जग्गा प्रशासनमा फड्को मार्दै विभाग, सम्पत्तिको सुरक्षाका लागि आफ्नै डाटा सेन्टर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जग्गा प्रशासनमा फड्को मार्दै विभाग, सम्पत्तिको सुरक्षाका लागि आफ्नै डाटा सेन्टर


१ बैशाख २०७९, बिहिबार


जग्गा प्रशासनको इतिहास
मानव सभ्यताको विकास र जग्गा प्रशासनको विकास सँगसँगै भएको पाइन्छ । प्राचीन समयमा पनि मानिसको जीविकोपार्जनको मुख्य स्रोत जग्गा जमिन नै थियो ।

वैदिककादेखि नै तिर्जा, रकम, सर्वाङ्ग बिर्ता, बिर्ता, जागिर, किपट, हले, पाटे, कोदाले, बहाल विटौरी, खर्क, उखडा, झोरा, मिनिडिही, बे लगति, डिही, शीर, खान्गी, रैकर, गुठीजस्ता जग्गाको प्रथा कायम थियो । जग्गा जमिन वा भूमिलाई परापूर्व कालदेखि नै राज्यको मुख्य सम्पत्तिको रूपमा लिइँदै आएको छ । राज्य सञ्चालनको प्रमुख स्रोत भूमिबाट प्राप्त आम्दानी नै थियो भने सरकारी कर्मचारी, सेना, प्रहरी तथा शिक्षकहरूलाई पारिश्रमिकको रूपमा पनि जग्गा नै दिने व्यवस्था थियो ।

नेपालमा पुरानो प्रशासन नै जग्गा प्रशासन हो । जग्गा प्रशासनको इतिहास हेर्ने हो भने जयस्थिती मल्लले जग्गा नाप जाँच गराउने र बिर्ता जग्गा बिक्री गर्न तथा बन्धकी राख्न पाउने नियम बसालेका थिए । राजा राम शाहले जग्गा प्रशासनमा हले, पाटे, कोदाले, माटो मुरी, विजन आदीको आधारमा जग्गाको इकाई तोकी लगत राख्ने व्यवस्था गरेका थिए ।

वि.सं. १९१० सालसम्मको अवधिलाई जग्गाको ऐतिहासिककाल मानिन्छ । वि.स. १९१० सालमा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालमा जारी भएको मुलुकी ऐनमा तल्सिङ, मोही, कूत आदीबारे व्यवस्था गरिएको थियो । वि.स. १९३० सालदेखि जग्गा जमिनमा जहाँ जे जस्तो औजार प्रयोगमा थिए सोही बमोजिम हले, पाटे, कोदाले किसिम कायम भई अभिलेख राख्ने क्रमको थालनी भएको थियो । वि.स. १९५३ सालमा माल अड्डाको स्थापना भएदेखि जग्गा प्रशासनको संस्थागत विकास प्रारम्भ भएको मानिन्छ ।

वि.स. १९५३ सालमा कर्मचारीलाई तलब खुवाउन र बक्यौता असुली गर्न खडा भएको तहसिल कार्यालयलाई माल अड्डामा गाभियो र तराईमा जिमिन्दार, पटवारी र पहाडमा जिम्मावाल र मुखियाबाट जग्गा प्रशासनको कार्य गराउने र भूमि कर उठाउने प्रचलनको थालनी भयो ।

वि.स. १९६० सालमा चन्द्र शमशेरले जग्गालाई अबल, दोयम, सिम र चाहार गरी चार वर्गमा वर्गीकरण गरेका थिए । वि.सं १९६४ सालमा सर्पट नापी भई जग्गाको किसिम अनुसार तिरो लगाउन थालियो । जग्गा प्रशासनको विकास क्रमसँगै वि.स. १९६८ सालमा जग्गाको व्यवस्थित रूपमा अभिलेख राख्ने कार्यको थालनी भयो, यसलाई हाल अठसठ्ठा नामले चिनिन्छ ।

राजा महाराजाका पञ्जाछाप, लालमोहर, सनदको माध्यमबाट जमिन माथिको नियन्त्रण, उपयोग र स्वामित्व प्राप्त हुन्थ्यो ।

लिखत पारितको विकास क्रम
धर्म, परम्परा र प्रथाको आधारबाट सुरु भएको जग्गा प्रशासन अहिले अभिलेखको आधारमा चल्ने विधा बनेको छ । सुरुमा घरसारको व्यवहारमा लिखत गर्ने पद्धति अवलम्बन भएको भए पनि हाल सरकारी अड्डामा भएका अभिलेखको आधारमा अड्डाको रोहबरमा स्वीकृतिको सिद्धान्तमा आधारित भई लिखत दर्ता गर्ने पद्धति अवलम्बन गरिएको छ ।

ऐतिहासिक अभिलेखलाई आधार मान्ने हो भने वि.स. १९७८ सालमा पोता रजिष्ट्रेसन अड्डा स्थापना भएको पाइन्छ । वि.स. १९७९ साल वैशाख १ गतेदेखि रजिष्ट्रेशन पारित गरी घरजग्गाको हक हस्तान्तरण प्रक्रिया लिखतबाट हुन थाल्यो ।

वि.स. १९८० सालमा भक्तपुरबाट कित्ता नापी सुरुवात भएसँगै नक्साको आधारमा भूमिको लगत राख्ने कामको थालनी भएको हो । वि.स. २००७ साल अघिसम्म जग्गाको वर्गीकरण खान्गी, किपट, लाल मोहरिया, बिर्ता र आबादी भनी नामाकराण गरिएको थियो । भूमि सम्बन्धी कानुनी व्यवस्था आउनु भन्दा पहिले नेपालको भूमि प्रशासन मधेस सवाल, पहाड सवाल जस्ता पद्धतिबाट सञ्चालन भएको थियो ।

वि.स. २००८ सालमा भूमिदारी अधिकार प्राप्ति कानुनको मस्यौदा र भूमि जाँच कमिसन गठन भई बिर्ता खारेजी बन्दोबस्त अड्डा स्थापना भयो । वि.स. २०१४ सालमा भूमि सुधार ऐन जारी भयो भने २०१८ सालदेखि जग्गा प्रशासनको लागि ७५ जिल्लामा माल अड्डाहरू स्थापना भए । वि.स. २०१९ सालमा जग्गा नाँपजाँच ऐन जारी भयो । सो ऐन अनुसार तयार भएको नक्सा र स्रेस्ताबाट भूमि प्रशासन हेर्ने गरी भूमिसुधार मन्त्रालयअन्तर्गत भूमि प्रशासन कार्यालय स्थापना भए । वि.सं. २०२१ सालमा भूमि सम्बन्धी ऐन जारी भयो, जुन हदबन्दी निर्धारण र मोहियानी हक स्थापित गर्न कोषेढुंगाको रूपमा स्थापित भयो ।

वि.स. २०२४ सालमा भूमि प्रशासन कार्यालयलाई भूमि सुधार कार्यालय नामकरण गरियो र तत्कालीन कोष तथा तहसिल कार्यालयलाई मालपोत कार्यालयमा परिणत गरियो । वि.स. २०२६ सालमा मालपोत कार्यालयहरू तत्कालीन अर्थ मन्त्रालयको मालपोत विभाग अन्तर्गत रहने व्यवस्था गरियो । गुठी संस्थान ऐन २०३३ जारी भएपछि जग्गालाई गुठीको मूल आयस्रोत मानी सो अनुसार जग्गा प्रशासन सम्बन्धी काम भयो ।

मालपोत ऐन २०३४ वि.सं. २०३५ साल वैशाखमा २६ जिल्लाहरूबाट सुरु भई २०५६ साल मङ्सिर सम्ममा ७५ वटै जिल्लामा लागू गरियो । वि स २०३५ साल वैशाख १ गतेदेखि अर्थ मन्त्रालय अन्तर्गत छुट्टै मालपोत कार्यालयहरू स्थापना गरिए । वि.स. २०४४ सालमा मालपोत विभागलाई अर्थ मन्त्रालयबाट अलग गरी भूमिसुधार तथा व्यवस्था मन्त्रालय अन्तर्गत राखियो ।

वि. स. २०५७ सालमा तत्कालीन मालपोत विभाग र भूमिसुधार विभाग गाभिई भूमिसुधार तथा व्यवस्थापन विभाग खडा भयो । वि.स. २०५८ सालमा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भूमि सम्बन्धी ऐन २०२१ को पाचौं संशोधन गरियो । उक्त संशोधनले जग्गाको हदबन्दी निर्धारणमा समय सापेक्ष परिमार्जन ग¥यो । जस अनुसार हिमाल र पहाडमा ९६ रोपनीबाट ७५ रोपनीमा, काठमाडौँ उपत्यका भित्र ५८ रोपनीबाट ३० रोपनीमा र तराईमा २८ बिगाहाबाट ११ बिगाहामा कायम गर्ने गरी ऐतिहासिक कदम चालियो ।

वि.स. २०७५ सालमा भू– सूचना तथा अभिलेख विभाग र भूमिसुधार तथा व्यवस्थापन विभागलाई एकीकृत गरी भूमि व्यवस्थापन तथा अभिलेख विभाग स्थापना भयो । हाल यस विभाग अन्तर्गत २१ वटा भूमिसुधार तथा मालपोत कार्यालयहरू र १०५ वटा मालपोत कार्यालयहरू गरी जम्मा १२६ वटा कार्यालयहरूबाट जग्गा प्रशासन सम्बन्धी काम हुँदै आइरहेको छ ।

जग्गा प्रशासनमा सूचना प्रविधि
प्रजातन्त्र स्थापनापछि आठौँ योजनाबाट जग्गा प्रशासनलाई प्रविधिमैत्री बनाउने सम्बन्धमा नीतिगत व्यवस्था भई कम्प्युटर प्रविधिको सुरुवात भयो । वि.स. २०५७ सालमा भू– सूचना प्रणाली, वि.स. २०७२ सालमा भू– अभिलेख सूचना व्यवस्थापन प्रणाली, वि.स. २०७५ सालमा स्रेस्ता तथा रोक्का सम्बन्धी कागजात स्क्यान गरी डिजिटाइज गर्ने अभिलेख व्यवस्थापन प्रणाली र वि.स. २०७६ सालमा भू– सेवा केन्द्रको सुरुवातले जग्गा प्रशासनलाई सूचना प्रविधिसँग संयोजन गरेको गरेको छ ।

चेनको प्रयोग गरेर सर्पट नापीबाट जग्गाको नाँपजाँच कार्य सुरु भएको भए पनि व्यवस्थित रूपमा कित्ता नापीको थालनी वि.स. २०२१ सालदेखि भएको पाइन्छ । वि.स. २०६२÷६३ सालदेखि डिजिटल कित्ता नापी सुरु गरेको नापी विभागले अहिले लाइडर प्रविधिको प्रयोग गरिरहेको छ । नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम (नेलिस) र मेरो कित्ता जस्ता अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ ।

जग्गा प्रशासनमा सूचना प्रविधिको प्रयोगले सेवा प्रवाहमा सहजता र पारदर्शिता कायम गरेको छ । अहिले देशभरका मालपोत कार्यालयहरूमा अनलाइन प्रणालीबाटै सेवा प्रवाह भइरहेको छ । लिखत पारितको कार्यलाई प्रविधिमैत्री बनाइएको छ । लिखत अनलाइनमार्फत पारित हुने व्यवस्था छ । लिखतहरू भू-सेवा केन्द्रमा दर्ता भइसकेपछि मात्र रजिष्ट्रेशनको प्रक्रियामा जाने व्यवस्था गरिएको छ । थम प्रिन्ट, दस्तखत र फोटो खिच्ने काम डिभाइसको सहायताबाट गर्ने गरिन्छ ।

जग्गा प्रशासनमा फेस लेस, क्यास लेस र पेपर लेसको अवधारणा अनुसार अहिले अनलाइन प्रणालीबाटै जग्गा रोक्का फुकुवा गर्न सकिन्छ । रोक्का फुकुवा अनलाइनबाटै गर्ने गरी कर्मचारी सञ्चय कोषसँग सम्झौता गरी काम भइरहेको छ । मालपोत कार्यालयमै बैङ्किङ काउन्टर राखेर राजश्व सङ्कलन गर्ने कार्य भइरहेको छ । क्रमशः अनलाइनबाटै भुक्तानी गर्ने गरी योजना बनाइएको छ ।

जग्गा प्रशासनलाई सूचना प्रविधिसँग जोडेसँगै जग्गाको अभिलेखीकरण सुरक्षित राख्नका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभागले आफ्नै डाटा सेन्टर स्थापना गरेको छ । सूचना प्रविधिको प्रयोग गरी जग्गा प्रशासनमा सुधार ल्याएका कारण डिजिटल गर्भनेन्स आइसिटी अर्वाड २०७८ बाट विभाग पुरस्कृत भएको छ ।

भूमि व्यवस्थापन कार्यलाई सेवामुखी एवं सूचना मूलक बनाउने, जमिनमा सिप र श्रम हुने व्यक्तिको पहुँच अभिवृद्धि गरी गरिबी घटाउने कार्यमा सहयोग पुर्‍याउने कार्यमा विभाग लागि परेको छ ।

लिखत पारित गर्न सुरु गरेको सय वर्ष पुरा भएकोमा यस क्षेत्रमा काम गर्ने हामी सबैले खुसी महसुस गर्नु पर्छ । समयको गतिसँगै भूमि प्रशासनको यति लामो र प्रक्रियामुखी पद्धतिमा देखिने गरी सुधार गर्न र जनताको सम्पत्तिको रूपमा रहेको अचल सम्पत्तिको अभिलेखलाई सुरक्षित र भरपर्दो बनाउनु पहिलो दायित्व हो ।

भूमि व्यवस्थापन सेवालाई सहज र पारदर्शी बनाउँदै छौँ

शशी श्रेष्ठ, मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण


सबैको सरोकार रहेको भूमि प्रशासन क्षेत्रको सेवा प्रवाहमा सुधार गर्ने, अभिलेख प्रणालीलाई व्यवस्थित गर्ने, राष्ट्रसेवक कर्मचारीलाई उत्प्रेरित गर्दै उच्च मनोबल कायम गर्ने र कार्यालयको भौतिक पक्षमा सुधार गर्दै उत्कृष्ट कार्य वातावरणको सिर्जना गरी सहजरुपमा सेवा प्रवाह गर्ने योजना मन्त्रालयको रहेको छ ।

देशका १२६ मालपोत तथा भूमिसुधार कार्यालयबाट प्रवाह हुने सेवा सुविधालाई सरल, सहज, पारदर्शी बनाउने प्रयास भइरहेको छ । भूमि व्यवस्थापनको कार्यलाई थप प्रभावकारी बनाउन कृषि योग्य जमिनको खण्डीकरण नियन्त्रण एवं भू उपयोग नीति तथा ऐनको कार्यान्वयनका लागि आवश्यक योजना र कार्यक्रम तय गरिएको छ । सिन्धुलीको दुधौलीस्थित मुसहर बस्तीमा १०६ भूमिहीन दलित परिवारलाई जग्गा वितरण गरिएको छ ।

विरासत संरक्षण गर्दै समयअनुसार चल्न चुनौती छ

पीताम्बर घिमिरे, महानिर्देशक, भूमि व्यवस्थापन तथा अभिलेख विभाग


जग्गा प्रशासनमा लिखत रजिष्ट्रेशन पारित भएको १०० वर्ष पुगेको छ । एकातर्फ जग्गा प्रशासनको विरासतलाई संरक्षण गर्नु पर्ने छ भने अर्कोतर्फ समयको माग अनुसार आधुनिक सूचना प्रविधिको प्रयोग गरी सेवा प्रवाह छिटोछरितो र सहज बनाउँदै लैजानु पर्ने छ ।

देशभरका भूमिसुधार तथा मालपोत कार्यालयहरूबाट प्रवाह हुने सेवालाई सूचना प्रविधिको प्रयोग गरी पारदर्शी र प्रभावकारी बनाउन विभाग लागि परेको छ । नागरिकमा वित्तीय साक्षरताको कमी र सूचना प्रविधिको पहुँच नभएका कारण विभागले अपेक्षा गरे अनुसार उपलब्धि हासिल गर्न सकिरहेको छैन । यो चुनौती समाधानका लागि हामीले काम गरिरहेका छौँ ।

सेवा प्रवाहलाई सरल बनाउनका लागि मौजुदा ऐन, नियम, कानुन, कार्यविधि र निर्देशिकामा परिमार्जन आवश्यक छ-छैन भन्ने बारेमा अध्ययन गर्न कार्यदल बनेको छ । सेवा प्रवाह कसरी सरल बनाउन सकिन्छ भन्नेमै विभागको ध्यान केन्द्रित छ । जग्गा प्रशासनमा फेस लेस, क्यास लेस र पेपर लेस बनाउने गरी विभागले कार्य गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस