देशको राजनीति लिकबाहिर गइसक्यो : त्रिपाठी « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

देशको राजनीति लिकबाहिर गइसक्यो : त्रिपाठी


४ बैशाख २०७९, आइतबार


सप्तरी । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले देशको राजनीतिक लिकभन्दा बाहिर गइसकेको टिप्पणी गरेका छन् । त्यसलाई लिकमा नल्याए जतिखेर पनि दुर्घटना हुन सक्ने उनको भनाइ छ ।

राजविराजमा आइतबार आयोजित पत्रकार सम्मेलनमा त्रिपाठीले राजनीति लिकबाहिर गए पनि कसैलाई चिन्ता नभएको बताए । उनले भने, ‘न्यूनतम एजेन्डामा राष्ट्रिय सहमति बनाएर राजनीतिलाई लिकमा ल्याउनु जरुरी छ । तर यसतर्फ कसैको ध्यान छैन ।’

राजनीतिलाई लिकमा नल्याए देशमा दुर्घटना हुने र अहिलेसम्मको उपलब्धि गुम्न सक्ने उनले बताए । केही शक्तिले उपलब्धिमाथि नै प्रहार गर्न खोजेको उनको भनाइ छ ।

उनले भने, ‘केही शक्ति यस्ता छन्, जसलाई सङ्घीयता, गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्र मन परेको छैन । ती शक्तिले उपलब्धिमाथि प्रहार गर्न खोजेका छन् । उपलब्धिलाई बचाइराख्न सबैलाई एकजुट हुनु जरुरी छ ।’

अध्यक्ष त्रिपाठीले देशको संविधान घाइते बन्दै गएको पनि बताए । सर्वोच्च अदालतले पनि संविधानलाई घाइते बनाएको उनको भनाइ छ ।

‘विघटन भएको प्रतिनिधिसभालाई पुनर्स्थापना गर्न सर्वोच्चले आदेश दिन सक्छ । तर, कुनै व्यक्तिलाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्दैन’ उनले भने, ‘यो अधिकार प्रतिनिधिसभालाई थियो । तर, सर्वोच्च अदालतले संविधानलाई त्यहीँ संशोधन गरिदियो ।’

Tags :
प्रतिक्रिया दिनुहोस