रुपगर्विता राजकुमारीहरूले गाना गाउने उपवन हो यो । समरको समयमा सिपाहीको हुङ्कार मिश्रित फौलादी परेडको धूलोले धुसरित हुने यो टाकुरो शान्तिकालको प्रणय स्थल हो । वासन्तीको कामोत्तेजक प्रेरणाले मुग्ध भई ज्यादा काम कर्मको परिश्रमले गर्दा थकित र दुब्लाएर फुकिढल भएको चैते वानरतर्फ देखाउँदै प्रणयकामी राजकुमारलाई रमणीले भनिन् रे ‘पख ! तिमीलाई पनि त्यस्तै चैते बनाएर छाड्छु ।’ यस्तो कटाक्ष सुनेका राजकुमार भन्थे रे ‘पख तिमीलाई पनि कामकृडाको थकानले विश्रान्त परिप्लुता रमणी जस्तै बनाउन सकिन भने म पनि सेन राजकुमार नै होइन ।’ थकाइले लस्त राजकुमार र राजकुमारी देखेर मुमा महारानीको मन अब त नवयुवराजको आगमन हुने पक्का भयो भनेर पुलकित हुन्थ्यो ।

उन्माद , तापन , शोषण , स्तम्भन र सम्मोहन समेत कामदेवका पञ्चवाणले घायल राजकुमार , राजाबाट स्याबासी पाएका विजयोन्मत्त सेनानीहरू र युवा वयका राजकर्मचारीहरु एवं प्रणयिनी युवतीहरू कोत्रे डाँडाको तल शीतल रिपको वनतर्फ झर्ने गरेका पगडण्डीहरु अझै जीवन्त छन् यहाँ । बाबा राजा मुकुन्द सेनले आफ्नो विवाह पर्वते राजासँग गरिदिँदै छन् भन्ने थाहा पाएकी राजकुमारी विश्रवा देवीले भिजेका नेत्रले भावी कर्मथलो धौलागिरीको दक्षिणतर्फ हेर्दै बस्ने गरेको सानो थुम्को अझै जीवन्त छ यहाँ । त्यति टाढा हिमालको फेदीमा जानै पर्ने भए कालिका भगवतीलाई पनि सँगै लिएर जान्छु भनेर छोरीले जिद्दी गर्दा खिन्न भएका राजाले ‘काठमाडौँबाट जबरजस्ती उक्काएर ल्याउँदा कालभैरव कुपित भए । अब फेरि कालीलाई उनको स्थानबाट निकालेर पठाउँदा झन् ठुलो अनिष्ट पो हुने हो कि छोरी’ भनेर फकाउँदा राजकुमारीले उनै कालभैरवतर्फ हेर्दै बालहठमय सत्याग्रह गरेर बसेको चौको पनि अझै विद्यमान छ यहाँ । पाल्पाली राजधानीबाट दाइजो जस्तै गरी बोकाएर पर्वतको राजधानीतर्फ पठाइएकी कालिका देवी पठाएको ठाउँसम्म जान नमानी अलि यतैतिर बसिन् रे । यसको कारण पनि सायद कोत्रे बाहेक अरू कोही जान्दैन ।

सारा पार्वत्य प्रदेशमा रहेका तत्कालीन देशका राजदूतहरू जम्मा भएर वार्ता र सन्धि गर्ने मुकाम हो कोत्रे । सोह्रौँ शताब्दीदेखि उन्नाइसौँ शताब्दीसम्म गोरखादेखि जुम्लासम्मको सामरिक सम्मेलन केन्द्र हो यो , आधुनिक युरोपको जेनेभा जस्तै । प्युठान ,अर्घा , खाँची , सल्यान , मुसिकोट , धुर्कोट , गुल्मी , पर्वत , कास्की , गोरखा र लमजुङ आदि राज्यका प्रतिनिधि जम्मा भएर छलफल गर्ने थलो हो कोत्रे । यही कोत्रेमा बसेर फौजी रणनीति निर्माण र कूटनीतिक रेखाचित्र कोर्ने अनगिन्ती पाल्पाली कर्मचारीहरू सुदूर पूर्वसम्म फैलिए । अहिले पनि प्युठानदेखि इलामसम्मका बाहुन र क्षेत्रीलाई सुँघ्ने हो भने पाल्पाली राजाको पुरोहित , कर्मचारी या कूटनीतिज्ञको गन्ध आउँछ ।

यही कोत्रेले राजा मुकुन्द सेनलाई राज्य विस्तार गर्ने प्रेरणा दियो । यही उच्च भूमिमा उभिएर उनले उत्तरको हिमाली काख , पश्चिमतर्फ रुकुम र डोल्पासम्मको पहाडी र हिमाली भूमि एवं दक्षिणतर्फको तराई समेतमा आफ्नो झन्डा फहराउने सपना देखे । यही कोत्रेमा पाल्पा , गुल्मी , प्युठान , पर्वत र मधेस समेतका सिपाही जम्मा गरेर तालिम दिए मुकुन्द राजाले । यहीँबाट मार्च गरेको फौजले काठमाडौँ उपत्यका र पूर्वमा कोशीसम्म दिग्विजय प्राप्त गर्‍यो । यही कोत्रे हो , जहाँ अवधका नवाबका राजदूत र नेपाली प्रतिनिधि बसेर छलफल गर्थे ।

परन्तु त्यस समयका सबैभन्दा ठुला र समृद्ध राजाका सन्तान राज्यलक्ष्मीको विभाजनमा उद्यत भए । पाल्पाली राजदरबारको नजिकै यसै कोत्रेमा रहेको सभाभवनमा सायद मुकुन्दले छोराहरूलाई सम्झाए होलान् । ठूलाठूला युद्ध गरेर धेरै नरसंहारको निमित्त कारण बनेका राजामा वैराग्यको उदय भइसकेको थियो । बारम्बारको पारिवारिक कलहको साक्षी बन्नुभन्दा बरु सांसारिक माया मोहलाई त्याग गरेर चुपचाप तपस्यामा लीन भई मुनिव्रत लिनुमा जीवनको श्रेय देखे मुकुन्दले । यसरी पाल्पाली गलामा सजिसजाउ भइसकेको राष्ट्रिय एकीकरणको गौरवशाली माला छिनेर भुईँभरि असरल्ल भयो ।

भूमिको पनि भाग्य हुन्छ रे मान्छेको जस्तै । कहिले कसको पालो कहिले कसको । कोत्रे सयौँ वर्षसम्म आफ्नो भाग्यको उत्कर्षमा थियो । आज कोत्रेलाई सबै सांसारिक सृजनाहरू नश्वर हुन् भन्ने थाहा छ । लक्ष्मीप्रसाद देवकोटाले दार्जिलिङ पुगेर कविता वाचन गरे । फिरङ्गीले टाइगर हिल नामकरण गरेको टाकुरोलाई लिएर निबन्ध लेखे उनले । देवकोटाले तास्कन्द पुगेर नयाँ शब्दको आविष्कार गरे । किन्तु परित्यक्त कोत्रेबारे उनी सधैँ अनभिज्ञ रहेरै गए । यहाँ बसेर शङ्कर लामिछानेले ‘एब्स्ट्र्याक्ट चिन्तन’ गर्न पाएनन् । राजा महेन्द्र , बिपी र गणेशमानले यसको नाम पनि सुन्न पाएनन् । प्रकृतिको अनुपम दर्शन पाइने कोत्रेमा सिपाही परेड खेल्ने दिन सकिए । प्रणय निवेदन गर्ने रमण र रमणीका दिन सकिए । प्रकृतिले पनि कोत्रेमाथि दया गरेन । चारैतिरबाट पहिरा झरे , पाल्पाली गौरव क्षतविक्षत भयो । राजभवनदेखि कोत्रेसम्म जाने झोलुङ्गे पुल जस्तै लचक्क लच्केको राजमार्ग बढारिएर बग्यो । उस बखतको पार्वत्य शैलीको कोत्रे रुपी जेनेभाको छातीमाथि नियतिले कोदो रोप्यो ।

सेन राजा र अनेकौँ राज्यका राजप्रतिनिधिले टेकेको चरणधूली बगेर गयो । नयाँ सत्ताले नयाँ कोत्रेहरू भेट्टायो । पारी भैरवको मन्दिरसम्म अमरसिंह थापा आए , दामोदर पाण्डे आए । त्यहाँ उजिरसिंह थापा आए र माथवर सिंह पनि । कान्छो डाँडामा बद्री नरसिंह राणा, खड्ग शमशेर र प्रताप शमशेर पनि आए । कोत्रेले आउने जाने सबैलाई मौन भएर हेरिरह्यो, तर कोत्रेलाई कसैले हेरेन ।

सायद मनुष्यको नियति पनि एक कोत्रे डाँडा हो । एक शैशव, एक बाल्यावस्था, एक यौवन, फेरि एक वार्द्धक्य र समापन । आफ्ना सुदिनहरूमा प्रत्येक जीवन एक जेनेभा बन्दछ । एक सम्मेलन केन्द्र , एक वैभवशाली भव्यता र आकर्षण । आज परित्यक्त कोत्रे समयको थप्पडलाई सहन गर्दै बूढो कछुवाले झैँ आफूमा आफैलाई समेटेर टुलुटुलु दुनियाँको नाटक हेरिरहेछ । कोत्रे आज एउटा सम्पदा गुमाएको वृद्ध समान छ, जसको पहिचान उसको आफ्नै छातीभित्र विलय भएको छ । आफ्नो व्यतीत गौरवलाई इतिहासको जिम्मामा छाडेर ऊ शान्त र अव्यक्त भएको छ । अनन्तमा ब्रह्मलीन कोत्रेले आज सपना देख्न छाडेको छ । एउटा गुणातीत साम्यावस्था, जहाँ न कुनै आकाङ्क्षा, न त दुखेसो नै ।

Tags :
प्रतिक्रिया दिनुहोस