अर्जुन दासको हत्या आरोपमा ४ जना पक्राउ « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

अर्जुन दासको हत्या आरोपमा ४ जना पक्राउ


२ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा प्रहरीले फरार रहेका ४ जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा टेकुका अनुसार पक्राउ पर्ने ४ जनामा जानकी गाउँपालिका ९ कै १९ वर्षीय युवाहरु सुमित साउद, मनोज भण्डारी, दिलीप दास र बमबहादुर बोहोरा रहेका छन् ।

उनीहरुको समूहले दासलाई मोबाइल चोरी गरेको आरोपमा लागूऔषध सेवन गरेको अवस्थामा हत्या गरेको महाशाखाले जनाएको छ ।

रुपन्देही सिमानाकाबाट गोप्य सूचनाका आधारमा महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले उनीहरुलाई हिजो (बिहीबार) पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धानका लागि कैलाली जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।

गत वर्ष पुस २ गते घरबाट निस्केका जानकी गाउँपालिका–९ अमरावतीका अर्जुन रातिसम्म घर फर्केका थिएनन् ।

वनमा घाँस काट्न गएका महिलाले रुखमा बाँधेर टाउको काटिएको अवस्थामा पुस ३ गते शनिबार अमरावती सामुदायिक वनमा उनको शव भेटाएका थिए ।

दोषी पक्राउ नपरेसम्म शव नउठाउने भन्दै आन्दोलन गर्दै आएका आफन्तहरूले गाउँपालिका अध्यक्ष प्रदीप चौधरी र जिल्ला प्रहरी प्रशासनसँग छलफलपछि १० दिनपछि मात्रै उनको शव अन्त्येष्टि गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस