पुल बगाएको नौ महिनापछि बेलिब्रिज « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पुल बगाएको नौ महिनापछि बेलिब्रिज


२७ चैत्र २०७८, आइतबार


तनहुँ । व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको नौ महिनापछि बेलिब्रिज जडान गरिएको छ ।

गत वर्ष असारमा छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाएको थियो ।

पुल बगाएपछि व्यास, बन्दीपुर र ऋषिङ गाउँपालिकाका बासिन्दा मारमा परेका थिए । नेपाली सेना र स्थानीयवासीको सहयोगमा तत्काल कल्भर्ड हाली आवतजावतको व्यवस्था मिलाइएको थियो ।

भानु तुरतुरे र गोरखाको पालुङटार जोड्ने बेलिब्रिज मर्स्याङ्दी नदीले बगाएपछि सोही बेलिब्रिज छाब्दीखोला दोभानमा राख्ने योजना बनाइएको थियो ।

चितवनबाट मर्मत गरेर ल्याइएको बेलिब्रिज जडान गरिएको पूर्वाधार विकास एकाइ कार्यालय तनहुँका सिनियर डिभिजन इन्जिनियर दिनेशकुमार घिमिरेले जानकारी दिए ।

सङ्घीय सरकारको रु १८ लाख सहयोगमा सडक डिभिजनमार्फत बेलिब्रिज ल्याइएको हो । गण्डकी प्रदेश सरकारको रु ४३ लाखको लागतमा ग्याबिन जाली तथा बेलिब्रिज मर्मत गरिएको हो ।

बेलिब्रिज जडानसँगै आवतजावत गर्न सहज भएको व्यास–१३ का वसन्त आलेले बताए । पृथ्वी राजमार्गलाई अहिले चौडा बनाउने काम भइरहेको छ । बुद्धसिं मार्गलाई वैकल्पिक सडकका रुपमा रूपमा विस्तार गर्न लागिएको छ ।

पाँच पुल यसै आवमा बनाइने

तनहुँमा निर्माणाधीन तेह्रमध्ये पाँच पुल यसै आर्थिक वर्षसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ । पूर्वाधार विकास एकाइ कार्यालयका अनुसार शालिकराम करिडोरअन्तर्गत ऋषिङ गाउँपालिका–४ र ५ जोड्ने ज्वाला खोला पुल, ऋषिङ–५ लुक्दी खोला र घिरिङ–४ को तिरमदी खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

घिरिङ गाउँपालिका–१ पुट्टार द्रौपद पुल तथा भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदी खोलाको पुल पनि यसै आवमा सम्पन्न गर्ने लक्ष्य छ ।

सिनियर डिभिजन इन्जिनियर घिमिरेका अनुसार निर्माणाधीन अवस्थामा रहेका पाँच सडकको म्याद थप गरी निर्माण अघि बढाइएको छ ।

दुलेगौडा–हर्कपुर सडक असारसम्म, भानुमार्ग फागुनसम्म, मानपुर–डेढगाउँ मोटरमार्ग फागुनसम्म र आँबुखैरेनी–छिम्केश्वरी असोजसम्म म्याद थपका लागि मन्त्रालयलाई पत्राचार गरिएको छ ।

घिरिङ हुँदै केलादीघाट कालीगण्डकी नदीको तीरैतीर स्याङ्जा र पाल्पा जोड्ने गरी शालिकराम करिडोर तीव्र गतिमा निर्माण भइरहेको छ ।

करिब ६८ किलोमिटरमध्ये दासढुङ्गा–देउपुरसम्मको ६ किलोमिटर सडक कालोपत्र गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस